जिल्ला प्रहरी कार्यालय बाराले ७०औँ प्रहरी दिवसको अवसरमा आयोजना गरेको विशेष समारोहमा नयाँ पत्रिका दैनिकका बारा संवाददाता इन्दीप कोइराला सम्मानित भएका छन्।
अपराध नियन्त्रण, अनुसन्धान र समाजमा शान्ति–सुरक्षा कायम गर्न पत्रकारिताको माध्यमबाट आमनागरिकलाई सुसूचित गराउने कार्यमा पुर्याएको योगदानको कदरस्वरूप कोइरालालाई सम्मान गरिएको हो।
शुक्रबार जिल्ला प्रहरी कार्यालय बाराको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले पत्रकार कोइरालालाई कदरपत्र र दोसल्लासहित सम्मान गरे। प्रमुख अतिथिले प्रहरीको मूल जिम्मेवारीलाई सशक्त बनाउन सञ्चारकर्मीहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै प्रहरी र प्रेसबिचको सहकार्यले समाजमा शान्ति र सुरक्षाको वातावरण सुदृढ हुने बताए।
कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले गरेका थिए। उनले प्रहरी दिवस केवल प्रहरीहरूको मात्र उत्सव नभई नागरिक, सञ्चारकर्मी र समुदायबिचको साझा सम्बन्ध र सहकार्यको प्रतीक भएको बताए।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, श्री रिपुमर्दन गण ब्रह्मपुरी ब्यारेकका प्रमुख सेनानी अशोककुमार क्षेत्री, सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसी, नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबुप्रसाद यादव, प्रहरी निरीक्षकहरू, प्रहरी कर्मचारी, सहिद परिवारका प्रतिनिधि र स्थानीय सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति थियो।
कार्यक्रममा सहिद प्रहरी परिवारका सदस्यहरूलाई समेत सम्मान गरिएको थियो।