भारतीय फुटबल संघको कमजोर व्यवस्थापन तथा अखिल नेपाल फुटबल संघ (एन्फा)को सम्बन्धित निकायसँगको फितलो समन्वयनका कारण नेपाली राष्ट्रिय महिला फुटबल टोलीका सदस्यले मंगलबार अनिद्रा र भोकै यात्रा गरेका छन् । सिलोङदेखि गुवाहाटी, गुवाहाटीदेखि बागडोग्रा, बागडोग्रादेखि सिक्किमसम्मको यात्रामा खेलाडीहरूले सास्तीको सामना गरेका छन् । सिलोङबाट मंगलबार बिहान ३:३० बजे हिँडेको खेलाडी राति सात बजे मात्र सिक्किम पुगेको छ । सिलोङदेखि सिक्किमसम्मको यात्रामा आफूहरू करिब १० घण्टा भोकै रहेको टोलीका सदस्यले नयाँ पत्रिकालाई बताएका छन् ।
‘सोमबार राति नै हामीलाई बुधबार भारतसँग मैत्रीपूर्ण खेल खेल्नुपर्ने जानकारी गरायो । १० बजे खाना खाएर सुत्ने तयारी मात्र गरेका थियौँ । राति १ बजे उठेर समान प्याकिङ गर्यौँ त्यसपछि बिहान ३:३० बजे हिँडेका हामी मंगलबार राति सात बजे मात्र सिक्किम पुग्यौँ,’ ती सदस्यले भने, ‘यो बिचमा धेरै भोकै बस्यौँ ।’ उनका अनुसार खेलाडीहरूले मंगलबार दिउँसो दुई बजे मात्र बागडोग्रामा पुगेर राम्रोसँग खाना खाएका थिए । करिब १ सय ५० किलोमिटरको बस यात्रापछि नेपाली टोली सिक्किम पुग्यो । भारतीय फुटबल संघले अचानक बुधबारै सिक्किममा मैत्रीपूर्ण खेल घोषणा गरेपछि नेपाली टोली सोमबार राति नै होटेलबाट हिँड्नुपरेको हो ।
खेलकुदमन्त्री गुप्ता एन्फासँग आक्रोशित
रष्ट्रिय महिला फुटबल टोलीको भारत भ्रमणका क्रममा भएको कमजोरीप्रति नवनियुक्त खेलकुदमन्त्री बब्लु गुप्ताले एन्फाका महासचिव किरण राईलाई टेलिफोनबाटै स्पष्टीकरण सोधेका छन् । सिलोङमा रहँदा नेपाली महिला खेलाडीलाई राम्रो व्यवस्थापन नभएको गुनासो आएपछि मन्त्री गुप्ताले राईसँग एन्फाको व्यवस्थापकीय कमजोरीप्रति आक्रोश पोखेका हुन् । ‘राष्ट्रिय खेलाडीको विषय हो, उनीहरूको खाने, बस्ने र यात्राको उचित व्यवस्थापन भएन भन्ने कुरा आइरहेको छ,’ मन्त्री गुप्ताले सोधेका छन्, ‘खेलाडीले तीन–चार घण्टा मात्र सुत्न पाएको, खाना समयमा नपाएको र यात्राले थकित भएको गुनासो छ । यो त तपाईंले गर्नुभएन नि ।’
महासचिव राईले नेपाली टोलीको सबै व्यवस्थापन एन्फाको नभएर भारतीय दूतावास र उनीहरूको फुटबल संघले लिनुपर्ने मन्त्री गुप्तालाई जवाफ फर्र्काएका थिए । ‘नेपाली खेलाडीको व्यवस्थापनको जिम्मा भारतीय दूतावास र भारतीय फुटबल फेडेरेसनले लिएको छ । सिलिगुडी र सिलोङमा केही समस्या देखिएको सत्य हो अहिले समाधान भइसकेको छ,’ राईले भने ।
दुई पक्षबिच अगाडि नै सम्झौता हुने प्रावधान
यसैगरी, एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले दुई राष्ट्रबिचको खेल हुँदा अगाडि नै सम्बन्धित फुटबल संघबिच सहमति हुने बताएका छन् । पाहुना टोलीको आउँदादेखि नफर्कँदासम्मको व्यवस्थापन आयोजक राष्ट्रको हुने शेर्पाको भनाइ छ । तर, पंकजविक्रम नेम्वाङ नेतृत्व रहेको एन्फा यस पक्षमा चुकेको र चरम लापरबाही गरेको दाबी शेर्पाले गरेका छन् । ‘कुनै पनि खेल खेल्नुअघि नै सहमति हुनुपर्ने, यात्राको मिति, समय, खेल खेल्ने मैदान, उडानको समय, खेलाडी बस्ने होटेल र खानादेखि आदि सुविधाबारे एकआपसमै अगाडि नै सहमति भइसकेको हुन्छ,’ शेर्पाले भनेका छन्, ‘भारतमा रहेका नेपाली महिला खेलाडीलाई के–कति कारणले यस्तो अव्यवस्थित तरिकाले एन्फाले देशबाहिर पठायो ? यो एन्फाको गैरजिम्मेवारपन हो ।’ यसैबिच नेपाल फुटबल खेलाडी संघले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको व्यवस्थापनमा लापरबाही भएको भन्दै आपत्ति जनाएको छ ।
फिफाको नियमविपरीत खेल
फुटबलको सर्वोच्च नियमका फिफाले मैत्रीपूर्ण वा अन्तर्राष्ट्रिय खेल खेलेको ७२ घण्टापछि खेलाडीलाई अर्को खेलका लागि अनुमति दिएको हुन्छ । खेलाडीले लगभग तीन दिनजसो विश्राम पाउँछन् । अन्तर्राष्ट्रिय खेल खेल्ने फुटबल खेलाडीको हकमा यही नियम फिफाले लागू गरेको छ । तर, भारतसँग पुन: नेपालले ४८ घण्टाभन्दा कम समयमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्न लागेको छ । खेलाडी संघले फिफाको नियमविपरीत हुने अनौपचारिक खेल गलत भएको जनाएको छ ।
‘पहिलो खेल खेलेको ७२ घण्टा विश्राम लिनुपर्ने फिफाको निमय छ । यहाँ नियमविपरीत ४८ घण्टाभन्दा कम समयमा नेपाल र भारतबिच दोस्रो खेल खेलाउनु पनि गलत हो,’ संघले जारी गरेको विज्ञप्तिमा छ । सोमबार भारतसँग खेलेको नेपालले बुधबार भारतसँगै अर्को अनौपचारिक खेल खेल्दै छ ।
निर्धारित तालिकाअनुसार भारत र नेपालबिचको अनौपचारिक मैत्रीपूर्ण खेल बिहीबार हुनुपर्ने थियो । तर, आयोजक भारतले बुधबारका लागि सारिएको हो । जसका करण नेपाली हतार–हतार सिक्किमतर्फ प्रस्थान गरेको हो । प्रतिस्पर्धामा कप्तान सावित्रा भण्डारी मिडफिल्डर प्रिती राई र गोलरक्षक एन्जिला तुम्बापो सुब्बा भने नेपाली टोलीमा हुनेछैनन् ।