दुई दशकपछि बोलिभियामा समाजवादी सरकारको अन्त्य

सोमबार, ४ कार्तिक, २०८२
डिजिटल संस्करण
  • दुई दशकदेखि सत्तामा रहेको समाजवादी पार्टीको ऐतिहासिक पराजयपछि मध्यपन्थी र दक्षिणपन्थी उम्मेदवारमध्ये एक चुनिँदै छन् बोलिभियामा

बोलिभियाको राष्ट्रपति चुनावमा लगभग दुई दशकमा पहिलोपटक मतपत्रमा कुनै पनि वामपन्थी उम्मेदवारको नाम हुने छैन । सन् २०२० को अघिल्लो चुनावपछि सत्तारुढ समाजवादी दल ‘मुभमेन्ट टुवाड्र्स सोसलिज्म (एमएएस)’ भित्र ठुलो मतभेद उत्पन्न भएर पार्टी नेताले नै एक–अर्कामाथि आक्रमण गरेपछि आजको अवस्था आएको हो ।

विवादबिच एमएएसका उम्मेदवार दोस्रो चरणको चुनावमा पुग्न असफल भए । योसँगै सन् २००६ देखि सत्तामा रहेको एमएएस सत्ताबाहिरै रहने निश्चित भयो । अब दोस्रो चरणको निर्वाचनले मध्यपन्थी र दक्षिणपन्थी उम्मेदवारमध्ये एकलाई चुन्नेछ । तथापि, यस निर्वाचनले पनि हालैका वर्षमा बोलिभियाली राजनीतिमा देखिँदै गएको ध्रुवीकरण र विभाजनलाई कम गर्ने सम्भावना छैन । अहिले देश गम्भीर आर्थिक संकटमा छ । त्यसले अशान्ति निम्त्याएको देखिन्छ । अब दोस्रो चरणको निर्वाचन जित्ने राष्ट्रपतिले ८ नोभेम्बरमा कार्यकाल सम्हाल्नेछन् । 

यसपटकको बोलिभियाको राष्ट्रपतीय चुनावको दोस्रो चरणमा पुगेका उमेद्वारको नामले नै यस देशमा बदलिएको राजनीतिको संकेत गर्छ । दोस्रो चरणमा गएका दुई उम्मेदवारमध्ये एक रोड्रिगो पाज सुरुवाती दिनमा भएको मतसर्वेक्षणमा १० प्रतिशतभन्दा कम लोकप्रिय देखिन्थे । तथापि, उनी १७ अगस्टमा सम्पन्न पहिलो चरणको मतदानमा आश्चर्यजनक विजेता भएर निस्किए । त्यसमा उनले खसेकोमध्ये ३२ प्रतिशतभन्दा बढी मत प्राप्त गरे ।

उनका प्रतिद्वन्द्वी जर्ज ‘टुटो’ क्विरोगा सन् २००१ अगस्टमा एक वर्षका लागि राष्ट्रपति चुनिएका थिए । उनी पहिलो चरणको निर्वाचनमा लगभग २७ प्रतिशत मतका साथ दोस्रो स्थानमा आए । बोलिभियामा कुनै उम्मेदवारले एकै चरणमा राष्ट्रपतीय निर्वाचन जित्न या त ५० प्रतिशत मत हासिल गर्नुपर्छ, या ४० प्रतिशत मत हासिल गरेको भए निकटतम प्रतिस्पर्धीभन्दा १० अंक बढी मत हासिल गरेको हुनुपर्छ । दुवै अवस्था नभए बढी मत ल्याउने दुईजना दोस्रो चरणमा प्रतिस्पर्धामा जान्छन् । 

सिनेटर रहिसकेका पाज राजनीतिक घरानाकै व्यक्ति हुन् । सन् १९८९ देखि चार वर्षका लागि राष्ट्रपति रहेका वामपन्थी पूर्वराष्ट्रपति जैमे जामोरा पाजका पिता हुन् । पिता वामपन्थी राजनीतिज्ञ भए पनि पाज भने आफ्नो करियरमा विभिन्न दलसँग आबद्ध रहँदै हाल मध्यपन्थी क्रिस्चियन डेमोक्रेटिक पार्टीका उम्मेदवार छन् । पाजले आफूलाई एक मध्यमार्गी आवाजका रूपमा प्रस्तुत गरेका छन् । उनले खुला बजार समर्थक नीतिलाई अँगाल्ने बताउँदै मितव्ययिताका उपायमा सावधानी अपनाउनेछन् । 

