दृष्टिविहीन महिला विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

नेपालले पहिलो चरणका ६ खेल खेल्ने, पहिलो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने

बिहिबार, १३ कार्तिक, २०८२
डिजिटल संस्करण

पहिलोपटक आयोजना हुन लागेको टी–२० दृष्टिविहीन महिला विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक भएसँगै नेपालले पहिलो चरणमा ६ खेल खेल्ने भएको छ । 

११ देखि २४ नोभेम्बर २०२५ सम्म भारत र श्रीलंकामा हुने प्रतियोगितामा सहभागी हुने नेपाली टोलीले पहिलो चरणको पहिलो खेल १२ नोभेम्बरमा श्रीलंकासँग कर्णेलसिंह स्टेडियम, नयाँ दिल्ली, भारतमा, १४ नोभेम्बरमा भारतसँगै बैंगलोरमा, १५ नोभेम्बर इंग्ल्याल्डसँग बैंगलोरमा, १६ नोभेम्बरमा अमेरिकासँग बैंगलोरमा, १८ नोभेम्बरमा अस्ट्रेलियासँग एयरफोर्स ग्राउन्ड, श्रीलंका कोलम्बोमा र १९ नोभेम्बर पाकिस्तानसँग एयरफोर्स ग्राउन्ड कोलम्बोमा खेल्दै छ । प्रतियोगिताको सेमिफाइनलका खेलहरू २२ र २३ तारिखमा हुनेछ भने फाइनल खेल २४ नोभेम्बरमा कोलम्बोमा हुनेछ ।

क्रिकेट एसोसिएसन फर द ब्लाइन्ड इन इन्डियाको आयोजना र श्रीलंकाको सह–आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको लागि यसअघि नेपाललाई सह–आयोजकको रूपमा चयन गरिएको भए पनि नेपालको पछिल्लो राजनीतिक अवस्थाका कारण प्रतियोगिता स्थल श्रीलंकामा सारिएको हो ।

भारत र श्रीलंकामा हुने प्रतियोगितामा नेपालसँगै भारत, इंग्ल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान र अमेरिकालगायत सात देशको सहभागिता रहेको दृष्टिविहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले जानकारी दिए । 

अध्यक्ष घिमिरेका अनुसार प्रतियोगितामा सहभागी हुन गीता पौडेलको कप्तानीमा १६ सदस्य खेलाडीसँगै प्रशिक्षक र अन्य गरी १९ सदस्य टोली घोषणा गरिसकिएको छ । टोलीका अन्य सदस्यहरूमा विनिता पुन, विनिता सोमाई, दिल्ली सरा धमला, देविका थापामगर, एञ्जिला ढकाल, मनकेशी चौधरी, कान्ति डगौरा, सरिता घिमिरे, सुनीता भुजेल, सुष्मा तामाङ, पुनम चौधरी, लक्ष्मी तामाङ, एसरामाया लुंगेलीमगर, विमला राई र प्रतिभा राई रहेका छन्। टोलीको प्रमुख प्रशिक्षकमा पुरनसिंह खत्री, सहायक प्रशिक्षकमा नरेन्द्र निरौला र भगवती भट्टराईलाई टिम व्यवस्थापकको रूपमा चयन गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

पोखरामा प्रशिक्षण सुरु
 प्रतियोगिताको लागि छनोट भएको टोलीले तयारीका लागि पोखरामा प्रशिक्षण सुरु गरेको छ । काठमाडाैंमा १० दिनको प्रशिक्षण सकेर थप प्रशिक्षणका लागि टोली पोखरा आएको दृष्टिविहीन क्रिकेट संघ नेपालका महासचिव अमृत बरालले जानकारी दिए। काठमाडाैंमा मैदान अभावपछि थप अभ्यास एवं प्रशिक्षणका लागि टोली पोखरा आएको उनले बताए । २४ कार्तिकसम्म टोली पोखरामै रहने र २५ कार्तिकमा भारत जाने बरालले जानकारी दिए ।
 

सुझावित समाचार