- अक्टोबर १२ मा मतदान सकिएपछि चिरोमाले विजयको दाबी गरेकोमा सोमबार संवैधानिक परिषद्ले बियालाई विजेता घोषित गर्यो । यसले देशमा विरोध चर्किएको छ ।
राष्ट्रपति पल बियाको पुन: जितको घोषणाको विरोधमा यसै साता अफ्रिकी राष्ट्र क्यामरुनमा सशस्त्र बलले गरेको कारबाहीमा कम्तीमा चार विपक्षी समर्थकको मृत्यु भयो । अक्टोबर १२ मा भएको अफ्रिकी देशको प्रतिस्पर्धात्मक चुनावबाट निष्पक्ष नतिजाको माग गर्दै प्रदर्शनकारी धेरै सहरमा सडकमा उत्रिए । किनकि, ९२ वर्षीय बिया आठौँ कार्यकालका लागि तयारी गरिरहेका छन् । उनी १०० वर्षको नजिक पुग्दा सन् २०३२ सम्म सत्तामा रहन सक्छन् ।
बियाको चुनावी जित अन्तत: सोमबार क्यामरुनको संवैधानिक परिषद्ले पुष्टि गरेको थियो । उनी अफ्रिकाको सबैभन्दा वृद्ध र विश्वको सबैभन्दा लामो समय शासन गर्ने नेतामध्ये एक हुन् । उनले ४३ वर्ष (लगभग आधा जीवन) पदमा बिताएका छन् । उनले तीन करोड जनसंख्या भएको देश क्यामरुनमा सन् १९८२ देखि राष्ट्रपतिको रूपमा शासन गर्दै आएका छन् । उनले चुनाव जितेर शासन गरेको बताए पनि विपक्षीहरूले चुनाव ‘चोरिएको’ बताएका छन् ।
किन भइरहेको छ घातक प्रदर्शन ?
क्यामरुनको राष्ट्रिय मुक्ति मोर्चाका विपक्षी उम्मेदवार इस्सा चिरोमा बाकारीका समर्थकले चुनावी नतिजा घोषणा हुनुअघि आर्थिक राजधानी डुआलामा प्रतिबन्धका बाबजुद प्रदर्शन गरे । प्रतिबन्धको अवज्ञा गर्दै प्रदर्शनकारीले प्रहरीका सवारीसाधनमा आगो लगाएका छन्, सडक अवरोध गरेका छन् र टायर बालेका छन् । लगभग ३० जना कार्यकर्तालाई पक्राउ गरिएको छ । आफूलाई वास्तविक विजेता घोषणा गरेका र बियालाई स्वीकार गर्न आह्वान गरेका चिरोमाका समर्थनमा निस्केको भिडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको छ ।
डुआलासहित उक्त क्षेत्रका गभर्नर स्यामुएल डियुडोने इभाहा डिबुआले एएफपी समाचार एजेन्सीलाई बताएअनुसार प्रदर्शनकारीले सहरको दोस्रो र छैटौँ जिल्लाका प्रहरी चौकीमा आक्रमण गरेका थिए । सुरक्षा बलका धेरै सदस्य घाइते भएका थिए । ‘दुर्भाग्यवश चारजनाले ज्यान गुमाएका थिए,’ उनले भने । चिरोमाको अभियान टोलीले आइतबार मृत्यु हुनेहरू प्रदर्शनकारी भएको पुष्टि गरेको छ ।
विपक्षी समर्थकले चुनावको नतिजामा बिया र सत्तामा रहेका उनका समर्थकले धाँधली गरेको दाबी गरेका छन् । नतिजा घोषणा हुनुभन्दा अगाडि वर्तमान सरकारले यी आरोप अस्वीकार गर्यो र मानिसलाई नतिजा पर्खन आग्रह गर्यो ।
विपक्षीको ताकत कस्तो ?
