स्वास्थ्य कार्यालय कपिलवस्तुद्वारा कृष्णनगर नाकामा स्थापित हेल्थ डेस्कले साँघुरो कोठाबाट सेवा प्रवाह गर्दै आएको छ । हेल्थ डेस्कमा आउने सेवाग्राहीबिच सधैंजसो भिडभाड र ठेला ठेला हुन्छन् । तर सोहि पालिकामा करिब तीन वर्षअघि निर्माण गरिएको एक हजार बेड क्षमताको होल्डिङ्ग सेन्टर भने पूर्ण रुपमा प्रयोगविहीन अवस्थामा छ । कृष्णनगर नगरपालिका–२ भन्सार कार्यालयअघिको ६ वाई ८ फुटको साँघुरो कोठाबाट हेल्प डेस्कको सेवा दिँदा ५० मिटर दुरीमा रहेको ६ सय बेडको होल्डिङ सेन्टर प्रयोगविहीन छ ।
हेल्थ डेस्कमा अहिले आठजना स्वास्थ्य सेवा प्रवाह गर्ने कर्मचारी कार्यरत छन् । भारतबाट नेपाल फर्किएका नागरिकलाई निगरानीका लागि स्वास्थ्य कार्यालय कपिलवस्तुले दुईजना अहेव, एक अनमी, एक ल्याब असिस्टेन्ट, दुईजना कार्यालय सहयोगी खटाएको छ । त्यसैगरी नागार्जुन डेभ्लपमेन्ट कम्युनिटी र विराट नेपाल मेडिकल ट्रष्टका दुईजना कर्मचारी डेस्कमा कार्यरत छन् । भौतिक संरचना निकै साँघुरो भएकाले कर्मचारीकै लागि ठाउँ हुँदैन । कहिले काही हुलमा आउने सेवाग्राहीलाई सेवा प्रवाह गर्न निकै हम्मे हम्मे पर्ने गरेको डेस्कका कर्मचारीले गुनासो गरे । डेस्कमा पर्याप्त ठाउँ नहुँदा काम गर्न समस्या भइरहेको अहेव सन्दिप विश्वकर्माले गुनासो गरे । नगरपालिकाबाट राम्रो सहयोग भए पनि स्थान अभावमा समस्या भइरहेको उनीहरुको भनाइ छ ।
छेउमै रहेको होल्डिङ सेन्टरलाई आंशिक रुपमा मात्रै भए पनि हेल्थ डेस्का रुपमा प्रयोग गर्न सके सेवा प्रभावकारी हुने स्वास्थ्यकर्मीहरुको भनाइ छ । डेस्कमा कार्यरत अनमी प्रियंका चौधरीले उपयुक्त स्थान अभावमा सेवाग्राहीलाई परामर्श सेवा प्रदान गर्न समस्या पर्दै आएको गुनासो गरिन् । ‘एचआइभी संक्रमण शंकास्पद व्यक्तिको गोपनियता व्यवस्थापन गर्न तथा छट्टै कोठा नहुँदा परीक्षणका लागि सहमत गराउन समस्या पर्ने गरेको छ,’ उनले भनिन् । डेस्क बिहान ६ बजेदेखि राति १० बजेसम्म खुला रहन्छ । यसपश्चात स्क्रिनिङ गरी रजिष्टरमा नाम चढाइने गरिएको छ ।
परामर्शपछि एचआइभी संक्रमण, मलेरिया, कोभिड र क्षयरोग संक्रमण बारे खकारको नमूना लिएर परीक्षण गर्ने गरिएको छ । डेस्कमा आर्थिक वर्ष ०८१/८२ को अवधिमा ४७ हजार ९८० को स्क्रिनिङ गरिएको तथ्यांक छ । सो क्रममा १८ जनाको कोभिड परीक्षण गर्दा दुईजनामा संक्रमण, २०८ जनाको मलेरिया परिक्षणका क्रममा तीनजनामा संक्रमण, ३७८ जनाको एचआइभी परिक्षणका क्रममा एकजनामा संक्रमण र २४४ जनाको क्षयरोगको खकार परिक्षणका क्रममा एकजनामा संक्रमण देखिएको थियो ।
