चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स : अन्तिम दिनमा नेपाललाई दुई रजत

भारतको राँचीमा चलिरहेको च्याम्पियनसिपमा धावक राजन रोकायले १० हजार र सोमबहादुर कुमालले आठ सय मिटर दौडमा नेपाललाई रजत पदक दिलाए

सोमबार, १० कार्तिक, २०८२
डिजिटल संस्करण

नेपालले भारतको राँचीमा चलिरहेको चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिप २०२५ मा दुई रजत जितेको छ । प्रतियोगिताको आइतबार बिर्सा अन्तर्राष्ट्रिय रंगशालामा नेपाली पुरुष धावकले पुरुष दश हजार र आठ सय मिटर दौडमा रजत पदक जितेका हुन् । च्याम्पियनसिपमा नेपाली धावक राजन रोकायले पुरुष १० हजार र आठ सय मिटरमा सोमबहादुर कुमालले रजत हात पारेका हुन् । 

रजत जित्न राजनले ३० मिनेट ३९ः१५ सेकेन्डमा दौड पूरा गरेका थिए । यस इभेन्टमा भारतका अभिषेक ३० मिनेट  २९ः४५ सेकेन्डका साथ पहिलो भए । नेपालले चौथो दक्षिण एसियाली च्याम्पियनसिपमा अहिलेसम्म दुई रजत र तीन कांस्य पदकसहित कुल पाँच पदक जितिसकेको छ । भारतकै प्रिन्स कुमार ३१ मिनेट १७ः३७ सेकेन्डका साथ कांस्य पदकमा सीमित भए । नेपालले पहिलो दिन तीन कांस्य पदक जितेको थियो । च्याम्पियनसिपमा आयोजक भारत, श्रीलंका, नेपाल, बंगलादेश र माल्दिभ्स सहभागी छन् । भुटान र पाकिस्तानले प्रतियोगितामा भाग लिएनन् । 

नेपालका सोमबहादुर कुमालले भारतको राँचीमा चलिरहेको चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा रजत पदक जितेका छन् । याम्पियनसिपको तेस्रो दिन आइतबार सोमबहादुरले पुरुष आठ सय मिटर दौडमा रजत पदक जितेका हुन् । उनले निर्धारित दूरी पार गर्न १ मिनेट ५२.०३ सेकेन्ड लगाएका थिए । चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा अहिलेसम्म नेपालले चारवटा पटक जितेको छ ।

यसअघि नेपालका तीन धावकले तीन कांस्य पदक जितेका थिए । पुरुष आठ सय मिटरमा श्रीलंकाका हर्स एस करले १ मिनेट ५१.९६ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जितेका छन् । भारतका मोगाली वेनकाताराम १ मिनेट ५२.३७ सेकेन्डका साथ कांस्य पदकमा सीमित भए । प्रतियोगिताको पहिलो दिन नेपालले तीनवटा कांस्य पदक जितेको थियो । नेपालले च्याम्पियनसिपमा महिला र पुरुष पाँच हजार मिटर दौडसँगै मिक्स रिले ४ गुणा ४ सय रिलेमा कांस्य पदक हात पारेको छ । 

१५ वर्षपछि कान्छीमायाको रेकर्ड भंग
नेपाली धाविका सन्तोषी श्रेष्ठले पहिलो दिन महिला पाँच हजार मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमानसहित कांस्य पदक हात पारेकी थिइन् । उनले १६ मिनेट ३६ः६१ सेकेन्डमा दौड पूरा गरी १५ वर्षअघि कान्छीमाया कोजूको राष्ट्रिय कीर्तिमान तोडेकी हुन् । सन्तोषीले कान्छीमाया कोजूको नाममा रहेको १५ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित कांस्य जितेकी हुन् । कान्छीमायाले सन् २०१० मा चीनको ग्वाङझाउमा एसियन खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्समा १६ मिनेट ४९ः९८ सेकेन्डका साथ पाँच हजार मिटर दौडमा राष्ट्रिय रेकर्ड बनाएकी थिइन् । 

पाँच हजार मिटर दौडमा भारतले स्वर्ण र रजत जित्यो । सन्तोषीले सन् २०१९ मा काठमाडौंमा भएको १३औँ सागअन्तर्गत १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन् । नेपालले पहिलोपटक एथलेटिक्समा महिला खेलाडीबाट स्वर्ण जितेको थियो । चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा नेपालका मुकेश पालले पुरुष पाँच हजार मिटर दौडमा कांस्य पदक जिते ।

उनले १४ मिनेट २५.५४ सेकेन्डमा दौड पूरा गर्दै कांस्य हात पारे । भारतले स्वर्ण र श्रीलंकाले रजत पदक जितेको थियो । यसैगरी, नेपाली टोलीले मिक्स रिलेमा कांस्य पदक हात पारेको थियो । रमिताकुमारी थारू, जयरानी थारू, सोमबहादुर कुमाल, रामप्रसाद थारू सम्मिलित टोलीले मिक्स रिले दौड तीन मिनेट ३७.१६ सेकेन्डमा पूरा गर्दै पदक जितेको थियो । यस इभेन्टमा भारतले स्वर्ण र श्रीलंकाले रजत‌ पदक जितेको थियो । 

नेपालबाट २६ धावक सहभागी 
च्याम्पियनसिपमा नेपालबाट २६ धावक सहभागी छन् । मुकेश पाल, राजन रोकाया, सोम कुमाल, सलिन देवान, सन्तोषी श्रेष्ठ, पूर्णलक्ष्मी न्यौपाने, सुशील केसी, शिवराज पार्की, अरुण महतो, रामचन्द्र थारू, तिलक विक, युवराज विक, गणेशसिंह रावत, नागेश्वर ऐर, चन्द्रदेव जोशी प्रतिस्पर्धामा छन् । खेलाडीमा प्रवीण राना, वसन्ती चौधरी, सीमाकुमारी थारू, जयरानी थारू, सीता शाही, शर्मिलाकुमारी थारू, सरस्वती चौधरी, रञ्जिता अधिकारी, डिना गोपाली र नारायणी भण्डारी रहेका छन् । नेपाली टोलीलाई राकेश बज्राचार्य र धनीराम चौधरीले प्रशिक्षण दिएका छन् । 

सुझावित समाचार