संसारभर प्रत्येक वर्ष ५७ लाख मानिसको ज्यान लिन्छ वायु प्रदूषणले

आइतबार, १० कार्तिक, २०८२
डिजिटल संस्करण
  • विश्व बैंकका अनुसार बाहिरी वायु प्रदूषणले प्रत्येक वर्ष कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को लगभग पाँच प्रतिशतबराबरको विश्वव्यापी आर्थिक क्षति निम्त्याउँछ

दक्षिण अफ्रिकाको केप टाउनमा जी–२० समूहका नेताहरू भेला हुँदा जी–२० को फोरमको इतिहासमा पहिलोपटक एजेन्डामा स्वच्छ हावालाई एकल प्राथमिकताका रूपमा राखिएको छ । यद्यपि, वास्तविकता स्पष्ट छ । बाहिरी वायु प्रदूषणले प्रत्येक वर्ष ५७ लाख मानिसको ज्यान लिन्छ र गत साता जारी गरिएको एक प्रतिवेदनले स्वच्छ हावाका लागि अन्तर्राष्ट्रिय विकास वित्तको अभावलाई प्रकाश पार्छ । २०२३ मा विश्वव्यापी रूपमा ३.७ अर्ब डलर मात्र खर्च गरिएको थियो, जुन सहायताको मुस्किलले एक प्रतिशत हो, जसको एक अंश मात्र अफ्रिकामा पुग्यो । यस वर्ष जी–२० को वातावरण कार्यप्रवाहको अध्यक्षता गर्ने मन्त्रीका रूपमा म सदस्य देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूसँग वायु प्रदूषणलाई एजेन्डामा दृढतापूर्वक राख्ने काम गरेकोमा गर्व गर्छु । २०१९ मा जापानले अध्यक्षता सम्हाल्दा समुद्री प्लास्टिकमा ध्यान केन्द्रित गरिएको थियो । गत वर्ष ब्राजिलको नेतृत्वमा जी–२० ले वनका लागि वित्तलाई प्राथमिकता दियो । यस वर्ष हामीले स्वच्छ हावाको सास फेर्न पाउने अधिकारलाई अझ बुलन्द रूपमा उठाउन खोज्यौँ ।

दक्षिण अफ्रिकामा हाम्रो संविधानले प्रत्येक व्यक्तिलाई उनीहरूको स्वास्थ्य वा कल्याणका लागि हानिकारक नभएको वातावरणको अधिकारको सुनिश्चितता गर्छ । त्यो सिद्धान्तले हाम्रो घरेलु नीतिलाई मार्गदर्शन गर्छ र जी–२० को छलफलबारे हाम्रो नेतृत्वलाई जानकारी दिन्छ । यो अफ्रिकी भूमिमा पहिलो जी–२० अध्यक्षता हो, यो संकटको सामना गर्न उपयुक्त सेटिङ पनि हो । अफ्रिका पृथ्वीमा सबैभन्दा छिटो सहरीकरण भइरहेको महाद्वीप हो । हामीले आज हाम्रा घरलाई कसरी ऊर्जा दिन्छौँ, हाम्रा मानिसलाई एक स्थानबाट अर्को स्थानमा कसरी सार्छौँ र हाम्रा सहरहरू कसरी निर्माण गर्छौँ भन्नेबारे हामीले गर्ने छनोटले आउने दशकमा स्वास्थ्य, जलवायु र आर्थिक परिणामलाई आकार दिनेछ । वायु प्रदूषणको बोझ अस्पताल भर्ना, विद्यालयमा अनुपस्थिति र महाद्वीपभर उत्पादकतामा हुने ह्रास यसअघि नै देखिन थालेको छ । विश्व बैंकका अनुसार बाहिरी वायु प्रदूषणले प्रत्येक वर्ष कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को लगभग पाँच प्रतिशतबराबरको विश्वव्यापी आर्थिक क्षति निम्त्याउँछ ।

यो वास्तविकताले अब विश्वव्यापी बहसलाई नयाँ आकार दिइरहेको छ । मे महिनामा सरकारहरूले विश्व स्वास्थ्य संगठनको विश्व स्वास्थ्य सभामा वायु गुणस्तरसम्बन्धी विश्वको पहिलो विश्वव्यापी लक्ष्य अपनाए, जसको उद्देश्य २०४० सम्ममा खराब हावाबाट हुने मृत्युलाई आधा घटाउनु हो । यो एक ऐतिहासिक कदम थियो, तर महत्वाकांक्षासँग मेल खाने वित्तविना यस्ता प्रतिबद्धताले जोखिम पनि मोलेका हुन्छन् । हाम्रो जी–२० छलफलले स्वच्छ हावामा चारवटा बाधा–अड्चन पहिचान गर्यो । पहिलो, सीमित संस्थागत क्षमता हो । दोस्रो, अपर्याप्त अनुगमन र तथ्यांक हो, जसले नीति–निर्माता र नागरिकलाई भरपर्दो जानकारीविना छाड्छ । तेस्रो, सीमापार कमजोर सहयोग र चौथो, समस्याको मात्राको तुलनामा वित्तको अभाव हो । स्वच्छ वायु कोषको हालैको प्रतिवेदनले यो कुरा स्पष्ट पार्छ ।

