भिरमा फसेका सल्यानका एक युवकको प्रहरी र स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको छ। बनगाड कुपिन्डे नगरपालिका–७, कोटमा फसेका २८ वर्षीय रमेश पुनको उद्धार गरिएको हो।
मानसिक स्वास्थ्य समस्या भएका पुन सोमबार दिउँसो १ बजेदेखि भिरमा फसेका थिए। उनको सवा ५ बजे मात्रै उद्धार गर्न सफल भएको इलाका प्रहरी कार्यालय देवस्थलका प्रमुख नेत्रबहादुर रानाले जानकारी दिए।
७ नम्बर वडाध्यक्ष जीवनसिंह ठकुरीले फोनमार्फत पुन भिरमा अड्किएको इप्रकामा जानकारी दिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। उक्त भिरमा उनी कसरी गए भन्ने थाहा नभएको वडाध्यक्ष ठकुरीले बताए। उद्धार गरिएको पुनलाई उनको भाइको जिम्मा लगाइएको छ।