जेन–जीको बलिदानलाई सार्थक बनाउने गरी हामी निर्वाचनमा जान्छौँ : वर्षमान पुन

शनिबार, २ कार्तिक, २०८२
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य वर्षमान पुन अनन्तले मुलुक जेन–जी आन्दोलनको भावनाअनुसार चल्नुपर्ने बताएका छन् । 

तिहार, नेपाल संवत् र छठलगायत चाडपर्वको अवसर पारेर पार्टीनिकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार मुख्यालय कोटेश्वर पेरिसडाँडामा गरेको कार्यक्रममा पुनले जेन–जी आन्दोलनकारीले अघि सारेका सुशासनसहित कैयौँ एजेन्डा र आफ्नो दलको एजेन्डामा समानता रहेको बताए । 

जेन–जीलाई भर्चुअल र डिजिटल दुनियाँमा हुर्किँदै गरेका छोराछोरी र नातिनातिनाभन्दा फरक रूपमा बुझ्न नहुने उनको भनाइ थियो । ‘कोही भ्रममा पर्नुपर्दैन, जेन–जी डिजिटल प्लाटफर्मसँगै भर्चुअल दुनियाँमा हुर्किराखेका १३ देखि २८ वर्ष उमेरको नयाँ पुस्ता हो,’ पुनले भने, उनीहरू कोही नभएर हाम्रै छोराछोरी र नातिनातिनाहरू हुन् । उनीहरू स्मार्ट छन् र क्षमतावान् छन् । उनीहरूसँगै संसारभरिका सूचना छन् ।’ 

पुनले सहरी क्षेत्रमा एउटै घरको माथिल्लो र तल्लो तलामा बस्नेहरूबिच चिनाजान नहुने अवस्था भए पनि जेन–जीहरू भर्चुअल माध्यमबाट विश्वभरका मानिससँग सूचना र संवादमा रहेको बताए । ‘जेन–जी पुस्ता भर्चुअल माध्यमबाट विश्वभरिका मानिसहरूसँग गेम खेल्छ, सूचना, ज्ञान र कतिपय सन्दर्भमा नेपालमा बसेर युरोप, अमेरिका, जापान, कोरिया,  भारत र चीनमा व्यापार गरिराखेको छ । त्यहाँ उसका सम्बन्धहरू छन्  । नेपालमै बसेर बाहिर जागिर गरिराखेको छ ।’ 

पुनले जेन–जी आन्दोलन मुलुकको वर्तमानको यथार्थता भएकाले उक्त चाहनाको सम्बोधन गरेर मात्र अगाडि बढ्न सकिने स्पष्ट गरे । 

पुनले लोकतन्त्रलाई अझै पारदर्शी, प्रभावकारी र परिष्कृत गर्न चाहने जेन–जी समूहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताए । यद्यपि, बलिदानबाट प्राप्त संविधान मास्न चाहने प्रवृत्ति सह्य नहुने चेतावनी दिए । उनले विगतमा आफूहरूले क्रान्ति र मुलुक परिवर्तनका लागि जीवन हत्कोलामा राखेर लडेको भन्दै मुलुकलाई पछि फर्काउने कोसिस भए फेरि लड्न तयार रहेको चेतावनी दिए । 

‘नेपाली जनता मात्र होइन, आज विश्वभर जेन–जी आन्दोलनका तरंगहरू छन् । यसलाई क्रान्तिकारीहरूले अझ क्रान्तिकारीहरूले उत्पीडितको आकांक्षा र भावनासँग जोडेर लान चाहन्छन् र अर्काथरी मान्छे आजको परिवर्तनलाई पछि उल्टाएर पछि फर्काउन चाहन्छन्,’ पुनले भने । 
उनले आफू र संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन–जीका विभिन्न समूहसँग संवाद गरिरहेको पनि खुलाए । 

