ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत् एवं सौर्यजस्ता नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । नयाँदिल्लीमा सुरु भएको बृहत् स्तरको स्वच्छ ऊर्जा रूपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआबद्धताको परिकल्पनाबारे सभाको विषयगत सत्रमा मंगलबार सम्बोधन गर्दै मन्त्री घिसिङले नेपालको जलविद्युत् दक्षिण एसियाकै स्वच्छ ऊर्जा रूपान्तरणको रणनीतिक सक्षमकर्ता स्रोतका रूपमा रहेको बताए । घिसिङले सन् २०३५ सम्ममा १५ हजार मेगावाट नवीकरणीय ऊर्जा निर्यातको लक्ष्यसहित नेपाल र भारतले संयुक्त रूपमा उच्च क्षमताका प्रसारणलाइन पूर्वाधार पहिचान गरी निर्माणको काम भइरहेको बताए ।
झन्डै ८३ हजार मेगावाट जलविद्युत् सम्भावना र करिब ४२ हजार मेगावाट पम्प स्टोरेज जलविद्युत् सम्भावनाले सम्पन्न ऊर्जाका स्रोत स्वच्छ, नवीकरणीय र नेपालका छिमेकी देशहरूको सौर्य तथा वायु ऊर्जासँग उत्कृष्ट रूपमा परिपूरक रहेको उनले बताए ।
उनले क्षेत्रीय र विश्वव्यापी रूपमा ग्रिड विकसित हुँदै जाँदा अन्तरआबद्ध प्रसारण सञ्जालले विभिन्न क्षेत्रहरूबिच नवीकरणीय ऊर्जा प्रवाह सम्भव बनाउँदै विद्युत् माग र आपूर्तिको सन्तुलन कायम गर्ने, लागत घटाउने र पहुँच विस्तार गर्ने बताए ।
‘यो दृष्टि एक सूर्य, एक विश्व, एक ग्रिड अवधारणासँग पूर्ण रूपमा मेल खान्छ, जहाँ स्वच्छ ऊर्जा सिमाना नाघेर सहज र दिगो रूपमा प्रवाहित हुन्छ, यस दृष्टिलाई वास्तविकता बदल्न क्षेत्रीय देशहरूले एकीकृत विद्युत् बजारतर्फ अघि बढ्नुपर्छ,’ उनले बताए । उनले जलवायु परिवर्तनका विद्युत् प्रणाली र जीविकोपार्जनमा परिरहेको गम्भीर क्षतिलाई न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउन आह्वान गरे ।