- संस्थापन पक्षको वैशाख र महामन्त्री थापाको मंसिरमै गर्नुपर्ने अडानबिच पुस मध्यतिर महाधिवेशन गर्ने तालिकामा शीर्ष नेताबिच सहमति प्रयास
१५औँ महाधिवेशनको मिति र प्रक्रियालाई लिएर पार्टीभित्र बढ्दो तनावबिच कांग्रेस नेताहरू मध्यमार्गी विकल्पको खोजीमा लागेका छन् । महामन्त्री विश्वप्रकाश शर्माले पुस मध्यतिर नियमित महाधिवेशन गर्ने प्रस्ताव सारेपछि शीर्ष नेताले छलफल थालेका छन् ।
वैशाखमा गर्ने संस्थापन पक्षको प्रस्ताव र महामन्त्री गगन थापाले मंसिरभित्रै नियमित वा सम्भव नभए विशेष महाधिवेशन हुनुपर्ने अडान लिएकै वेला महामन्त्री शर्माले पुस मध्यतिर नियमित महाधिवेशन गर्ने मध्यमार्गी प्रस्ताव अघि सारेका हुन् । यसमा अर्का महामन्त्री थापा पनि सकारात्मक रहेको नेताहरूले बताएका छन् ।
शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजनमा बसेको पदाधिकारी बैठकमा महामन्त्री शर्माले १६–१९ पुसको मिति प्रस्ताव गरेका थिए । यसबाहेक उनले ‘यसमा पनि सहमति हुन नसके महासमिति सदस्यहरूको भर्चुअल मतदानबाट निर्णय गर्न’ सुझाव दिएका थिए । बैठकमा यसबारे छलफल भए पनि सहमति जुट्न सकेको छैन ।
तर, कांग्रेसका एक नेताले शर्माको प्रस्तावमा सकारात्मक संवाद भएको बताए । ‘दोस्रो साता नियमित महाधिवेशन गर्ने दिशामा सहमतिको प्रयास भइरहेको छ, पछिल्ला दिनमा संवाद सकारात्मक दिशातर्फ गइरहेको छ,’ कांग्रेसका एक नेताले नयाँ पत्रिकासँग भने ।
आसन्न राष्ट्रिय सभा निर्वाचन (११ माघ) र प्रतिनिधिसभा निर्वाचन (२१ फागुन)को तयारी, क्रियाशील सदस्यता अद्यावधिकलगायत कार्य अधुरो रहेको भन्दै संस्थापन पक्ष वैशाखमा नियमित महाधिवेशन गर्ने पक्षमा छ । तर, महामन्त्री थापाले निर्वाचनअघि नै मंसिरभित्र महाधिवेशन गर्नुपर्ने अडान लिएका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अनुमति नदिएपछि महामन्त्री थापाले मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा राख्न पाएका छैनन् ।
कार्यवाहक सभापति खड्काले शुक्रबार महामन्त्रीद्वय थापा र शर्मा तथा संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालासँग छलफल गरेका थिए । शनिबार पदाधिकारी बैठकमा खड्काले सहमतिमा महाधिवेशनको कार्यतालिका केन्द्रीय कार्यसमितिमा पेस गर्ने प्रस्ताव गरेका थिए ।
प्रवक्ता डा. प्रकाशशरण महत, पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंहलगायतले भने वैशाखमा पार्टीको महाधिवेशन गनुपर्नेमा जोड दिँदै आएका छन् । ‘पुसको मध्यमा नियमित महाधिवशेन गर्ने कार्यतालिकामा सहमति हुन सक्छ । यसमा सहमतिपछि आइतबार केन्द्रीय समितिको बैठकमा यो महामन्त्रीका तर्फबाट प्रस्ताव हुन्छ,’ कांग्रेसका एक नेताले भने ।
कांग्रेस महामन्त्री शर्माले पार्टीमा छलफल भइरहेको बताए । ‘निर्वाचनअघि कि पछि महाधिवेशन भन्ने विवाद पार्टीमा छ । केन्द्रीय समिति वा महाधिवेशन प्रतिनिधिको बहुमतको निर्णयभन्दा माथि उठेर महासमिति सदस्यहरूको मतदानबाट तय गरौँ भन्ने प्रस्ताव राखेको छु,’ शर्माले भने, ‘यदि अन्य विकल्पमा सहमति भएन भने विवाद समाधानका लागि महासमितिका सदस्यहरूको सुझावलाई निर्णयको आधार बनाउन सकिन्छ ।’