यसैगरी, चालु आवको साउनमा तीन हजार ६ सय २५ जनाको स्क्रिनिङ गरिएको छ । सो क्रममा ४३ जनाको मलेरिया परीक्षणको क्रममा एकजनामा संक्रमण, २७ जनाको कोभिड परीक्षणका क्रममा दुईजनामा संक्रमण, ९५ जनाको खकार परीक्षण गर्दा एकजनामा क्षयरोग संक्रमण र २१८ जनाको एचआइभी परीक्षणमा कोही पनि संक्रमित नभेटिएको डेस्कको तथ्यांक रहेको छ ।
यसकारण होल्डिङ सेन्टर रित्तै
सरकारले भारतसँग जोडिएका नाकामा होल्डिङ स्टेशन निर्माण गरे पनि सञ्चालनमा आउन सकेको छैन । भारतबाट नेपाल भित्रिएका नेपालीलाई प्रवेश विन्दुमै राखेर पिसिआर र एन्टिजेट परीक्षणको लागि तथा संकलितहरू सुरक्षित राख्न एक हजार जना अट्ने होल्डिङ स्टेशन निर्माण भएका छन् ।
५ वैशाख ०७८ को मन्त्रिपरिषद्को बैठकले आठवटा नाकामा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको थियो । झापाको काकरभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुना, कैलालीको गैरीफन्टा र कन्चनपुरको गड्डाचौकीमा निर्माण भएका छन् ।
कपिलबस्तुको भारत सीमा नाका कृष्णनगर नाकामा बनाएकोे होल्डिङ स्टेशन नेपाली सेनाको हेडक्वाटरबाट लगाको ठेक्कामा हनुमान कन्स्ट्रक्सन ललितपुरबाट २७ करोड ६७ लाख ८२ हजार ५ सय ३५ रुपैयाँ १४ पैसामा बनेको हो । यो कृष्णनगर नगरपालिका–१ को भन्सार नाका नजिक ६०० बेड र सो वडाको शिवानगरमा ४०० बेड क्षमताको स्टेसन निर्माण गरिएको छ ।
होल्डिङ स्टेशन निर्माणको काम पूरा भए पनि कसले सञ्चालन गर्ने भन्ने स्पष्ट नहुँदा सञ्चालनमा आउन नसकेको बताएको छ । निर्माण सम्पन्न भएको वर्षाै बिते पनि हालसम्म सञ्चालन नहुँदा सीमा नाका नजिकै एक भन्सारको कोठामा स्वास्थ्य जाँच भइरहेको छ । कृष्णनगरमा भारतबाट नेपाल प्रवेश गर्दा साथ सीमामा नै भन्सार गेट नजिकै ६ सय बेडको होल्डिङ सेन्टर छ । तर उक्त सेन्टरमा हालसम्म सन्चालन नहुँदा कसैले पनि स्वास्थय सेवा लिन पाएका छैनन् ।
होल्डिङ स्टेशन निर्माण भए पनि सञ्चालनको लागि केन्द्रले परिपत्र नगरेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ्गले बताए । होल्डिङ्ग सेन्टर प्रयोग गर्न दिने विषयमा सबैपक्ष सकारात्मक रहे पनि सेन्टर व्यवस्थापनको नीतिगत निर्णय अभावमा सञ्चालन गर्न नसकिएको तामाङ्गले बताए ।
कृष्णनगर सिमामा सञ्चालनमा रहेको हेल्थ डेस्क साँघुरो कोठामा सञ्चालनमा रहेको अवस्थामा संवेदशिल स्वास्थ्य सेवा प्रवाहलाई मध्यनजर गरी डेस्कका लागि होल्डिङ्ग सेन्टर प्रयोगको अनुमति दिन आवश्यक रहेको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाह बताउँछन् ।