उनको चुनावी अभियानको नारा नै ‘सबैका लागि पुँजीवाद’ भन्ने छ । यसैबिच, उनका उपराष्ट्रपति उम्मेदवार मेट एडम्यान लारा पूर्वप्रहरी अधिकारी तथा इसाई अभियन्ता हुन् । लारा भ्रष्टाचारविरुद्ध चर्को अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा निकै लोकप्रिय छन् ।

उता, पहिलो चरणमा दोस्रो भएका पूर्वराष्ट्रपति जर्ज ‘टुटो’ क्विरोगा व्यापारी हुन् । उनले आफ्नो व्यापारिक करिअरको सुरुवात अमेरिकाको टेक्ससस्थित बहुराष्ट्रिय प्रविधि कम्पनी आइबिएमबाट सुरु गरेका थिए । पछि उनको रुचि राजनीतिमा सर्यो । यही क्रममा सन् १९९० को दशकमा उनी पाजका पिताको शासनमा बोलिभियाको अर्थमन्त्रीसमेत थिए ।

सन् १९९७ मा क्विरोगा सन् १९७० को दशकमा सैन्य तानाशाही शासनको नेतृत्व गरेका ह्युगो बान्जरको उपराष्ट्रपतिका रूपमा चुनावमा उठेका थिए । दुई जोडीले चुनाव जित्यो । तर, आफूलाई क्यान्सर भएको पत्ता लागेपछि बान्जरले राजीनामा दिए र संविधानअनुसार उपराष्ट्रपति रहेका क्विरोगाले बाँकी समय राष्ट्रपति पद सम्हाले । क्विरोगाले सन् २००५, २०१४ र २०२० मा राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गरेका थिए । तर, सबैमा उनी हारे । यसपटकको चुनावमा उनी दक्षिणपन्थी गठबन्धन ‘लिब्रे एलायन्स’को उम्मेदवार छन् । यस गठबन्धनले खुला बजारको कट्टर समर्थन गर्छ । क्विरोगाका उपराष्ट्रपतीय सहयात्री ३८ वर्षीय टेक उद्यमी हुँआँ पाब्लो भेलास्को छन् ।

सर्वेक्षणले क्विरोगा थोरै अगाडि देखिएका छन् । अनुसन्धान फर्म सिबी कन्सल्टोराले अक्टोबर १ देखि ६ सम्म गरेको सर्वेक्षणले पाजप्रति समर्थन ४२.५ प्रतिशत देखाएको छ भने क्विरोगाप्रतिको समर्थन ५६.७ प्रतिशत देखाएको छ । ७५ प्रतिशत उत्तरदाताले दोस्रो चरणमा मतदान गर्ने बताए पनि सिबी कन्सल्टोराले प्रतिरोध मतदान (मतपत्रहरू जानाजानी खाली छाड्ने वा बिगार्ने) संख्या बढ्ने अपेक्षा गरेको छ ।

तथापि, पहिलो चरणअघिको मतसर्वेक्षणले पाजले पाउन सक्ने विशाल मतको अनुमान गर्न नसकेकोप्रति विश्लेषक सशंकित छन् ।

अधिकांश बोलिभियालीका लागि अहिले गिर्दो अर्थतन्त्र र महँगी मुख्य चासोका विषय छन् । उच्च मुद्रास्फीति र इन्धनको अभावका साथै घट्दो विदेशी मुद्रा भण्डारले आमजीवनमै कठिनाइ निम्त्याएको छ । ‘मानिसहरू अहिले पेट्रोलका लागि घन्टौँ लाइनमा उभिनुपर्ने अवस्था छ,’ मानव अधिकारलाई प्रवद्र्धन गर्ने बोलिभियाली समूह ‘एन्डियन इन्फर्मेसन नेटवर्क’की निर्देशक क्याथरिन लेडेबरले भनिन्, ‘सामान ढुवानीका लागि अत्यावश्यक डिजेलको अवस्था झन् खराब छ ।’
‘अमेरिकाज सोसाइटी/काउन्सिल अफ द अमेरिकाज (एएससिओए)’ द्वारा संकलित सर्वेक्षणले देखाएअनुसार २४ प्रतिशत बोलिभियालीले यस चुनावमा गिर्दो अर्थतन्त्र सुधारलाई प्राथमिक चिन्ता बताएका छन् । अन्य १७ प्रतिशतले मूल्यवृद्धिलाई प्रमुख चिन्ताको विषय बताए भने इन्धनको अभावलाई १४ प्रतिशतले उल्लेख गरे ।

(ओसगुड श्रम, कानुनी न्याय र जलवायु संकटबारे रिपोर्टिङ गर्छन्) 
अल जजिराबाट

सुझावित समाचार