गत भदाै २४ गते भएको जेन–जी प्रदर्शनको क्रममा सरकारी तथा निजी संरचना तोडफोडमा संलग्न भएको आरोपमा सातजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार विभिन्न सरकारी तथा प्रहरीको कार्यालय भवन र सम्पत्तिमाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा सातजना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अविन विष्टका अनुसार पनौती नगरपालिका- ३ का २८ वर्षीय अनिष सापकोटा, पनौती- ८ का २६ वर्षीय सुमन केसी, बनेपा नगरपालिका- १० का २१ वर्षीय साकार केसी, बेथानचोक गाउँपालिका- ६ का १९ वर्षीय समीर तामाङ, बेथानचोक गाउँपालिका- का ३२ वर्षीय चिउरे भन्ने होमप्रसाद तिमिल्सिना, पनौती- २ का २४ वर्षीय स्यान्जी भन्ने सुवास तामाङ र महाभारत गाउँपालिका- ४ का २३ वर्षीय डेमासाङ मुक्तान पक्राउ परेका छन् ।
यीमध्ये अनिष सापकोटाको नाममा ०७२ सालमै अभद्र व्यवहार मुद्दा दर्ता भएको थियो । त्यसरी नै चिउरे भन्ने होमप्रसाद तिमल्सिनाको नाममा ०८१ सालमा अभद्र व्यवहार र स्यान्जी भन्ने सुवास तामाङको नाममा ०८१ मा दुई र ०८२ मा एक गरी तीन मुद्दा दर्ता भएका छन् ।
पक्राउ भएका व्यक्तिलाई जिल्ला अदालत काभ्रेबाट आपराधिक उपद्रव मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको सूचना अधिकारी विष्टले जानकारी दिए ।