पाँचकुने तारामुनि आए आठ दल–समूह

एकता प्रक्रियामा सहभागी सबै घटकका केन्द्रीय समितिहरूको संयुक्त भेलाको रूपमा १९ कात्तिकमा एकता राष्ट्रिय सम्मेलन आयोजना गर्ने, सम्मेलनबाटै एकताको घोषणा, घोषणापत्र र आन्तरिक विधान पारित गर्ने र केन्द्रीय समिति गठनलगायतका काम गर्ने सहमति

सोमबार, १८ कार्तिक, २०८२
डिजिटल संस्करण
पाँचकुने तारामुनि आए आठ दल–समूह

एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर गर्दै माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका नेताहरू

मूलतः आसन्न २१ फागुनको प्रतिनिधिसभा निर्वाचन केन्द्रित गरेर माओवादी र एकीकृत समाजवादीलगायत आठ दल–समूहले पार्टी एकता सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । १९ कात्तिकमा राष्ट्रिय एकता सम्मेलन गरेर पार्टी एकता घोषणा गर्ने सहमति भए पनि नाम टुंग्याइएको छैन । एकता घोषणालगत्तै नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी छ ।

 १८ कात्तिकमा भृकुटीमण्डपबाट एकता घोषणा गर्ने तयारी भए पनि माओवादीको केन्द्रीय समिति बैठक एक दिन पछि सरेकाले एकता घोषणाको मिति पनि सरेको नेताहरूले दाबी गरेका छन् । एकीकृत समाजवादीले केन्द्रीय समितिबाट एकताको अनुमोदन गराइसकेको छ । 

एकीकृत पार्टीको नामबारे शीर्ष तहमा थप छलफल हुने भएको छ । ‘नेकपा समाजवादी पार्टीको नाममा आपत्ति होइन, अझ राम्रो नाम हुन्छ कि भनेर छलफल गर्ने जिम्मा शीर्ष नेतृत्वलाई दिइएको छ ।’ एकता वार्तामा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष एवं वार्ता टोली सदस्य प्रकाश ज्वालाले भने । चुनावचिह्न पाँचकुने तारा हुनेछ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्रराय यादव नेतृत्वको नेसपा, सुवास काफ्ले नेतृत्वको जनसमाजवादी, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, चिरण पुन नेतृत्वको नेकपा, कर्णजित बुढाथोकी नेतृत्वको माओवादी–समाजवादी र प्रेमबहादुर सिंह नेतृत्वको नेकपा साम्यवादीबिच पार्टी एकता सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सहमतिपत्रमा एकीकृत पार्टीको राजनीतिक–वैचारिक र संगठनात्मक पक्ष प्रस्ट पारिएको छ । ‘पुँजीवादी जनवादी क्रान्तिको उपलब्धिको रूपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिस्ट आन्दोलनको एकीकरण आजको वस्तुगत आवश्यकता भएको,’ उनीहरूको ठहर छ ।

पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद, नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने भएको छ । पार्टीको तत्कालीन कार्यदिशा पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने रहेको छ । आन्दोलनको स्वरूप मूलतः शान्तिपूर्ण हुने, परिस्थितिअनुसार सडक, सदन र सरकारलगायत आवश्यकताअनुसारका सबै मोर्चाहरू आन्दोलनका मोर्चा हुने सहमति छ ।

एकता प्रक्रियामा सहभागी सबै घटकहरूका केन्द्रीय समितिहरूको संयुक्त भेलाको रूपमा एकता राष्ट्रिय सम्मेलनको आयोजना १९ कात्तिकमा गर्ने, एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणापत्र र आन्तरिक विधान पारित गर्ने र केन्द्रीय समिति गठनलगायतका काम गर्ने सहमति छ । पार्टी एकता घोषणापश्चात् राजनीतिक प्रतिवेदन, कार्यक्रमलगायतका दस्ताबेज निर्माण गर्न कार्यदल गठन गरिने भएको छ ।

माओवादीले केन्द्रीय समिति बैठक सोमबार बस्ने गरी बोलाएको थियो । तर, आइतबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक एक दिन पछि (१८ कात्तिकमा) सारेको छ । एकताप्रति असन्तुष्ट सचिवालय सदस्य जनार्दन शर्मा आइतबारको बैठकमा उपस्थित थिएनन् । प्रवक्ता अग्नि सापकोटाले मंगलबार पार्टीको केन्द्रीय समिति बैठक बस्ने र १९ कात्तिकमा एकता घोषणा सभा हुने बताए । माओवादी सचिवालय बैठकपछि एकता प्रक्रियामा सहभागी दलहरूको बैठक बसेको थियो । 

कस्तो हुनेछ नयाँ दलको संगठनात्मक संरचना ?
नयाँ पार्टीमा केन्द्रीय समितिमा संयोजक र सहसंयोजक पद रहने भएको छ । जसअनुसार माओवादी संयोजक पुष्पकमल दाहाल प्रचण्ड संयोजक र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सह–संयोजक रहने तय भएको छ । एकता प्रक्रियामा सहभागी भएका पार्टीहरूका साबिकका केन्द्रीय समितिहरूलाई समायोजन गर्दै आपसी सहमतिका आधारमा केन्द्रीय समिति गठन गरिने भएको छ । 

