जेन–जी आन्दोलनको विध्वंस रोक्ने विषयको भूमिकामाथि प्रश्न उठिरहेका वेला नेपाली सेनाले परिस्थिति सहज बनाउन सक्रिय भएको भन्दै आफ्नो कदमको प्रतिरक्षा गरेको छ । आन्दोलनको पाँच सातापछि पत्रकार सम्मेलन गर्दै सेनाले तत्कालीन अवस्था, आफ्नो भूमिका र क्षतिको विवरण जानकारी गराएको हो ।
शुक्रबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा सेनाको युद्धकार्य विभाग प्रमुख उपरथी अनुपजंग थापा र युद्धकार्य निर्देशक सहायक रथी मनोज थापाले विषयवस्तुको ‘बिफ्रिङ’ गरेका हुन् । सेनाले सम्भावित सुरक्षा चुनौतीप्रति नजर राखिरहेको र तोकिएकै समयमै प्रतिनिधिसभा निर्वाचन गराउन सक्षम रहेको स्पष्ट पारेको छ ।
सेनाको युद्धकार्य विभाग प्रमुख थापाले जेन–जी आन्दोलनका वेला परिस्थिति सहज बनाउन सेना सक्रिय भएको बताए । ‘नेपाली सेनाले राजनीति गर्दैन । तत्कालीन समयमा शान्ति सुरक्षा र अमनचैन कायम गर्न त्यसवेला सेनाले वस्तुगत ढंगले परिस्थितिको मूल्यांकन गरी आवश्यक पहल लिइएको मात्र हो । यसको परिणामबाटै सेनाको कस्तो खालको नियत थियो भन्ने आकलन गर्न सकिन्छ,’ उपरथी थापाले भने ।
सेनाले आन्दोलनका वेला परिस्थिति थप जोखिमपूर्ण हुन नदिने उत्तम विकल्पमा काम गरेको उपरथी थापाले बताए । उनले विश्वका विभिन्न ठाउँमा सेनाले सत्ता आफ्नै हातमा लिएको संकेत गर्दै नेपाली सेनाले त्यस्तो विकल्प नखोजेको जनाउ दिए । ‘एकछिनलाई मूल्यांकन गरौँ, भदौ २४ को राति सेनाले स्थिति साम्य पार्ने प्रयास नगरेको भए अथवा विश्वका विभिन्न ठाउँमा देखिएका अन्य मोडेलअनुसार अघि बढेको भए के हुन सक्थ्यो ?’ उपरथी थापाले भने, ‘शान्तिपूर्ण निकास र अराजक वातावरणको न्यूनीकरणका लागि सबै पक्षसँग वार्ता गर्न अपरिहार्य थियो । त्यसवेला राजनीतिक दलहरूसँग छलफल गर्न कोही पनि जान सक्ने अवस्था थिएन । यो परिस्थितिमा छलफलको टेबुलमा ल्याई परिस्थिति थप जोखिमपूर्ण हुन नदिने नै उत्तम विकल्प भएको सेनाको निर्क्योलथियो ।’
उपरथी थापाले चुनावका लागि परिस्थिति चुनौतीपूर्ण रहेको, तर त्यसको सामना गर्न सेना तयार रहेको बताए । ‘कुनै पनि सम्भावित चुनौती सामना गर्न सेना तयार छ । लुटिएका हतियार, फरार कैदीहरूको सम्भावित सम्मिश्रणबाट समाजमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई सेनाले गम्भीरतापूर्वक लिएको छ,’ उनले भने ।
युद्धकार्य विभागका अनुसार २३ र २४ भदौमा देशका चार सय ८४ स्थानमा आन्दोलन भएका थिए । उपरथी थापाले त्यसवेला सेनाको प्राथामिकताबारे भने, ‘यथाशीघ्र शान्ति सुरक्षा र अमनचैन कायम गर्ने, स्थिति भयावह हुन नदिने, जोखिममा रहेका भिआइपी तथा आश्रित परिवारको जीवनरक्षा उद्देश्य थियो ।’
सैनिक अधिकारीले २४ भदौमा एकै रातमा शान्ति सुव्यवस्था र अमनचैन कायम गरिएको जिकिर गरे । सेना २४ भदौ राति १० बजेदेखि परिचालन भएको थियो । सेनाका अनुसार जेन–जी आन्दोलनदेखि २८ भदौसम्म काठमाडौं उपत्यकाभित्र ६ हजारभन्दा बढी तथा बाहिर १८ हजार सैनिक परिचालित थिए ।
