जेन–जी आन्दोलनमा आगजनी तथा लुटपाट गर्नेमाथि कारबाहीको माग गर्दै सर्वाेच्च अदालतले प्रहरीमा जाहेरी दिएको छ। सर्वाेच्चले १३ कात्तिकमा जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता गराएको हो ।
गत २४ भदौको आन्दोलनमा आगजनी हुँदा सर्वाेच्च अदालत जलेर खण्डहर बनेको छ। भवनसँगै त्यहाँ रहेका मुद्दाका महत्त्वपूर्ण फाइल जलेका थिए। जसकारण सर्वाेच्चले हालसम्म नियमित सेवा सञ्चालन गर्न सकेको छैन।
सर्वाेच्चले क्षतिको विवरणसहित काठमाडौं परिसरमा जाहेरी दिएको हो। जाहेरीका आधारमा अदालतमा आगजनी गर्नेमाथि अनुसन्धान थालिएको काठमाडौं परिसरका प्रमुख एसएसपी रमेश थापाले बताए।
‘सर्वाेच्च अदालतबाट जाहेरी आएको छ,’ उनी भन्छन्, ‘त्यसमा अनुसन्धान अघि बढाएका छौँ।’ गत ७ कात्तिकमा बसेको सर्वाेच्चको पूर्ण बैठकले न्यायालयमा आगजनी गर्नेविरुद्ध जाहेरी दिने निर्णय गरेको थियो। आन्दोलनमा देशभरका २३ अदालतमा क्षति पुगेको थियो। सबै अदालतले प्रहरीमा जाहेरी दिने गरी निर्णय भएको छ।
सर्वाेच्चका अनुसार आगजनीमा एक अर्ब २१ करोड २१ लाख ९१ हजार ५१ बराबरको सम्पत्ति नष्ट भएको छ। सर्वाेच्चमा ४० करोड १९ लाख पाँच हजार ७०८ बराबरको सवारीसाधन जलेका छन् । २८ करोड ७३ लाख १५ हजार ९३० को जिन्सी सामान नष्ट भएको छ । सर्वोच्चको मात्रै ४३ थान चारपांग्रे, ७१ मोटरसाइकल, ३८ स्कुटर गरी १५२ सवारीसाधन जलेर नष्ट भएका छन् । डेस्कटप कम्प्युटर ७०९, ल्यापटप ५७७, प्रिन्टर ३८५, अभिलेख स्क्यानर दुई, सानो स्क्यानर ३४६, सिसिक्यामेरा १८४, भिडियो कन्फ्रेन्स सेट ६१, डिस्प्ले टिभी ९०, युपिएस ९१५, फोटोकपी पाँच, जेनेरेटर एक, एसी ११२ र इ–हाजिरी ४२ वटा जलेर नष्ट भएका छन्।
सर्वोच्चका अनुसार चालू अवस्थाका २० हजार ३४ मिसिल जलेका छन्। त्यस्तै, अभिलेखमा राखिएका एक लाख ९७ हजार मिसिल जलेर नष्ट भएका छन्। सर्वाेच्चले डेढ महिनापछि डिजिटल अभिलेख भने पुनःप्राप्ति गरेको छ।
सर्वाेच्च अदालतकै निर्णयअनुसार जिल्ला अदालत, काठमाडौंले पनि १४ कात्तिकमा काठमाडौं प्रहरीमा जाहेरी दर्ता गराएको छ। बबरमहलस्थित जिल्ला अदालतको मूल भवन जलेर खण्डहर बनेको छ। सँगै रहेको नागरिक उड्डयन प्राधिकरणको भवनबाट जिल्ला अदालतले सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ।
अदालत जलाउनेमा मुद्दाकै प्रतिवादीहरूको समेत संलग्नता रहेको आशंकामा सोहीअनुसार अनुसन्धान थालिएको प्रहरी अधिकारी बताउँछन्। हाल प्रहरी कार्यालयमा आगजनी र लुटपाट गर्नेलाई धमाधम पक्राउ गरिरहेको छ।