बढ्दै छ लोकआस्थाको पर्व छठको महिमा

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य, आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर सकिँदै छठ

मंगलबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण

लोकआस्था, सामाजिक एकता र प्रकृतिप्रतिको सम्मानको प्रतीकको रूपमा चिनिने छठ पर्वअन्तर्गत सोमबार अस्ताउँदै सूर्यको अर्घ्य दिइएको छ । शनिबारदेखि सुरु भएको छठ मंगलबार बिहान उदाउँको सूर्यलाई अर्घ्य दिएर विधिवत् समापन हुनेछ । 

तराई, मधेश मात्र होइन काठमाडौं उपत्यकासहित क्षेत्रमा नदी, पोखरी, तलाउमा छठ मनाइएको छ । जनकपुरधामका गंगासागर, धनुषसागर, दशरथ तलाव, अरगजा पोखरीमा दुलहीझैँ सिँगारिएको छ । त्यस्तै, तराई–मधेशका अन्य जिल्लामा पनि छठ पर्व मनाइएको छ । काठमाडौंको गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत स्थानमा पनि सूर्यलाई अर्घ्य दिइएको छ । 

केही दशकअगाडि छठ पर्व नेपालका तराई क्षेत्र र भारतका बिहार, उत्तर प्रदेशलगायतका राज्यमा मनाइन्थ्यो । तर, अहिले यो पर्व नेपालको पहाडी क्षेत्रदेखि विदेशमा रहेका नेपाली समुदायसम्म मनाइने गरिएको छ । साहित्यकार परमेश्वर कापडीका अनुसार छठ धार्मिक मात्र नभई प्रकृति र सामाजिक एकताको पर्व हो । ‘यसको लोकप्रियता दिनप्रतिदिन बढ्दै जानु यसको सार्वभौमिकता र सरलता हो,’ उनले सुनाए । उनका अनुसार, छठ प्रत्येक वर्ग र समुदायको पर्व हो । छठमा प्रकृतिको पूजा गरिन्छ । 

छठ पर्व पन्डा, पुरोहित र ढोंगी परम्पराबाट मुक्त लोकपर्व पनि हो । ‘लोकआस्थाबाट प्रेरित यसको पूजापद्धति र परम्पराले यसलाई लोकतान्त्रिक पर्वको रूपमा लिने गरिएको छ । जलाशय, पोखरी र नदी–किनारमा सामूहिक रूपमा मनाइने यो पर्व समानता र एकताको प्रतीक मानिन्छ,’ उनले भने । छठमा छठी माता र सूर्य देव दुवैको पूजा गरिन्छ ।

सुस्ताएको व्यापारमा छठ पर्वले दियो राहत 
सुस्ताएको व्यापारमा छठ पर्वले राहत दिएको छ । छठ पर्वमा कपडादेखि माटोका भाँडा, बाँसबाट बनेका सामग्री चंगेरासहितको माग बढेको छ । खाद्यान्न सामग्री चिनी, पिठो, खानेतेलको बिक्री बढेको जनकपुर उद्योग वाणिज्य संघका महासचिव फुलदेव पण्डितले बताए । ‘दसैँसम्म बजारमा सर्वसधारणको चहलपहल भए पनि आर्थिक कारोबार फस्टाउन सकेको थिएन । तर, दीपावलीदेखि छठसम्म तुलनात्मक रूपमा सुधार देखिएको छ,’ उनले भने । छठ पर्वमा अन्य केरा, सन्तुला, स्याउसहितका फलफूलको कारोबार अत्यधिक भएको छ । जनकपुरधामा झन्डै पाँच करोडको फलफूल भित्रिएको छ । पूर्वजले घरेलु उत्पादनलाई बढावा दिने गरी छठ पर्वको सुरुवात गरेको अर्थविज्ञ डा. भोगेन्द्रले बताए । ‘छठ पर्वमा घरेलु उत्पादनकै सामग्री प्रयोग बढी हुन्छ,’ उनले भने ।

राष्ट्रपति पौडेलले गरे पूजाअर्चना
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघि बागमती किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा–अर्चना गरेका छन्् । राष्ट्रपति पौडेलका साथै प्रथम महिला सविता पौडेलले पूजा स्थलमा सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दान गरे । देशका विभिन्न भागमा भव्य रूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरीमा सूर्यदेवसहित छठी माताको पूजा–आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ ।

सुझावित समाचार