बेलायतमा हैजाले अन्तिमपटक सन् १८६६ मा प्रकोपको रूप लिएको थियो । त्यस्तै, संयुक्त राज्य अमेरिकामा सन् १९११ यता यसको प्रकोप देखिएको छैन । तर, अझै पनि विश्वका ३२ देशका मानिस यस प्राचीन रोगबाट प्रताडित हुने गरेका छन् । यो वर्षको पहिलो १० महिनामा यसले विश्वमा ६,८०० भन्दा बढीको ज्यान लिएको पाइएको छ, जुन गत वर्षभरि भएको कुल ६,००० मृत्युभन्दा अहिले नै बढी हो । जबकि अघिल्लो वर्षको तथ्यांक सन् २०२३ को संख्यामा ५० प्रतिशतभन्दा बढी थियो ।
आजको दिनमा हैजाको सबैभन्दा गम्भीर प्रकोप अफ्रिकामा देखिने गरेका छन् । त्यहाँ चलिरहेका विभिन्न द्वन्द्वले हैजाको विस्तारलाई बढाउनेदेखि केही देशहरूमा रोगको नियन्त्रण प्रयासलाई बाधा पु¥याइरहेको छ । हैजा अभावले निम्तिने रोग हो । यो रोगको समाधान नभएकाले यो अझै अस्तित्वमा रहेको होइन, बरु राजनीतिक नेतृत्वले समस्याअनुरूप तत्काल कदम उठाउन नसक्दा अझै विद्यमान छ ।
हैजा नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को नेतृत्वमा ५० भन्दा बढी साझेदारहरूको एउटा कार्यदल बनेको छ, ‘ग्लोबल टास्क फोर्स अन कोलेरा कन्टोल’को नाममा । सन् १९९२ मा स्थापित कार्यदलले आवश्यक आपूर्तिमा सबैको पहुँच पुर्याउने, हैजा पहिचान सहज बनाउने, प्रकोप रोकथाम गर्ने र उपचार गर्ने तथा रोगलाई दिगो रूपमा नियन्त्रण गर्न विश्वव्यापी प्राथमिकता तय गर्ने उद्देश्य लिएको छ ।
राजनीतिक नेतृत्वले समस्याअनुरूप तत्काल कदम उठाउन नसक्दा सजिलै निर्मूल गर्न सकिने यो रोग अझै अस्तित्वमा छ
हैजा संक्रमित व्यक्तिको दिसामा हुने ब्याक्टेरियाले कुनै माध्यममार्फत खाना वा पानीमा पुग्यो भने सर्छ । यसलाई रोक्ने एक मात्र तरिका सुरक्षित पानी र सरसफाइमा पहुँच सुनिश्चित गर्नु हो । यसैले गर्दा सुरक्षित पानी र सरसफाइमा पहँुच भएका देशमा यो रोगको नामै सुनिँदैन । तर असमानता, गरिबी, द्वन्द्व, विस्थापन र जलवायु–सम्बन्धित प्रकोपहरूबाट पीडित समुदायमा भने यो रोग फैलिने गर्छ । उसो त प्रभावकारी खोपद्वारा पनि हैजालाई रोक्न सकिन्छ ।
१९औँ शताब्दीको अन्त्यतिरै पहिलोपटक सुईमार्फत दिन मिल्ने खोप विकास गरिएको थियो । सन् १९८० को दशकमा मुखबाट खान मिल्ने थोपारूपी खोपले त्यसलाई प्रतिस्थापन गरेको थियो ।तर, यो रोगले लगभग हरेक अवस्थामा गरिब देश र समुदायलाई असर गर्ने भएकाले विकासकर्ता यसमा लगानी गर्न आकर्षित हुँदैनन् । हाल सामूहिक खोप अभियानलाई पुग्ने गरी आवश्यक मात्रामा हैजा खोप उत्पादन गर्ने एक मात्र निर्माता छः दक्षिण कोरियास्थित इयू–बायोलोजिक्स ।
हैजाको प्रकोप रोकथाम गर्न, डब्लुएचओ र अन्य साझेदारले सन् २०१३ मा एक विश्वव्यापी समन्वयकारी समूह ‘इन्टरेनसलन कोअर्डिनेटिङ ग्रुप अन भ्याक्सिन प्रभिजन (आइसिजी)अन्तर्गत हैजाको खोप भण्डारणको व्यवस्था गरियो । न्यून स्रोत भएका देशमा आपत्कालीन अवस्थामा खोप द्रुत, समान र प्रभावकारी पहुँच सुनिश्चित गर्ने यसको लक्ष्य थियो । यस प्रयासअन्तर्गत हालसम्म, ३४ देशमा करिब २५ करोड ५० लाख डोज खोप वितरण भइसकेको छ । पछिल्लो समय हैजाको विश्वव्यापी पुनरुत्थानका कारण सन् २०२१ यता मात्र तिनको ७५ प्रतिशत डोज वितरण गरिएको छ । १० महिनामै अघिल्लो वर्षको रेकर्ड तोडिएकाले यस वर्ष अहिलेसम्म, भण्डारणबाट चार करोड ९० लाखभन्दा बढी खोपका डोज वितरण गरिसकेको छ ।
प्रकोपको बढ्दो आवृत्ति र गम्भीरतालाई ध्यानमा राख्दै, भण्डारणका खोप अहिले हैजाको जोखिमयुक्त क्षेत्रमा रोकथाम अभियान सञ्चालन गर्नभन्दा प्रभावित क्षेत्रमा प्रकोप नियन्त्रणमा ल्याउन मात्र प्रयोग गर्न सकिन्छ । भण्डारणमा हरेक हप्ता डोजको परिणाम पुनर्भरण गरिन्छ । तर, हालसम्म खोपको उत्पादनले माग पूरा गर्न सकेको छैन । कुनै पनि समयमा प्रकोपविरुद्ध ५० लाख डोज तयार राख्नुपर्ने सुझाव विपरीतपरिणाम सधैँ योभन्दा कम नै हुन्छ । आपूर्तिलाई थप विस्तार गर्न, आइसिजीले सन् २०२२ मा दुई डोज खोपको मानक प्रणाली निलम्बन गर्दै एक डोज खोप रोजेको छ । प्रस्तावित संयन्त्रबाट उत्पादन हुने खोप प्रयोगमा ल्याइनुअघि सुरक्षा र प्रभावकारिता पुष्टि गर्न कठोर गुणस्तर आश्वासन र क्लिनिकल परीक्षण आवश्यक पर्नेछ ।
हैजाको प्रकोप रोक्न अफ्रिकाभित्र खोप उत्पादन गर्नु आवश्यक छ । तर, दीर्घकालीन समाधान भनेको सरकारले सुरक्षित पिउनेपानी र सरसफाइमा लगानी गर्नु हो । अल्जाइमर र धेरैजसो क्यान्सरजस्तो हैजा रोक्न नसकिने रोग होइन । हैजा गरिबी, असमानता, द्वन्द्व र विस्थापनले गर्दा अझै हामीबिच विद्यमान छ । त्यसैले हैजालाई रोक्नु वैज्ञानिक, चिकित्सकीय वा प्राविधिक चुनौती नभई मूलतः राजनीतिक चुनौती हो ।
(हिचिलेमा जाम्बियाका राष्ट्रपति हुन् भने गेब्रेयसस विश्व स्वास्थ्य संगठनका महानिर्देशक हुन्)द गार्जियनबाट