केन्द्रीय समितिभित्रको संरचना पनि तय गरिएको 
छ । जसमा केन्द्रीय समिति, राजनीतिक समिति (पोलिटब्युरो), सचिवालय र कार्यसंयोजन समिति हुनेछ । संरचना तय भए पनि संख्या टुंगो लाग्न बाँकी छ । गोपाल किराँती भने माओवादीकै नेताको रूपमा एकतामा सहभागी हुने भएका छन् । 
प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरूमा पनि संयोजक र सह–संयोजक रहनेछन् ।

कुनै पनि सदस्य दुई तहको समितिमा रहन पाउने भएको छ । पार्टी समितिहरूको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रीयताको सिद्धान्तअनुरूप हुने भएको छ । आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने सहमति पनि भएको छ । एकता राष्ट्रिय सम्मेलन र एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, आयोजक, संगठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा गरिने सहमति भएको छ ।

पार्टी समितिहरू र जनसंगठनमा संगठनात्मक एकता र समायोजनका लागि विभिन्न तहमा कार्यदल गठन गरिने भएको छ । पार्टीको तहगत कार्यकारी समितिहरूमा केन्द्र, भौगोलिक र गैरभौगोलिक प्रदेश, जिल्ला, पालिका र वडा कार्यकारी हुनेछन् । संघ र प्रदेश निर्वाचन क्षेत्रमा समन्वय समिति हुने र टोल तथा प्रारम्भिक स्तरका समितिहरू संगठन समितिको रूपमा रहनेछन् ।

 समाजवादीको खनाल–भुसाल समूह पुनर्गठनका लागि दस्ताबेज लेखनमा, तर त्यहीँभित्र पनि फुट
पार्टी एकताको निर्णयमा असन्तुष्ट माओवादी र एकीकृत समाजवादीका नेताहरू पनि फरक राजनीतिक शक्ति निर्माणको गृहकार्यमा जुटेका छन् । एकीकृत समाजवादी पुनर्गठनको घोषणा गरेको सम्मानित नेता झलनाथ खानाल र महासचिव घनश्याम भुसाल समूह राजनीतिक दस्ताबेज लेखनमा लागेको छ ।

भुसाल पक्षका नेता दामोदर अर्यालले एकता प्रक्रियाको असन्तुष्टि, कम्युनिस्ट आन्दोलनको पुनर्गठन र ध्रुवीकरण प्रक्रियाबारे दस्ताबेज लेखनको काम सुरु भएको बताए । उता, खनाल–भुसाल समूहभित्रै पनि विभाजन आएको छ । निवर्तमान सांसद किसान श्रेष्ठले एमालेमा फर्किने तयारीमा रहेको बताए । उनका अनुसार रामकुमारी झाँक्री, डा. वंशीधर मिश्र, होम बुढाथोकी, अमरबहादुर थापालगायतका नेताले छुट्टै छलफल गरिरहेका छन् । भुसालले आइतबार बोलाएको छलफलमा पनि उनीहरू सहभागी भएनन् । 

 के गर्छन् जनार्दन शर्मा ?
पार्टी सचिवालय बैठकमा पाँचबुँदे फरक मत राखेका माओवादी नेता जनार्दन शर्माले नयाँ राजनीतिक कोर्सको तयारी थालेका छन् । एकीकृत समाजवादीसँगको एकता प्रक्रिया तत्काल नरोके नयाँ पार्टी गठन गर्ने उनको तयारी छ । स्रोतका अनुसार माओवादीको १८ कात्तिकको केन्द्रीय समिति बैठकपछि शर्मा आफ्नो आगामी कदम सार्वजनिक गर्ने तयारीमा छन् । शर्मानिकट नेता सुदन किराँतीले एकता नरोके नयाँ गठबन्धन निर्माणमा जुट्ने बताए ।

‘एकता नरोके नयाँ शिराबाट अगाडि बढ्छौँ । त्यस्तो अवस्थामा विचार मिल्नेसँग हाम्रो एकता हुन्छ, गठबन्धन पनि हुन्छ । पुरानो र भ्रष्ट प्रवृत्तिलाई हराउने हाम्रो उद्देश्य हो,’ उनले भने । शर्मा पक्षले माओवादी अध्यक्ष प्रचण्डलाई संरक्षक र आजीवन नेता बनाउने प्रस्ताव अघि सारेको छ । किराँतीका अनुसार पार्टीमा तेस्रो पुस्तालाई कार्यकारी जिम्मेवारी दिनुपर्ने र जसले पुरानो अनुभव र नयाँ जेन–जी पुस्ताको जोसबिच पुलको भूमिका खेल्नेछ । 

सुझावित समाचार