खराब मौसमसँगै बिहानदेखि अनवरत रूपमा परेको वर्षाका कारण रामेछाप विमानस्थलबाट सोलुको लुक्ला हुने सबै हवाई उडान ठप्प भएको छ। रामेछापबाट लुक्ला जान हिँडेका विदेशी पर्यटक मौसम खुल्ने प्रतीक्षामा रामेछाप विमानस्थलआसपास बसेका छन्।
आज बिहानदेखि निरन्तर रूपमा वर्षा भइरहेको र बाक्लो कुहिरोसमेत लागेका कारण रामेछाप विमानस्थलबाट कुनै पनि उडान हुन सकेका छैनन् । रामेछापमा मात्रै हाेइन लुक्ला विमानस्थलमा समेत बाक्लो कुहिरोसँगै वर्षा भइरहेकाले उडान तालिकाअनुसार जहाज उडान हुन नसकेको रामेछाप नागरिक उड्डयन कार्यालयका एटिसी प्रज्ज्वल गुरागाईंले जानकारी दिए ।
आज रामेछाप विमानस्थलबाट लुक्लाका लागि १५ वटा उडान भर्ने तालिका रहे पनि एउटा पनि उडान हुन सकेको छैन। रामेछापबाट लुक्ला र लुक्लाबाट रामेछाप आउजाउ गर्ने विदेशी पर्यटकहरू अहिले दुवैतर्फको विमानस्थलमा मौसम खुल्ने प्रतीक्षामा कुरेर बसेका छन् । मौसम खराब हुँदा केही निजी हेलिकाेप्टर बुक गराएर विदेशी पर्यटक रामेछापबाट लुक्ला जाने गर्दथे । आज भने एउटा पनि हेलिकाेप्टरले समेत उडान भरेका छैनन् ।
मौसम खराब भएसँगै हवाई उडान नहुँदा केही पर्यटक स्थलमार्ग हुँदै लुक्लातर्फ जाने गर्दछन् भने केही पर्यटकले हेलिकाेप्टर रिजर्भ गरेर लुक्ला उड्ने गरेका छन्। पर्यटकहरू राजधानी काठमाडौंबाट बिपी राजमार्ग हुँदै यातायातका साधनमार्फत रामेछाप आउने र विमानमार्फत रामेछाप विमानस्थलबाट लुक्ला जाने गर्दछन् ।
पर्यटकहरू सगरमाथा क्षेत्र भ्रमण गर्ने वर्षको दुई सिजनमा रामेछाप विमानस्थलबाट लुक्ला जाने गरेका छन् । वसन्त ऋतुको चैतदेखि जेठसम्म र शरद ऋतुको असोज पहिलो हप्तादेखि मंसिर दोस्राे हप्तासम्म लुक्ला उडान हुने गर्दछ । हाल तारा एयर, समिट एयर र सीता एयर गरी तीन निजी वायुसेवा कम्पनीले रामेछापबाट लुक्लाका लागि उडान भर्दै आएका छन् ।