- चीनले एक वर्षका लागि रेअर अर्थमाथिको निर्यात प्रतिबन्ध हटाएबापत अमेरिकाले चिनियाँ सामानमाथि दश प्रतिशत भन्सार घटाउनेछ
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना देशबिच बढ्दो व्यापार तनावलाई थप बढ्न नदिन सहमति जनाएका छन् । सन् २०१९ पछि ट्रम्प र सीबिचको पहिलो भेटवार्तामा दुई देशबिच चलिरहेको व्यापार युद्ध एक वर्षका लागि रोक्ने सहमति भएको छ । संसारका सबैभन्दा ठुला अर्थतन्त्रबिचको व्यापार युद्धले विश्वव्यापी अर्थतन्त्रमा नकारात्मक असर गरिरहेको थियो । ट्रम्प र सीबिच बिहीबार दक्षिण कोरियामा भेटवार्ता भएको थियो । दुवै नेता ‘एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक)’को शिखर सम्मेलनमा भाग लिन कोरिया पुगेका छन् ।
ट्रम्प र सीबिच भएको सम्झौताले केही राहत प्रदान गरे पनि अझै दुई देशले एक–अर्काविरुद्ध लगाएका सबै व्यापारिक अवरोध फिर्ता गरिएको छैन । साथै, केही विषयमा अझै पनि असमझदारी देखिन्छ । ‘यस बैठकको स्पष्ट सफलता, व्यापार युद्ध अहिलेका लागि साम्य हुनु र केही अवरोध फिर्ता हुनुमै देखिन्छ,’ सिआइए र ह्वाइट हाउसअन्तर्गतको राष्ट्रिय सुरक्षा परिषद्मा चीन विषयमा काम गरेको अनुभव भएका जर्जटाउन विश्वविद्यालयका प्राध्यापक डेनिस वाइल्डरले भने, ‘दुवै पक्षले आफ्ना व्यापारिक हतियार त्यागेको नभई सम्झौता पालना भएसम्मका लागि मात्र तनाव कम गर्ने सहमति जनाएका हुन् ।’
सम्झौताअनुरूप अब चीनले रेअर अर्थ खनिजमाथि लगाउने भनेको निर्यात प्रतिबन्ध स्थगित गर्ने सहमति जनाएको छ । उता, अमेरिका भने चिनियाँ सामानमाथि थप्ने भनेको १०० प्रतिशत भन्सार करबाट पछि हटेको छ । ट्रम्पका अनुसार विगतमा अमेरिकाले लागुऔषधका रूपमा प्रयोग हुने फेन्टानिलसँग जोडेर थपेका करबाट १० प्रतिशत घटाएको छ । अमेरिकाले आरोप लगाउने गरेको चीनबाट अमेरिका जाने सो ‘कृत्रिम–अफिम’को प्रवाहलाई रोक्न सीले ‘धेरै कठोर परिश्रम’ गरेकाले यो कटौती गरिएको ट्रम्पले बताए । ‘मलाई विश्वास छ कि उनले थप मृत्युलाई रोक्न अझ कडा परिश्रम गर्नेछन्,’ ट्रम्पले भने ।
भेटअघि ट्रम्पले सीसँगको शिखर वार्ता तीन–चार घण्टासम्म जान सक्ने बताए पनि दुई नेता ९० मिनेटपछि छुट्टिएका थिए । सीको एपेक सम्मेलनमा भाग लिनुपर्ने कार्यक्रम रहेकाले तयारीका लागि छिटै वार्ता सकिएको बताइएको छ । तथापि, ट्रम्पले सीसँगको शिखर वार्तालाई ‘अद्भूत’ भनेर प्रशंसा गरे । ट्रम्पका अनुसार अब रेअर अर्थ खनिजसम्बन्धी विवाद ‘समाधान’ भएको छ । यससम्बन्धी सहमति प्रत्येक वर्ष पुन: वार्ता गरी नवीकरण हुनेछ । ‘रेअर अर्थ खनिजमाथि अब कुनै अवरोध नरहेकाले आशा छ कि यो पदावली अब हाम्रो जनबोलीबाट केही समयका लागि हराउनेछ,’ ट्रम्पले भने ।
एसियाली देशको शृंखलाबद्ध भ्रमणमा रहेका ट्रम्प मलेसिया र जापानपछि दक्षिण कोरिया पुगेका थिए । सीसँगको भेटपछि चीनले ‘ठुलो परिमाणमा’ अमेरिकी सोयाबिन खरिद गर्न सहमति जनाएको पनि ट्रम्पले बताए । उता, ट्रम्पजस्तो सम्झौताका बुँदाबारे मुखर नभए पनि सीले ‘समस्या समाधान गर्न सहमति’मा पुगिएको बताए । अब वासिंटन र बेइजिङले सहमति कार्यान्वयन गर्न तुरुन्तै आगामी कदमलाई अन्तिम रूप दिनुपर्ने र दुवै देशले विश्वव्यापी अर्थतन्त्रलाई विश्वस्त पार्न ठोस परिणाम प्रदान गर्नुपर्ने चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वामा प्रकाशित सीको रिडआउटमा उल्लेख छ ।
