वर्षा र हिमपातका कारण उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको हुँदा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय संखुवासभाले आग्रह गरेको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रशासकीय अधिकृत घाङरी लामाले सूचना जारी गर्दै जिल्लाभर वर्षा र हिमपातका कारण जोखिम बढ्न सक्ने भन्दै सर्तकता अपनाउन आग्रह गरेका हुन् ।

सूचनामा भनिएको छ, ‘संखुवासभाभर वर्षा र हिमपात भइरहेकाले उच्च हिमाली क्षेत्रका पर्यटकीय पदमार्गमा यात्रा नगर्न, पहिरो गई सडक अवरुद्ध हुन सक्ने र चार हजारमाथिका उच्च हिमाली क्षेत्रहरू मकालु बेश क्याम्प लगायतका क्षेत्रमा यात्रा नगर्न, चिसो अत्याधिक बढ्नुका साथै खाद्यान्नको समेत समस्या हुनसक्ने भन्दै सर्तकता अपनाउन आग्रह गरिएको छ ।’ 

प्रतिकूल मौसमका कारण मंगलबारदेखि मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेको प्रशासनले जनाएको छ । मकालु बेश क्याम्प जाने पर्यटकहरूलाई सेदुवालगायतको ठाउँठाउँमा स्थानीय प्रहरीले हुनसक्ने सम्भावित जोखिमका बारेमा जानकारी दिँदै सर्तकता अपनाउन आग्रह गर्ने गरेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताइन् । उनले निरन्तर वर्षा र हिमपात भइरहेकाले १५ कार्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न उनले सबैमा अनुरोध गरिन् ।

बुधबारदेखि सामान्य भएको वर्षा बिहीबार झन् बढेको छ । दिनभर र रातभर वर्षा हुँदा संखुवासभमा चिसो बढ्नुका साथै जनजीवन समेत कष्टकर बन्न थालेको छ । साथै, पाक्न लागेको धानबालीलगायतको अन्नबालीमा क्षति पुगेको छ ।

सुझावित समाचार