सुक्खा पहिरोले बिपी राजमार्ग दुई दिनदेखि अवरुद्ध

आइतबार, १७ कार्तिक, २०८२
डिजिटल संस्करण
सुक्खा पहिरोले बिपी राजमार्ग दुई दिनदेखि अवरुद्ध

सुक्खा पहिरो खसिरहेको काभ्रेको रोशी गाउँपालिका– ८ स्थित चारसयबेँसी

सुक्खा पहिरोका कारण बिपी राजमार्ग दुई दिनदेखि दुईतर्फी अवरुद्ध भएको छ । काभ्रेको रोशी गाउँपालिका– ८ स्थित चारसयबेँसीमा सडकमाथिबाट खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रविन विष्टले काभ्रे खण्डका विभिन्न स्थानमा लेदो र पहिरोका कारण बिपी राजमार्ग अझै खुल्न नसकेको जानकारी दिए । अन्य स्थानमा लेदो फालिसके पनि चारसयबेँसीमा सडकमाथिबाट सुक्खा पहिरो निरन्तर झरिरहेकाले राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएको उनको भनाइ छ । 

‘बिपी राजमार्गअन्तर्गत काभ्रे खण्डमा विभिन्न थानमा लेदोसहितको पहिरो खसिरहेकाले राजमार्ग अवरुद्ध छ,’ विष्टले भने, ‘अन्य स्थानमा लेदोसहितको पहिरो पन्छाइसके पनि राजमार्गअन्तर्गत रोशी गाउँपालिका– ८ चारसयबेँसीमा निरन्तर सुक्खा पहिरो खसिरहेकाले यातायात सञ्चालनमा रोक लगाएका हौँ ।’ आइतबारसम्म पहिरो रोकिएमा यातायात सञ्चालन गर्ने उनले बताए । 

बिपी राजमार्गमा यातायात सञ्चालनका लागि पहल भए पनि पहिरो नरोकिएकाले सञ्चालन गर्न नसकिएको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताए । बिहीबारदेखि परेको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत चौकीडाँडा, डालाबेँसी, नार्के, चारसयबेसी र घुमाउनेलगायतको स्थानमा ढुंगा, लेदोसहितको पहिरो खसी सडक पूर्ण रूपमा अवरोध भएको थियो । 

गत वर्ष १०–१२ असोजमा वर्षाले बिपी राजमार्गको विभिन्न स्थानमा सडक बगाएको थियो । बगाएको स्थानमा डाइभर्सन निर्माणपछि यातायात सुचारु गरेको थियो । उक्त डाइभर्सन पनि गत १८ र १९ असोजमा परेको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले क्षति पुर्याएको थियो । रोशी खोलाको बाढीले काभ्रेतर्फ १३ र सिन्धुलीतर्फ तीन स्थानमा गत वर्ष बनेको अस्थायी डाइभर्सन बगाएको थियो । बिपी राजमार्गको विभिन्न स्थानमा गरी करिब ३.५ किलोमिटर सडक बगाएको थियो । तर, योपटकको वर्षापछिको बाढीले सडक बगाएको भने छैन ।  
 

सुझावित समाचार