जिल्ला प्रशासन कार्यालयपछि आरक्षपीडितले डिभिजन वन कार्यालय कञ्चनपुरको मूलगेटमा धर्ना दिएका छन्। शनिबारदेखि प्रशासन कार्यालयअगाडि धर्ना दिएका पीडितले मंगलबारदेखि डिभिजन वन कार्यालयको मूलगेटअगाडि धर्ना दिएका हुन्।
पुनर्स्थापनाको माग अघि सारेर धर्नामा बसेका उनीहरूले वन कार्यालय अगाडि रहेको सरकारी जमिनमै टहरा बनाएका छन्। ५ कात्तिकमा कृष्णपुर नगरपालिका– १, जयशंकर सामुदायिक वनको जमिनमा बसेका आरक्षपीडितलाई स्थानीय प्रशासनसहित सुरक्षा निकायले हटाएपछि उनीहरू प्रशासन कार्यालय र अहिले वन कार्यालय अगाडि धर्नामा बसेका हुन्।
पुनर्स्थापना गर्न चासो नदिने सरकारले खाली जमिनमा टहरा लगाएर बस्दा प्रहरी प्रशासन लगाएर हटाएको भन्दै असन्तुष्ट पीडितहरू धर्नामा बसेका छन्। नालाबालासँगै दैनिक खानेबस्ने बन्दोबस्तसहित उनीहरूले धर्ना सुरु गरेका हुन्।
आरक्षपीडित संघर्ष समितिका सहसचिव कृष्ण भट्टले विस्थापित पीडितको पुनर्स्थापना गर्न नसक्ने सरकारले पीडितमाथि थप अन्याय गरेकाले प्रशासनपछि अहिले वन कार्यालयमा धर्ना दिएको बताए। २४ वर्षदेखि सरकारले पुनर्स्थापना गर्छु भन्दै ठग्दै आएको उनको भनाइ छ।