- अफगानिस्तानमा देशभर इन्टरनेट पहुँचमा कटौतीले व्यावसायिक गतिविधि र बैंकिङ प्रणाली अवरुद्ध हुनेछन्, अनलाइन सिकाइ र छात्रवृत्तिका अवसर गुम्नेछन्
सानो छँदा अफगानीहरूले देशबाहिरका आफ्ना आफन्तलाई फोन गर्न आवश्यक पर्दा पाकिस्तान यात्रा गर्नुपथ्र्यो । आज, हामी वास्तविक जोखिमको सामना गरिरहेका छौँ । इन्टरनेट प्रयोग गर्नकै लागि छिमेकी देशमा यात्रा गर्न बाध्य हुने अवस्थामा छौँ । केही साताअघि कान्दाहार, हेलमन्ड र बाल्खलगायत धेरै प्रान्तमा फाइबर–अप्टिक इन्टरनेट सेवा बन्द गरिएको थियो । यो समस्या सम्पूर्ण देशभर फैलिन सक्छ । यदि तालिबान नेतृत्वले आफ्नो नीतिमा पुनर्विचार गरेन भने अफगानिस्तान विश्वको बाँकी भागबाट अलग हुन सक्छ ।
अब चाँडै तपाईंले मेरा र लाखौँ अफगानीका कथा पढ्न सक्नुहुन्न, किनकि हामी इन्टरनेटमा जोडिन सक्दैनौँ । देशमा पूर्ण मौनता छाउनेछ । बाल्ख प्रान्तमा फाइबर–अप्टिक इन्टरनेट बन्द भएपछि उक्त प्रान्तीय सरकारका प्रवक्ता हाजी जैदले यो प्रतिबन्ध तालिबान नेता हैबतुल्लाह अखुनजादाको ‘दुष्कर्म’ रोक्न प्रत्यक्ष आदेश भएको सामाजिक सञ्जाल एक्समा बताए । यद्यपि, धेरैले उनको पोस्टमा नकारात्मक प्रतिक्रिया दिए । नीति लागू गर्नुअघि उचित विकल्प अपनाउनुपर्ने धेरैले तर्क गरे ।
देशभर इन्टरनेट पहुँचमा कटौतीले अफगान नागरिकलाई धेरै तरिकाले असर गर्नेछ । व्यावसायिक गतिविधि र बैंकिङ प्रणाली तुरुन्तै अवरुद्ध हुनेछन् । अनलाइन सिकाइ र छात्रवृत्तिका अवसर गुम्नेछन् । धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्था, गैरसरकारी संस्था र इ–सरकारी सेवाहरूले गम्भीर चुनौतीको सामना गर्नेछन्, साथै अनलाइन कामदारहरूले आफ्नो जागिर गुमाउनेछन् । बाँकी संसारसँगको सञ्चार विच्छेद हुनेछ ।
मेरो परिवारले पनि पीडा भोग्नेछ । केही वर्षदेखि बेरोजगारीसँग संघर्ष गरिरहेको व्यक्तिको रूपमा मैले इन्टरनेटमा कुनै न कुनै प्रकारको आम्दानी गर्ने विभिन्न अवसर फेला पारेको छु, जसमा मेरो देशका सुन्दर भाग देखाउन युट्युब च्यानल सुरु गर्नु पनि समावेश छ । अझ महत्वपूर्ण कुरा यदि यो राम्रो इन्टरनेट जडानका लागि नभएको भए हामी अहिले विदेशमा बस्ने र वर्षौंसम्म देख्न नसक्ने परिवारसँग सम्पर्कमा रहन हम्मेहम्मे पर्नेछ ।
इन्टरनेट बन्द गर्नाले अफगानिस्तान विश्वव्यापीस्तरमा सीमान्तकृत हुनेछ । यो देशमा लागू हुने प्रतिबन्धले अफगानिस्तानका धेरै सार्वजनिक क्षेत्रमा, विशेषगरी पहिले नै संघर्ष गरिरहेको अर्थतन्त्रमा प्रतिकूल प्रभाव पार्नेछ । प्रतिबन्धको यो चरम सीमामा जानुको सट्टा अफगानिस्तानले चीनको उदाहरणलाई ध्यान दिनुपर्छ । यो कुरा ध्यानमा राख्नुपर्छ कि विश्वको दोस्रो ठुलो अर्थतन्त्रको रूपमा चीनले १९७८ मा देङ सियाओपिङले अपनाएको सुधार र खुलापनको नीतिमा आफ्नो आर्थिक विकासको श्रेय लिएको छ । यो एजेन्डाले चीनलाई गरिब देशबाट उत्पादनशील राष्ट्रमा रुपान्तरण गर्यो ।
