उत्तर कोरियाली नेता किमलाई भेट्ने ट्रम्पको चाहना

आइतबार, १० कार्तिक, २०८२
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आगामी एसिया भ्रमणका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्न चाहेको बताएका छन् । ‘म तपाईंलाई भेट्न चाहन्छु । यदि तपाईं आफ्नो कुरा भन्न चाहनुहुन्छ भने म यसका लागि खुला छु,’ अमेरिकी राष्ट्रपतिले एसिया भ्रमण प्रस्थान गर्ने क्रममा पत्रकारलाई भने । किमसँग आफ्नो राम्रो सम्बन्ध रहेको उनले बताए । ट्रम्पले उत्तर कोरियाको भ्रमणका मामलामा आफ्नो पहिलो कार्यकालमा इतिहास रचे । उनी सन् २०१९ मा अन्तिमपटक हात मिलाएर उत्तर कोरियाको भूमिमा पाइला राख्ने पहिलो बहालवाला अमेरिकी राष्ट्रपति बने । 

सुरुमा किमलाई ‘सानो रकेट मानिस’ भनेर व्यंग्य गर्दै ट्रम्पले किमको आलोचना गरेका थिए । उनले आणविक हतियार बनाउने प्रयासहरूप्रति असामान्य दृष्टिकोण अपनाएका थिए । कम्युनिस्ट अधिनायकवादी राज्य उत्तर कोरिया विश्व मञ्चमा धेरै हदसम्म एक्लो छ । ट्रम्पको अघिल्लो कार्यकालमा यी जोडीले तीनपटक आमनेसामने भेटेका थिए, तर आणविक निशस्त्रीकरण कार्यक्रममा सहमति हुन सकेनन् । उत्तर कोरियाले त्यसवेलादेखि अन्तरमहादेशीय क्षेप्यास्त्रहरूको धेरै परीक्षण गरिसकेको यसका छिमेकीले बताएका छन् ।

उत्तर कोरियालाई आणविक राज्यका रूपमा मान्यता दिने कि नदिने भन्ने प्रश्नमा ट्रम्पले पत्रकारहरूलाई भने, ‘मलाई लाग्छ कि तिनीहरू एक प्रकारको आणविक शक्ति हुन् । उनीहरूसँग धेरै आणविक हतियारहरू छन्, म त्यही भन्छु ।’ किमले आफू ट्रम्पलाई फेरि भेट्न तयार भएको, तर त्यसका लागि अमेरिकाले उत्तर कोरियालाई लगाउँदै आएको प्रतिबन्ध रोक्नुपर्ने बताएको छ । उसका आणविक हतियार त्याग्न अमेरिकाले बेतुकका माग बन्द गर्नुपर्ने पनि उत्तर कोरियाको भनाइ छ । राज्य सञ्चालित मिडियाका अनुसार किमले गत महिना एक भाषणमा भनेका थिए, ‘मलाई अझै पनि राष्ट्रपति ट्रम्पको राम्रो सम्झना छ ।’

उत्तर र दक्षिण कोरियाबिचको सम्बन्ध हेर्ने दक्षिण कोरियाका एकीकरणमन्त्री चुङ डोङ–यङले एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) फोरमको सम्मेलनमा दक्षिण कोरियामा रहँदा ट्रम्पले किमलाई भेट्ने ‘धेरै’ सम्भावना रहेको बताएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार यसअघि पनि ट्रम्पको भेट्ने कार्यतालिका थिएन् तर उनले सामाजिक सञ्जालमा निमन्त्रणा दिएपछि दुई कोरियाबिचको नि:शस्त्र क्षेत्रमा उनीहरूको अन्तिम भेट भएको थियो ।

सुझावित समाचार