२३ भदौको शान्तिपूर्ण जेन–जी प्रदर्शनमा गोली हानेर निहत्था विद्यार्थीको हत्या गर्नेहरूलाई केही नगर्ने, तर आन्दोलनमा नैतिक समर्थन जनाएको आफ्नो दलका नेता तथा कार्यकर्तालाई लक्षित गरी निरुत्साहित गर्न खोजिएको भन्दै आपत्ति जनाए । ‘सरकारलाई फेरि भन्न चाहन्छौँ, आजको परिवर्तनलाई आत्मसात् गर्ने दल भनेको हामी मात्र हौँ । हामी  आफ्नो एजेन्डा लिएर निर्वाचनमा होमिन्छौँ । जेन–जीका त्याग, बलिदान,  समर्पण र एजेन्डा बोकेर आफूलाई रूपान्तरण गर्न जनमतमा जान्छौँ भन्ने पार्टीलाई वेलावेला तर्साउने र वेलावेला लक्षित गर्ने खालको कोसिस भएको छ,’ पुनले भने, ‘हाम्रा नेता–कार्यकर्तालाई तर्साउने खालको जो कोसिस भएको छ यो कुन प्रकारको प्रवृत्ति हो ? प्रधानमन्त्रीजीसँग कुरा गर्दा त्यसो देखिँदैन । गृहमन्त्रीसँग कुरा गर्दा त्यसो देखिँदैन । तर, कुनचाहिँ स्वार्थ समूहले यो गरिरोखको छ ?  हामी यही मञ्चबाट पार्टीका तर्फबाट खबरदारी गर्न चाहन्छौँ ।  हामी निर्वाचनमा जान्छौँ, एजेन्डासहित जेन–जीका बलिदानलाई सार्थक बनाउने गरी जान्छौँ । तर, हामीलाई टार्गेट गर्ने काम रोकियोस् । २३ गते दर्जनौँको हत्या गर्नेलाई केही नगर्ने ? सत्तामा बसेर हालीमुहाली गर्ने बिचौलियाहरूलाई केही नगर्ने ? अनि प्रचण्डतिर तेर्स्याउन खोज्ने ? यसप्रकारका बेठिक प्रवृत्ति हामी स्वीकार गर्दैनौँ ।’ उनले प्रधानमन्त्री भएका वेला प्रचण्ड स्वयंले आफ्नो दलका नेता–कार्यकर्ता भ्रष्टाचारजन्य गतिविधिमा संलग्न रहेको पाइए अनुसन्धान गर्न राज्यका निकायहरूलाई निर्देशन दिएको नबिर्सन भने । ‘भ्रष्टाचार, अनियतिमता र राज्य दोहनमा हाम्रा सबै नेता–कार्यकर्ता परीक्षणमा उत्रिन तयार छौँ भनेका छौँ । यो कुरा कुनै पार्टीले भनेको छैन । आज सत्तामा भएका साथीहरू पनि परीक्षित हुन् । सम्माननीय प्रधानमन्त्री प्रधानन्यायधीश भइसेकको मान्छे हो । अर्थमन्त्री, ऊर्जामन्त्री र अरू साथीहरू सबै परीक्षित हुन् । हामी पनि परीक्षित हौँ,’ पुनले भने । 

प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेरै आफूहरूले  चुनावका लागि प्रतिबद्ध रहेको, तर देशको स्वाधीनता तथा जनताको अधिकार यताउता हुन र हेपिन तयार नरहेको बताएको पुनले स्पष्ट गरे । ‘हामी सबै शक्तिलाई भन्न चाहन्छौँ, माओवादी शान्ति चाहन्छ । माओवादी प्रगति चाहन्छ । माओवादी आजको स्थितिभन्दा अगाडि बढ्न चाहन्छ । तर, सकैसँग हेपिन चाहँदैन । हामी दृढतापूर्वक उभिन्छौँ । उभिने हाम्रो प्रतिबद्धता हो । हिजो दुनियाँभरिका शक्तिहरूसँग पनि नडराएका हौँ,’ उनले भने । 

पुनले २४ भदौको विध्वंस र आगजनीमा संलग्नमाथि छानबिन गरी कारबाही हुनुपर्नेमा जोड दिए । ‘अघिल्लो दिन सुशासनको एजेन्डासहित भएको आन्दोलन असाध्यै राम्रो हो । २४ गते घुसपैठ गरेर तोडफोड र आगजनी गरिएका छन् । अपराध भएको छ,’ उनले भने, ‘त्यसको छानबिन हुनुपर्छ । आगामी दिनमा त्यसप्रकारका अपराध रोक्न पनि त्यसप्रकारका अपराध गर्न घूसपैठ गर्नेहरूलाई दण्डित गर्नुपर्छ ।’ 

फरक प्रसंगमा पुनले लोकतन्त्रको स्थायित्व र राष्ट्रिय स्वाधीनताका लागि मुलुकका सबै पक्षबिचको सहकार्यमा जोड दिए ।
 

सुझावित समाचार