अन्नपूर्ण क्षेत्रमा एक महिनामा ३० हजारभन्दा बढी पर्यटक

आइतबार, ९ कार्तिक, २०८२
डिजिटल संस्करण

असोज महिनामा ३० हजार पाँच सय ४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । सो अवधिमा दक्षिण एसियाली मुलुकका १० हजार १९ र अन्य देशका २० हजार पाँच सय २८ जना पर्यटकले यस क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।

गत वर्ष असोजको तुलनामा केही कम हो । यस वर्ष अघिल्लो वर्षको तुलनामा एक सय ८५ पर्यटक कम आएका आयोजना प्रमुख डा. रविन कँडरियाले बताए । गत भदौमा भएको ‘जेन–जी’ प्रदर्शन र मौसमको अवरोधका कारण भारतीय पर्यटक आगमन घटेको उनको भनाइ छ । 

आर्थिक वर्ष ०८०/८१ को असोजमा २८ हजार सात सय पाँच र आव ०८१/८२ को असोजमा ३० हजार सात सय ३२ जना पर्यटक यस क्षेत्रमा आएको कँडरियाले बताए । असोज र कात्तिकलाई मुख्य पर्यटकीय याम मानिन्छ । आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरेको छ । 

सडकमार्ग भएर बर्सेनि उल्लेख्य संख्यामा आन्तरिक पर्यटक यस क्षेत्रमा भित्रिने गरेको आयोजना प्रमुख डा. कँडरियाले बताए ।  यस याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोरेपानी, पुनहीलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो चहलपहल देखिने आयोजना प्रमुख डा. कँडरियाले बताए ।

सुझावित समाचार