परिवर्तनका लागि संघ (युनियन फर चेन्ज) विपक्षी दलको गठबन्धन हो, जुन सेप्टेम्बरमा राजनीतिक परिदृश्यमा बियाको प्रभुत्वको प्रतिरोध गर्न गठन भएको थियो । फोरमले सहमतिको उम्मेदवार खडा गर्ने उद्देश्यले बियाको विरोधमा दुई दर्जनभन्दा बढी राजनीतिक दल र नागरिक समाज समूहलाई एकसाथ ल्याएको थियो । सेप्टेम्बरमा समूहले बियाविरुद्ध उम्मेदवार बन्नका लागि चिरोमालाई आफ्नो सर्वसम्मत उम्मेदवारको रूपमा पुष्टि गर्यो ।
७६ वर्षीय चिरोमा पहिले बियाको सरकारका हिस्सा थिए । उनले १६ वर्षभन्दा बढी समयसम्म विभिन्न मन्त्रालयको नेतृत्व गरेका थिए । बोको हराम सशस्त्र समूहसँग लड्ने क्रममा उनले सरकारको प्रवक्ताको रूपमा पनि काम गरेका थिए । सेनामाथि नागरिकको हत्या गरेको आरोप लाग्दा उनले त्यसको बचाउ गरेका थिए । उनी पहिले बियाको ‘पुरानो गार्ड’को सदस्य मानिन्थे । उनले ‘परिवर्तन’को वाचामा अभियान चलाएका छन् ।
राष्ट्रपति निर्वाचनपछि के भयो ?
अक्टोबर १२ मा मतदान सकिएपछि चिरोमाले विजयको दाबी गरे । ‘हाम्रो विजय स्पष्ट छ । यसको सम्मान गर्नुपर्छ,’ उनले फेसबुकमा पोस्ट गरिएको भिडियो वक्तव्यमा भने । उनले बियालाई ‘मतपेटिकाको सत्य स्वीकार गर्न’ वा ‘देशलाई अशान्तिमा नफ्याँक्न’ आह्वान गरे । चिरोमाले ५५ प्रतिशत मतसहित चुनाव जितेको दाबी गरे । चुनावमा ८० लाखभन्दा बढी मानिसले मतदान गर्न नाम दर्ता गरेका थिए ।
यद्यपि, सोमबार संवैधानिक परिषद्ले ५३.६६ प्रतिशत मतसहित बियालाई विजेता घोषणा गर्यो । यसले ३५.१९ प्रतिशत मतसहित चिरोमा दोस्रो स्थानमा रहेको बताएको छ । सोमबार नतिजा घोषणा गर्दै परिषद्का नेता क्लेमेन्ट अटांगानाले निर्वाचन प्रक्रिया ‘शान्तिपूर्ण’ भएको बताए र ‘परिणामको उपेक्षा’ गरेकोमा विपक्षीको आलोचना गरे ।
बियाको शासनकालमा असंख्य चुनौती
बियाको शासनकालमा क्यामरुनले असंख्य चुनौतीसँग संघर्ष गरेको छ, जसमा दीर्घकालीन भ्रष्टाचार पनि समावेश छ । देश तेल र कोकोजस्ता स्रोतमा धनी भए पनि आर्थिक वृद्धिलाई सरकारले कमजोर बनाएको आलोचक बताउँछन् । प्रत्येक सात वर्षमा हुने आठ तीव्र प्रतिस्पर्धात्मक चुनावमा विजय हासिल गरेका राष्ट्रपति आफ्नो अनुपस्थितिका लागि चर्चामा छन् । किनकि, उनी लामो समयसम्म देशबाट टाढा बिताउने विवरण सार्वजनिक हुँदै आएका छन् । ९२ वर्षीय वृद्ध यस महिनाको चुनावअगाडि एउटा मात्र अभियान र्यालीमा देखा परे, जतिवेला उनले मतदातालाई ‘सबैभन्दा राम्रो आउन बाँकी’ रहेको आश्वासन दिए ।
