तान्जिनियाको राष्ट्रपतिमा हसन पुन: विजयी

आइतबार, १६ कार्तिक, २०८२
डिजिटल संस्करण

तान्जिनियाको राष्ट्रपतिमा सामिया सुलुहु हसन पुन: निर्वाचित भएकी छिन् । देशमा केही दिनयता जारी शृंखलाबद्ध प्रदर्शन र हिंसाबिच हसन अर्को कार्यकालका लागि निर्वाचित भएकी हुन् ।

निर्वाचन आयोगका अनुसार हसनले कुल मतको ९८ प्रतिशत मत प्राप्त गरिन् । बुधबारको मतदानमा तीन करोड २० लाख मत खसेको थियो । अन्तर्राष्ट्रिय पर्यवेक्षकले पारदर्शिताको अभाव र व्यापक अशान्तिप्रति चिन्ता व्यक्त गरेका छन् ।

पछिल्ला प्रदर्शनहरूमा सयौँको मृत्यु र हजारौँ घाइते भएको बताइएको छ । राष्ट्रव्यापी इन्टरनेट बन्दले मृत्युको संख्या प्रमाणित गर्न गाह्रो बनाइरहेको छ । सरकारले हिंसाको मात्रा कम गर्न खोजेको छ । अधिकारीहरूले अशान्ति रोक्न कफ्र्यु बढाएका छन् ।

‘चामा चा मापिन्दुजी (सिसिएम) पार्टी नेतृ हसनलाई राष्ट्रपति चुनावको विजेताको रूपमा घोषणा गर्दछु,’ निर्वाचन प्रमुख ज्याकब्स मवाम्बेगेलेले शनिबार बिहान नतिजा घोषणा गर्दै भने । सामियाले लगभग तीन करोड १९ लाख मत प्राप्त गरेको निर्वाचन प्रमुखले घोषणा गरे । उनले प्राप्त गरेको मत कुल मतको ९७.६६ प्रतिशत हो ।

निर्वाचनका लागि तीन करोड ७६ लाख मतदाताले नाम दर्ता गरेका थिए । एपी समाचार एजेन्सीका अनुसार जन्जिबारमा विपक्षीहरूले ‘ठुलो धाँधली’ भएको आरोप लगाएका छन् ।

सुझावित समाचार