पोखरामा ड्युटीमा रहेका एक प्रहरी हवल्दारको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१३ स्थित गौँडाको मुखमा ड्युटीमा रहेका प्रहरी हवल्दार ओमकुमार थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए।
बस्नेतका अनुसार मृतक थापा विशेष सुरक्षा योजनाअन्तर्गत गौँडाको मुखमा ड्युटीमा रहेको समयमा अचेत अवस्थामा भेटिएका थिए। त्यसपछि थापालाई उपचारका लागि तत्काल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
नवलपुरको विनय त्रिवेणी गाउँपालिका–६ स्थित शिवपुरगढी घर भएका थापाको दरबन्दी जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइ कास्कीमा रहेको भए पनि हाल उनी सिआरभी भद्रकालीमा कार्यरत थिए। उनको मृत्यु के कारणले भयो भन्ने सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।