युद्धविराम सम्झौता कसरी कायम राख्ने भन्नेबारे छलफल गर्न पाकिस्तान र अफगानिस्तानका अधिकारीबिच टर्कीको इस्तानबुलमा भेटवार्ता भएको छ । पाकिस्तानी रक्षामन्त्रीले युद्धविराम असफल भएमा ‘खुला युद्ध’ हुने चेतावनी दिइरहेका वेला दुई देशका अधिकारीबिच इस्तानबुलमा भेट भएको हो । शनिबार सुरु भएर आइतबारसम्म जारी रहेको छलफल छिमेकीबिचको घातक झडप अन्त्य गर्न कतार र टर्कीले दोहामा मध्यस्थता गरेको केही दिनपछि भएको हो । सीमापार हिंसामा दर्जनौँ व्यक्तिको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन् ।
‘हामीसँग विकल्प छ । यदि कुनै सम्झौता भएन भने उनीहरूसँग खुला युद्ध हुन्छ,’ पाकिस्तानका रक्षामन्त्री ख्वाजा मोहम्मद आसिफले शनिबार पूर्वीपाकिस्तानी सहर सियालकोटबाट भने । ‘तर, उनीहरूले शान्ति चाहेको मैले देखेको छु’ उनले थपे । इस्तानबुलस्थित अल जजिराका सिनेम कोसेओग्लुका अनुसार टर्कीमा हुने ‘प्राविधिक–स्तरको वार्ता’ले ‘दुई छिमेकीबिच स्थायी समाधानका लागि मार्ग प्रशस्त गर्ने’ अपेक्षा गरिएको छ । अफगानिस्तानका उप–गृहमन्त्री हाजी नजिबले टर्कीमा आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका छन् । पाकिस्तानले आफ्ना प्रतिनिधिबारे विवरण दिएको छैन । वार्ताले ‘अफगान भूमिबाट पाकिस्तानतर्फ निस्कने आतंकवादको खतरा’लाई सम्बोधन गर्नुपर्ने पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले बताए ।
पाकिस्तानले अफगानिस्तानलाई पाकिस्तानी तालिबान (टिपिपी) लगायत ‘आतंकवादी समूह’लाई आश्रय दिएको आरोप लगाएको छ । काबुलले यो आरोपलाई अस्वीकार गरेको छ । उल्टै इस्लामाबादलाई सैन्य हमलामार्फत आफ्नो सार्वभौमसत्ता उल्लंघन गरेको आरोप लगाएको छ । हालैको लडाइँपछि दुई देशबिचका प्रमुख सीमा बन्द छन् । यसका कारण व्यापारीले हरेक दिन लाखौँ डलर गुमाउनुपरेको अफगानिस्तानको वाणिज्य तथा उद्योग चेम्बरले अनुमान गरेको छ ।
अफगानिस्तानका अन्तर्राष्ट्रिय संकट समूहका विश्लेषक इब्राहिम बहिसले एएफपी समाचार एजेन्सीलाई बताएअनुसार इस्तानबुल वार्ताका क्रममा छलफलको प्रमुख विषय सशस्त्र समूहबारे गुप्तचर जानकारी आदानप्रदान रहेको छ । ‘उदाहरणका लागि पाकिस्तानले टिटिपी लडाकु वा कमान्डर कहाँ छन् भन्ने शंका गर्ने ठाउँहरूको समन्वय गर्नेछ र अफगानिस्तानले उनीहरूविरुद्ध कारबाही गर्ने अपेक्षा गर्नेछ,’ उनले भने । यसैबिच, गत आइतबार दोहामा घोषणा गरिएको युद्धविराम अझै कायम छ । ‘पछिल्लो दुईदेखि तीन दिनमा अफगान भूमिबाट कुनै ठुलो पूर्णस्तरीय आतंकवादी आक्रमण भएको छैन,’ पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता ताहिर आन्द्राबीले भने, ‘त्यसैले, दोहा वार्ता र परिणाम फलदायी रह्यो । हामी इस्तानबुल र इस्तानबुलपछिको प्रवृत्ति जारी राख्न चाहन्छौँ ।’