उनी र उनको टोली चिकित्सकीय उपचारका लागि प्राय: स्विट्जरल्यान्ड जान्छन् । सन् २०१८ मा संगठित अपराध र भ्रष्टाचार रिपोर्टिङ परियोजनाले गरेको अनुसन्धानले बियाले सत्तामा रहेदेखि आधिकारिक भ्रमणबाहेक युरोपेली देशमा कम्तीमा एक हजार ६४५ दिन (लगभग साढे चार वर्ष) बिताएको पत्ता लगाएको थियो ।
चुनावमा धाँधली गर्न निर्वाचन अधिकारीले बारम्बार बियाको नेतृत्वमा राष्ट्रपतिसँग मिलेर काम गरेको विपक्षी राजनीतिज्ञले आरोप लगाएका छन् । २००८ मा संसद्ले राष्ट्रपतिले सेवा गर्न सक्ने कार्यकालको सीमा हटाउन मतदान गर्यो । चुनावअघि संवैधानिक परिषद्ले अर्का लोकप्रिय विपक्षी उम्मेदवार क्यामरुन पुनर्जागरण आन्दोलनका मौरिस काम्टोलाई उम्मेदवार हुनबाट रोक लगायो ।
प्रहरीले केही विपक्षी नेता र उनीहरूका समर्थकलाई हिंसाको षड्यन्त्र रचेको आरोपमा हिरासतमा लिएको छ । शुक्रबार दुई प्रमुख नेता युनियन फर चेन्जका एनिसेट एकाने र जेयुकाम त्चामेनीलाई पक्राउ गरिएको थियो ।
अफ्रिकन मुभमेन्ट फर न्यु इन्डिपेन्डेन्स एन्ड डेमोक्रेसी पार्टीले पनि आफ्नो कोषाध्यक्ष र अन्य सदस्यलाई स्थानीय सुरक्षा बलले ‘अपहरण’ गरेको बताएको छ, यो कदम ‘क्यामरुनका जनतालाई धम्काउन’ डिजाइन गरिएको दाबी गरिएको छ । बियाले अन्तत: सत्तामा पकड जमाउँदा अस्थिरता निम्त्याउन सक्ने विश्लेषकले बताउँदै आएका छन् ।
क्यामरुनमा सुरक्षा अवस्था कस्तो छ ?
२०१५ देखि देशको सुदूर उत्तरी क्षेत्रमा सशस्त्र समूह बोको हरामका आक्रमण बढ्दै गएका छन् । यसबाहेक १९६० मा फ्रान्सेली शासनबाट स्वतन्त्रता प्राप्त गरेदेखि क्यामरुनले देशको गहिरो भाषिक र राजनीतिक विभाजनमा जरा गाडेको द्वन्द्वसँग संघर्ष गरिरहेको छ, जुन फ्रान्सेली र अंग्रेजी भाषी क्षेत्रलाई एउटै राज्यमा गाभेपछि विकसित भएको थियो ।
फ्रान्सेली आधिकारिक भाषा हो, र उत्तरपश्चिम र दक्षिणपश्चिमका ऐंग्लोफोन क्यामेरोनियनले याउन्डेको फ्रान्कोफोन–प्रभुत्व भएको सरकारद्वारा बढ्दो रूपमा सीमान्तकृत महसुस गरेका छन् । भाषा, शिक्षा, अदालत र स्रोतसाधनको वितरणमाथिको उनीहरूको गुनासो २०१६ मा ठुलो विरोध प्रदर्शनमा परिणत भयो, जब शिक्षक र वकिलले अंग्रेजी भाषा संस्थाहरूलाई समान मान्यताको माग गरे ।
सरकारले गिरफ्तारी र इन्टरनेट ब्ल्याकआउटका साथ प्रतिक्रिया दियो र अन्तत: अम्बाजोनिया भनिने स्वतन्त्र राज्यका लागि सशस्त्र पृथकतावादी संघर्षको स्थिति सिर्जना भयो । द्वन्द्व तीव्र भएपछि हालै भएको राष्ट्रपति चुनाव पहिलो थियो । सशस्त्र पृथकतावादीले राष्ट्रिय दिवस समारोह र चुनावजस्ता गतिविधिमा भाग लिनबाट अंग्रेजीभाषी जनसंख्यालाई रोक लगाएका छन् ।
शर्मा भारतका स्वतन्त्र पत्रकार हुन् । उनले मानव अधिकार, समाज र प्रविधिलगायतका विषयमा लेख्छन् ।