सुर्खेतमा फरुवा प्रहार गरेर छोराले आमाको हत्या गरेका छन् । भेरीगंगा नगरपालिकामा फरुवा प्रहार गरी छोराले आफ्नै आमाको हत्या गरेका हुन् । मृत्यु हुनेमा करिब ५० वर्षीया धनीकला बस्नेत छिन् । हत्याको आरोपमा उनका छोरा कविराम बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार बिहान करिब ७ बजेको समयमा भेरीगंगा नगरपालिका– १२, मसिनाटोलस्थित घरमा सुतिरहेकी आमा धनीकलाको टाउकोमा कविरामले फरुवाले प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले बताए ।
गम्भीर घाइते भएकी धनीकलालाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएको थियो । बिहान ८ बजे डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बुढ्थापाले बताए । आमामाथि कुटपिट गरी हत्या गर्ने कविरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले छिन्चु बजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।