जब सन् २००० को दशकमा देशभर इन्टरनेटको प्रयोग फैलियो, बेइजिङका अधिकारीले केही जोखिम देखे । तर, आफ्नो देशलाई बाँकी संसारसँग विच्छेद गर्नु र खुलापनको नीतिलाई उल्टाउनुको सट्टा तिनीहरूले घरेलु इन्टरनेट पूर्वाधार र फिल्टरहरू निर्माणमा लगानी गरे । तसर्थ, जोखिमपूर्ण मानिने इन्टरनेट सामग्रीलाई बाँकी संसारबाट एक अर्ब ४० करोड चिनियाँ नागरिकलाई बन्द नगरी फिल्टर गरियो ।
अफगानिस्तानमा अनैतिक मानिने भिडियोहरू पहिले नै सेन्सर गरिएका छन्, जसले गर्दा नागरिकलाई त्यस्ता सामग्री पहुँच गर्नबाट रोक लगाइएको छ । यदि सरकार यी फिल्टर असफल भइरहेकामा चिन्तित छ भने तिनीहरूलाई अझ प्रभावकारी बनाउन निश्चित रूपमा प्राविधिक समाधान छ । यो पनि स्वीकार गर्नुपर्छ कि सबैका लागि इन्टरनेट बन्द गर्नाले वास्तविक जीवनमा ‘अनैतिकता’ रोक्न सकिँदैन । यदि नीतिको उद्देश्य अन्तर्राष्ट्रिय समुदायलाई औपचारिक मान्यताको लागि दबाब दिनु हो भने यसले पनि काम गर्दैन । यसले अफगानिस्तानसम्बन्धी आफ्नो नीति परिवर्तन गर्न अन्य देशलाई प्रभावकारी रूपमा उत्प्रेरित गर्नुको सट्टा अफगानी जनतालाई हानि पुर्याउनेछ ।
इन्टरनेट अब दैनिक जीवनको एक अत्यावश्यक अंश हो । यसलाई खाना र पानीजस्ता आधारभूत आवश्यकतासँग तुलना गर्न सकिन्छ । दुई दशकसम्म इन्टरनेट चलाएर बसेपछि मेरा पुर्खाले जस्तै जीवन बिताउनु ( प्राविधिक आविष्कार र एआईको युगमा बाँकी संसारबाट विच्छेद) मलाई डरलाग्दो लाग्छ । पहुँच गुमाउने चिन्तामा यो लेख लेख्दा मैले हरेक केही मिनेटमा मेरो इन्टरनेट जडान जाँच गर्नुपरेको छ । अफगानिस्तान र बाँकी संसारमा के भइरहेको छ भन्नेबारे जानकारी प्राप्त गर्ने एक मात्र तरिका रेडियो सुन्नु थियो भन्ने पुरानो दिनमा बाँच्ने कल्पनासम्म गर्न पनि म डराउँछु ।
हाम्रा कथाहरू महत्वपूर्ण छन् । हामी चाहन्छौँ कि संसारले हाम्रो कुरा सुनोस् र कठिनाइको समयमा हामीलाई सहयोग गरोस् । सीमान्तकृत, विच्छेदित र गरिबीले ग्रस्त अफगानिस्तान कसैको हितमा छैन । अफगानहरू विश्वव्यापी समुदायको हिस्सा रहन र बाँकी विश्वसँग अन्तत्र्रिmया गर्न चाहन्छन् । उनीहरूलाई पूर्ण रूपमा एक्लोपनमा बस्न बाध्य पार्नुहुँदैन ।
हुजातुल्लाह पत्रकार तथा डेली आउटलुक अफगानिस्तानका वरिष्ठ लेखक हुन्
अलजजिराबाट