सन् २०२३ म उपसहारा अफ्रिकामा बाहिरी वायु गुणस्तरका लागि सहयोग ९१ प्रतिशतले घटेर केवल एक करोड १८ लाखले झरेको छ । विश्वव्यापी रूपमा केवल एक प्रतिशत सहायता सफा हावामा खर्च गरिएको थियो र त्यसको केवल एक प्रतिशत उपसहारा अफ्रिकामा पुग्यो । अर्को शब्दमा विश्वव्यापी विकास कोषको १०,००० भाग (१/१०,०००) भन्दा कमले सबैभन्दा बढी आवश्यकता भएका क्षेत्रहरूमध्ये एकमा स्वच्छ वायु प्रयासलाई समर्थन गर्छ । यो असमान मात्र होइन, आर्थिक रूपमा अदूरदर्शी पनि छ । स्वच्छ वायु कार्यले स्वास्थ्य सेवा लागत घटाउँछ, उत्पादकता बढाउँछ र थप लचिलो अर्थतन्त्रमा संक्रमणलाई समर्थन गर्छ ।

दक्षिण अफ्रिकाको आफ्नै अनुभवले अरू पनि सम्भव छ भनेर देखाउँछ । राष्ट्रिय वायु गुणस्तर ढाँचा र राष्ट्रिय वातावरणीय व्यवस्थापन ऐनमार्फत हामीले वायु गुणस्तर अनुगमनमा जवाफदेहिता र पारदर्शिताका लागि जग निर्माण गरेका छौँ । हामीले राष्ट्रिय र नगरपालिका सरकारबिच समन्वयलाई सुदृढ बनाएका छौँ, ‘हाइवेल्ड र वाल ट्र्यांगल’मा लक्षित हस्तक्षेप प्रस्तुत गरेका छौँ र समुदायहरूले वास्तविक तथ्यांक प्राप्त गर्न सकून् भनेर हाम्रो वायु गुणस्तर अनुगमन नेटवर्क विस्तार गरेका छौँ । यी उपाय हाम्रो फराकिलो ‘जस्ट इनर्जी ट्रान्जिसन’ले समर्थन गर्छ, जसले स्वच्छ यातायात, नवीकरणीय ऊर्जा र सुधारिएको फोहोर व्यवस्थापनतर्फ लगानी निर्देशित गर्छ ।

पाठ यो हो कि प्रगतिका लागि राजनीतिक इच्छाशक्ति र अनुमानित वित्त दुवै आवश्यक पर्छ । घरेलु उपाय मात्र पर्याप्त छैनन् । अन्तर्राष्ट्रिय वित्तीय संस्था र विकास बैंकहरूले जलवायु र विकास पोर्टफोलियोभित्र स्वच्छ वायु उद्देश्य सम्मिलित गर्नुपर्छ । यस वर्षको जी–२० छलफलले पनि तथ्यांकको महत्वलाई जोड दियो । तपाईंले मापन गर्न नसक्ने कुरा व्यवस्थापन गर्न सक्नुहुन्न । कम आय भएका देशहरूमा भरपर्दो वायु गुणस्तर अनुगमन नेटवर्कहरू विस्तार गर्नु अन्तर्राष्ट्रिय समुदायले गर्न सक्ने सबैभन्दा स्मार्ट लगानीमध्ये एक हो । यसले स्थानीय निर्णयकर्तालाई सशक्त बनाउँछ, स्वच्छ प्रविधिमा नवीनतालाई समर्थन गर्छ र जवाफदेहितालाई मजबुत बनाउँछ । केप टाउनबाट सन्देश स्पष्ट छ : स्वच्छ हावा शीर्ष स्थानमा पर्छ । त्यो मान्यता अब मापनयोग्य परिणाम प्रदान गर्न दिगो प्रगतिसँग मेल खानुपर्छ । व्यवहारमा यसको अर्थ विकास वित्तको मुटुमा स्वच्छ वायु उद्देश्यहरू सम्मिलित गर्नु र पछाडि छोडिएका क्षेत्रहरूलाई प्राथमिकता दिनु हो (विशेष गरी प्रदूषण स्तर उच्च, तर कोष नगण्य भएको अफ्रिकाभर) ।

स्वच्छ हावा परिधीय मुद्दा होइन; यो जलवायु लक्ष्य, स्वास्थ्य लक्ष्य र दिगो विकास प्राप्त गर्न महत्वपूर्ण छ । विज्ञान स्पष्ट छ : मानव स्वास्थ्यलाई हानि पुर्याउने उही प्रदूषकले ग्रहलाई पनि तातो बनाउँछन् । तिनीहरूलाई एकसाथ सम्बोधन गर्नाले छिटो र अधिक लागत–प्रभावी परिणाम प्रदान गर्छ । त्यसैले हामी सरकार, विकास साझेदार र निजी क्षेत्रबिच सामूहिक प्रयासका लागि आह्वान गर्छौँ, ताकि विश्वव्यापी संक्रमणमा स्वच्छ हावा सफलताको केन्द्रीय मापन बनोस् । स्वच्छ हावा सास फेर्ने अधिकार विश्वव्यापी छ । यसलाई प्रदान गर्न निष्पक्षता, प्रतिबद्धता र महत्वाकांक्षासँग मेल खाने वित्त आवश्यक पर्छ ।

जर्ज गणतन्त्र दक्षिण अफ्रिकाका वन, मत्स्यपालन र वातावरणमन्त्री हुन्

–अलजजिराबाट
 

सुझावित समाचार