छठ पर्व सुरु : नदी, खोला, ताल र पोखरी बेहुलीझै सिँगारिए

शनिबार, ९ कार्तिक, २०८२
डिजिटल संस्करण

लोक आस्थाको महान पर्व छठ सुरु भएको छ। छठ पर्वको पहिलो दिन आज ‘नहाय खाय’ अर्थात् नुहाएर खाने दिनको रूपमा उत्साहपूर्वक मनाइँदै छ। जिल्लाभरका नदी, खोला, ताल र पोखरीहरू अहिले बेहुलीझै सिँगारिएका छन्। छठ पर्वलाई स्वागत गर्नका लागि स्थानीय युवादेखि वृद्धासम्म जुटेका छन्।

घाटहरूमा सरसफाइ गरी आकर्षक रूपमा सजावट गरिएको छ। रंगीन बत्ती, तोरण र विभिन्न सजावटी सामग्रीहरूले छठ घाटको दृश्य झनै मनमोहक बनेको छ।
चारदिनसम्म चल्ने यो पर्वमा पहिलो दिन नुहाएर पवित्र आहार ग्रहण गर्ने, दोस्रो दिन खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व सम्पन्न गर्ने परम्परा रहँदै आएको छ।

छठ पर्व सूर्य देव र छठी मइयाको आराधनासँग जोडिएको लोक आस्थाको पर्व हो। शुद्धता, आत्मसंयम र प्रकृतिप्रतिको श्रद्धाको प्रतीक मानिने यो पर्व विशेष गरी मधेश क्षेत्रका घरघरमा हर्षोल्लासका साथ मनाइँदै छ।

रौतहटका विभिन्न नदीना बागमती, चादी, लालबकैया, झाझ ,बराह ताललगायतका किनारमा भक्तजनको भिड बढ्न थालेको छ। स्थानीय प्रशासनले सुरक्षाका लागि प्रहरी परिचालन गरेको छ भने नगरपालिकाहरूले घाट क्षेत्रमा प्रकाश र सरसफाइको व्यवस्था मिलाएका छन्। छठ पर्वले धार्मिक आस्था मात्र होइन, सामाजिक एकता र संस्कृतिको संरक्षणमा पनि ठुलो योगदान पुर्याउने विश्वास गरिन्छ।

See More On

सुझावित समाचार