आफ्नै घर खरानी भए पनि जनताको छानो छाउँदै मुख्यमन्त्री बानियाँ

सोमबार, ४ कार्तिक, २०८२
डिजिटल संस्करण

हालैको जेन-जी आन्दोलनका क्रममा आफ्नै घर र व्यवसायमा आगजनीका कारण ठुलो क्षति बेहोरेका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनताका लागि गरेका वाचा भने निरन्तर पूरा गरिरहेका छन्।

गत २३ र २४ गते भएको आन्दोलनका क्रममा आन्दोलनकारीले मुख्यमन्त्री बानियाँको हेटौँडा–५, सानोपाखरास्थित निजी घर, पिप्लेमा रहेको ‘बानियाँ कन्स्ट्रक्सन’को कार्यालय र हेटौँडा–१९ मा रहेको रेडिमिक्स उद्योगलगायत सवारीसाधनहरूमा आगजनी गर्दा करोडौँको धनसम्पत्ति जलेर नष्ट भएको थियो।

तर, आफ्नै घर खरानी भए पनि मुख्यमन्त्री बानियाँले जनताको लागि गरेको प्रतिबद्धता पूरा गर्न भने चुकेका छैनन्। गत २० साउनमा मुख्यमन्त्री पदभार ग्रहण गरेलगत्तै उनले सरकारबाट प्राप्त हुने सेवासुविधाको रकम आफ्नै निर्वाचन क्षेत्रका गरिब र विपन्न परिवारको घर निर्माणमा खर्च गर्ने घोषणा गरेका थिए।

उक्त प्रतिबद्धताअनुसार बानियाँले पहिलो चरणमा मकवानपुरको मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाका एक–एक विपन्न परिवारका लागि घर निर्माण गर्ने योजना बनाएका थिए। सोही योजनाअनुसार उनले आइतबार मनहरी गाउँपालिका वडा नम्बर ९, ज्यामिरेकी एकल महिला मिठुमाया सुनारलाई भूकम्प प्रतिरोधी तीनकोठे घर हस्तान्तरण गरेका छन्।

मुख्यमन्त्री बानियाँले आफ्नो प्रतिबद्धताअनुसार अरू दुई घर पनि निर्माण गराइरहेका छन्। राक्सिराङ गाउँपालिका–१ का सुमनसिं चेपाङ र कैलाश गाउँपालिका–४ का लालकुमार प्रजा चेपाङ परिवारका लागि घर निर्माण अन्तिम चरणमा पुगेको उनको सचिवालयले जनाएको छ। दुवै घर निर्माणका लागि उनले गत १६ भदौमा दुई–दुई लाख रुपैयाँ पहिलो किस्ताबापतको रकमसमेत हस्तान्तरण गरिसकेका छन्।

यस्तै, मुख्यमन्त्री बानियाँले गत भदौ २० गते मकवानपुरको बकैया गाउँपालिका–५ का गरेका आगलागीपीडितको घर पुनर्निर्माणका लागि व्यक्तिगत रुपमा १ लाख रुपैयाँ सहयोग गरेका छन्। 
मुख्यमन्त्रीले आफ्नो सेवासुविधाको रकममा व्यक्तिगत रूपमा थप रकम खर्च गरेर घर निर्माण गरिदिएका हुन्। शाैचालय, धारा र बिजुलीसहित तयार गरिएको उक्त घर हस्तान्तरणसँगै मिठुमाया र उनका पाँच सन्तान अब आफ्नै छानामुनि बस्न पाउने भएका छन्।

घरको साँचो पाएपछि खुसी भएकी मिठुमायाले बेसहाराको पनि साहार हुन्छन भन्ने आफूलाई विश्वास लागेको बताइन्। ८ वर्षअघि श्रीमानको निधनपछि आफू विल्कुलै बेसहारा भएको उनको भनाइ छ। बनीबुतो गरेर जसोतसो दैनिकी चलिरहेको वेला ढल्नै लागेको जीर्ण घरको सट्टा नयाँ घर पाउँदा निकै खुसी भएको उनले सुनाइन्।
घर निर्माण समितिका संयोजक कांग्रेस मनहरीका सभापति प्रकाश बर्तौलाले सरकारी लागत स्टिमेटअनुसार ७ लाख लाग्ने अनुमान गरिएको उक्त घर निर्माण सम्पन्न गर्न ४ लाख ६५ हजार रुपैयाँमा खर्च भएको जानकारी दिए। स्थानीय सहयोग र सामग्रीमा सहुलियत पाएकाले सरकारी लागत अनुमानभन्दा किफायतीमा उक्त घर बनेको उनको भनाइ छ। मुख्यमन्त्री बानियाँले घर बनाइदिने घोषणा गरेपछि वडा र गाउँपालिकाको सिफारिसमा मिठुमायाको घर बनाइएको पनि बर्तौलाले बताए।
घर हस्तान्तरणका क्रममा मुख्यमन्त्री बानियाँले मिठुमायालाई जीविकोपार्जनका लागि बाख्रापालन गर्न नगद २० हजार रुपैयाँ पनि सहयोग गरे। ‘घर भएर मात्रै हुँदैन, छानासँगै नाना र खाना पनि चाहिन्छ, त्यसका लागि बाख्रापालनका लागि नगद सहयोग गरेको हुँ, उनले भने। मुख्यमन्त्री बानियाँले आफ्नो राजनीति मानवताको सेवामा आधारित भएको जनाउँदै बिपी कोइरालाले भनेजस्तै गरिबलाई न्याय र आय दिनु आफ्नो उद्देश्य रहेको बताए।

उनले बागमती प्रदेश सरकारले प्रदेशभर एक हजार विपन्न परिवारका लागि घर निर्माण गर्ने योजना बनाइरहेको जानकारी पनि दिए। ‘यदि ५ लाखको दरले एउटा घर बनाउने हो भने ५० करोडमा एक हजार घर बन्छ, हामी यो किन नगर्ने?’ उनले भने, ‘घर प्राप्त गर्ने परिवारलाई बाख्रा, कुखुरा, गाईभैँसीपालन वा तरकारीखेतीजस्ता आयमूलक व्यवसाय गर्न दुई लाख रुपैयाँसम्म किस्ताबन्दीमा उपलब्ध गराइनेछ।’

अवसरमा प्रदेशका गरिबी निवारण तथा सहकारीमन्त्री बिनु रायमाझीले मिठुमायालाई भान्साका सामान र खाद्यान्न सहयोग गरेकी थिइन्। उनले मुख्यमन्त्री बानियाँले गरेको ‘जनमुखी कार्य’मा सहभागी हुन पाउँदा खुसी लागेको बताइन्।

घर हस्तान्तरण कार्यक्रममा उपस्थित कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीलगायतले आफ्नो घर खरानी भएको पीडामा पनि जनताको घर उभ्याउन लागेका मुख्यमन्त्री बानियाँको कदमलाई ‘मानवताको राजनीति’ भन्दै प्रशंसा गरेका थिए।

सुझावित समाचार