सैनिक अधिकारीहरूले विशेष परिस्थितिमा चुनाव हुन लागेको, तर यो चुनौतीपूर्ण रहेको बताए । ‘परिस्थिति निर्माण गर्ने हामी सबैको जिम्मेवारी हो,’ थापाले भने, ‘गृह मन्त्रालयको एउटा सुरक्षा समिति बिहीबारदेखि नै सक्रिय भइसकेको छ । त्यसमा हामी सबै सुरक्षा निकाय छौँ । निर्वाचन सुरक्षा योजना कार्यान्वयनको प्रक्रिया तत्कालै सुरु हुँदै छ । शान्ति सुरक्षाको स्थिति बन्दै छ । हामी चुनाव गराउन सक्षम हुनेछौँ ।’
जेन–जी आन्दोलनमा २२ जना आन्दोलनकारीको मृत्यु
सेनाले जेन–जी आन्दोलनका क्रममा गोली लागेर २२ जना प्रदर्शनकारीको मृत्यु भएको जानकारी दिएको छ । आन्दोलनमा कुल ७६ जनाको मृत्यु भएकोमा बाँकी ५४ जनामध्ये तीनजना प्रहरी, १० जना कैदीबन्दी र ४१ जना अन्य व्यक्ति रहेको सेनाले जनाएको छ ।
‘भदौ २३ गते गोली लागेर घाइते भएकाहरूमध्ये २२ जना प्रदर्शनकारीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । बाँकी मृत्यु भोलिपल्ट भएको हो । जसअनुसार तीन प्रहरी, १० कैदी र अन्य ४१ जनाको मृत्यु भएको हो,’ सेनाको युद्धकार्य निर्देशक मनोज थापाले भने । यीमध्ये ११ जनाको शव अझै शिक्षण अस्पतालमा रहेको थापाले बताए । उनीहरूको सनाखत हुन बाँकी छ ।
सेनाको तथ्यांकअनुसार १५ हजार पाँच सय ८८ जना कैदीबन्दी फरार भएकामा आठ हजार सात सय ९९ जना फिर्ता भएका छन् । सुरक्षा निकायका नौ सय ७८ नाल हतियारमध्ये पाँच सय ८६ मात्रै फिर्ता भएका छन् । उपत्यकाभित्र सेनाले प्राप्त गरेका हतियारमध्ये दुई सय ७४ नाल नेपाल प्रहरीलाई र १२ नाल सशस्त्रलाई बुझाइसकिएको, उपत्यकाबाहिरबाट ७९ थान हतियार प्रहरीलाई बुझाइएको तथा थप ६५ थान हतियार बुझाउने प्रक्रियामा रहेको सेनाले जनाएको छ ।
आन्दोलनका वेला सेनाले काठमाडौं उपत्यकाभित्र पाँच स्थान र उपत्यकाबाहिर ५७ गरी जम्मा ६२ कारागार तथा संरचनामा फौज खटाएकामा अहिले ४१ स्थानबाट सेना फिर्ता भएको जनाएको छ । अब २१ स्थानमा सेना तैनाथ छ । सेनाले २४ भदौको साँझ पशुपतिनाथ मन्दिरबाट प्रदर्शनकारी हटाएर ४९ लाख ५२ हजार नगद, तीन केजी सुनजस्तो देखिने पहेँलो धातु बरामद गरेको जनाएको छ ।
सेनाका अनुसार आन्दोलनका क्रममा ६ सय ८८ सरकारी कार्यालयलगायत भौतिक संरचनामा क्षति पुगेको छ । महत्वपूर्ण सरकारी संरचना जोगाउन नसकेको विषयमा युद्धकार्य निर्देशक थापाले भने, ‘सिंहदरबारको मुख्य भवनमा आगजनी भए पनि सेनाको तैनाथी र पहलबाट सिंहदरबारमा रहेका रणनीतिक महत्वका कागजात जोगिएका छन् । राष्ट्रिय सुरक्षा परिषद्, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयको एलएमबिआइएससहितको डेटा सेन्टर जोगाएका छौँ ।’ उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्ने उद्देश्यका साथ दुई हजारजना प्रदर्शनकारी पुगे पनि उनीहरू भित्र पस्न सकेनन् ।