लगातारको झरीले काटेको धानबाली भित्र्याउन नपाउँदा किसान चिन्तित

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

दुई दिनदेखि लगातार परेको वर्षाका कारण धान काटेर बिटा लगाउन ठिक्क पारेको धान खेतमा नै पानीले भिजेपछि रामेछापका किसानहरू चिन्तित बनेका छन् ।
खेतमा लगाइएको धान पाकेर पहेँलपुर भएसँगै रामेछापका किसानले धान काट्न सुरु गरेका थिए । कात्तिकको  दोस्रो हप्ता लाग्दा पनि दिउँसो चर्को घाम लागेका कारण किसानले पानी पर्ला भन्ने कुनै भेउ पाएनन् । जसका कारण खेतमा पाकेको धानबाली काटेर खेतमा नै सुकाएका थिए ।

केहीले काटेको धान समयमा नै बिटा लगाएर अन्नपात घरमा भित्र्याएका थिए । अधिकांश किसानहरूले भने धान काटेर खेतमा नै सुकाएका र बिटा नै लगाउन नपाउँदै पानी परेर धान भिजाएपछि निराश छाएको मन्थली नगरपालिका– ७, भटौलीका कृषक रामचन्द्र शर्माले जानकारी दिए । उनले भने, ‘अघिपछि टन्टालपुर घाम लाग्ने गर्दथ्यो । पानी पर्ने कुनै छेकछन्दै थिए । मलगायत धेरै किसानले एकैपटक सयौँ रोपनी खेतमा लगाइएको धान पाकेर पहेँलपुर भएपछि काट्यौँ । धान काटेर खेतमा नै सुकाएका छौँ । केहीले धान बिटा लगाएर भित्र्याए । मलगाएत धेरै किसानले बिटा लगाउन नै पाएनौँ ।’  यो बेमौसमका समयमा पानी परेर धान बाली नष्ट गर्दा सारै दुःख लागेको शर्माले बताए । 

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ भारत हुँदै नेपालको मध्यभूभाग नजिक आएर पूर्वतर्फ सर्दै सोही चक्रवातको कारण दुई दिनदेखि निरन्तर वर्षा भइरहेको छ । सो वर्षाका कारण पाकेको धान काटन ठिक्क परेका किसानले धान काट्न पाएनन् भने काटिसकेको धान पनि बिटा लगाउन नपाउँदा किसानले धानसमेत भित्र्याउन पाएनन् । खेतमा दिनरात पाकेको धान काट्न, बिटा लगाउन, धान बोक्न, पराल कुन्यु लगाउन व्यस्त रहने किसान यतिखेर फुर्सदिलो भएको लिखु तामाकोशी गाउँपालिका– ६ की अप्सरा दाहालले बताइन् । 

रामेछापमा धानखेतीको लागि सात हजार ८५९ हेक्टर क्षेत्रफल जमिन उपयुक्त भए तापनि यस वर्ष सात हजार दुई  सय हेक्टर क्षेत्रफलमा मात्रै धानखेती गरिएको छ । गएको वर्ष रामेछापमा सात हजार आठ सय हेक्टर क्षेत्रफलमा धानखेती लगाइएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोदप्रसाद दाहालले जानकारी दिए । 

हाल रामेछापको मन्थली नगरपालिकाको मन्थली, भटौली, बारीखेत, खाँदबारी, बोद्ने, खाँडादेवी गाउँपालिकाको माडी, सित्खा फाँट, दोरम्बा शैलुङ गाउँपालिकाको रजमन्टार फाँट, लिखु तामाकोशी गाउँपालिकाको खिम्ती, रातमाटा र रामेछाप नगरपालिकाको साँघुटार फाँटलगायतका क्षेत्रमा उल्लेख्य रूपमा धाखेती गरिँदै आएको छ । 

See More On

सुझावित समाचार