चीनको वाणिज्य मन्त्रालयले पछि सम्झौतामा सहमित भएका विभिन्न विषय पुष्टि गर्यो । तिनमा रेअर अर्थ खनिज निर्यातमाथिको नियन्त्रण एक वर्षका लागि स्थगित गरिएको विषय पनि उल्लेख रहेको उसले बतायो । मन्त्रालयका अनुसार ट्रम्प अमेरिकी कम्पनी र व्यक्तिसँग सहायक कम्पनीलाई व्यापार गर्न निषेध गरिएको वासिंटनको कालोसूची फर्महरूको योजनालाई स्थगित गर्न सहमत भएका थिए । त्यस्तै, दुवै पक्षले एक–अर्कामाथि लगाएका बन्दरगाह शुल्क पनि फिर्ता गर्ने सहमति जनाएका छन् । सम्झौताको खबरले एसियाली सेयर बजारमा भने खासै प्रभाव देखिएन । हङकङ, सांघाई र सिड्नीका बेन्चमार्क सूचकांक पहिलेभन्दा केही कममा बन्द भयो भने जापानको मुख्य सूचकांक लगभग समान स्तरमा कायम रह्यो ।
चीनले आफ्नो रेअर अर्थ खनिज थोरै मात्रा प्रयोग भएको सामानको निर्यात गर्ने विश्वका जुनसुकै कम्पनीले इजाजतपत्र लिनुपर्ने योजना अघि सारेको छ । यसले यस महत्वपूर्ण धातुको विश्वव्यापी आपूर्ति शृंखलामा ठुलो अवरोध आउने डर उब्जायो । स्मार्टफोनदेखि लडाकु विमानसम्म बनाउन आवश्यक पर्ने यस खनिजको आपूर्तिमा चिनियाँ उत्पादकको लगभग एकाधिकार नै कायम छ । सांघाईस्थित परामर्शदाता संस्था हुटोङ रिसर्चका साझेदार सान गुओले फेन्टानिलसँग जोडेर लगाइएको भन्सार कटौती ‘धेरै हदसम्म अपेक्षित’ रहेको बताए । ‘चीनले स्टकहोम वार्तादेखि फेन्टानिलसम्बन्धी भन्सार कटौतीका लागि अनुरोध गर्दै आएको थियो । अहिले उसले रेअर अर्थ धातुमाथिको पकडलाई प्रयोग गरेर आफूले चाहेको कुरा प्राप्त गर्न सफल भयो,’ गुओले जुलाईमा स्विडेनको राजधानी स्टकहोममा भएको अमेरिका–चीन व्यापार वार्तालाई उल्लेख गर्दै भने ।
‘अमेरिका पूरै २० प्रतिशतको सट्टा १० प्रतिशत मात्र भन्सार कटौती गरेर सम्भवत: अझै पनि दुई पक्षबिच आगामी दिनमा हुने छलफलमा दबाब कायम राख्न चाहन्छ । तर, थोरै परिणामको भन्सार कटौतीले पनि दक्षिणपूर्वी एसियाली देशका तुलनामा चिनियाँ सामानको प्रतिस्पर्धात्मक क्षमतामा देखिएको बेफाइदा घट्नेछ,’ गुओले भने । आसियानका सदस्य अर्थात् दक्षिणपूर्वी एसियाली देश पनि चीनजस्तै निर्यातमा निर्भर छन् ।
ट्रम्प–सीबिचको शिखर भेटवार्ताअघि कुनै ठुलो ‘ब्रेकथ्रु’ सम्झौता हुने अपेक्षा थिएन । र, अपेक्षाअनुरूप नै बिहीबारको सम्झौताले दुई पक्षले एक–अर्कामाथि लगाएका अधिकांश व्यापारमा बाधा पुर्याउने धेरैजसो कर र निर्यात नियन्त्रणलाई यथावत् राखेको छ । ट्रम्पको फेन्टानिलसँग जोडेर लगाएको २० प्रतिशत भन्सार आधा घटाउने प्रतिबद्धतापछि अब अमेरिका भित्रिने चिनियाँ सामानमा लाग्ने अमेरिकी भन्सार शुल्क लगभग ४७ प्रतिशतमा झरेको छ । उता, चीन भित्रिँदा अमेरिकी उत्पादनमा भने औसत ट्यारिफ लगभग ३२ प्रतिशतमा रहनेछ । वासिंटनले अझै पनि एक हजारभन्दा बढी चिनियाँ उद्योगलाई आफ्नो निर्यात नियन्त्रण सूचीमा राखेको छ भने बेइजिङले उस्तै खालको ‘अविश्वसनीय संस्था सूची’मा दर्जनौँ अमेरिकी कम्पनीलाई समावेश गरिराखेको छ ।
लेखक एसियाली क्षेत्रको व्यवसायमाथि कलम चलाउँछन् ।
अलजजिराबाट