पूर्वजनमुक्ति सेनाको मधेश प्रदेश कमिटी गठन

शुक्रबार, १ कार्तिक, २०८२
डिजिटल संस्करण

सर्लाहीमा सम्पन्न भेलाबाट पूर्वजनमुक्ति सेना नेपालको मधेश प्रदेश कमिटी गठन भएको छ। बिहीबार मधेश प्रदेशकै पर्यटकीय गन्तव्य बागमती नगरपालिका– ४, भरततालपरिसरमा संघको भेला तथा अन्तर्क्रिया सम्पन्न भएको हो। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का मधेश प्रदेश इन्चार्ज मातृकाप्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले पूर्वजनमुक्ति सेना अरुणकुमार साह (अनिल)को अध्यक्षतामा ३७ सदस्य मधेश प्रदेश कमिटी गठन गरेको हो । 

समितिको सहसंयोजकमा राजेन्द्रप्रसाद सिंह (रक्की)लाई चयन गरेको पूर्वजनमुक्ति सेना संघ नेपालका सर्लाही अध्यक्ष टंकबहादुर बोहरा (शीतल)ले जानकारी दिए। भेलाले अन्यलाई सदस्यमा चयन गरेको छ । सम्पन्न भेलाले पूर्वजनमुक्ति सेना संघ नेपालको मधेश प्रदेश अन्तर्गतका आठवटा जिल्ला इन्चार्जसमेत तोकेको छ। प्रदेशभरिबाट उपस्थित पूर्वजनमुक्ति सेनाहरूले आ–आफ्नो जिल्लाको वस्तुस्थितिबारे जानकारीसमेत गराएका थिए।

पार्टीका केन्द्रीय आयोजक समिति सदस्य तथा पूर्वजनमुक्ति सेना नेपालका ब्रिगेडियर कमिसार जोगकुमार बर्बरिया यादव (जीवन)को अध्यक्षतामा भेला तथा अन्तर्क्रिया कार्यक्रमा सम्पन्न गरिएको हो। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय आयोजक समिति सदस्य तथा बारा जिल्ला इन्चार्ज पूर्वजनमुक्ति सेना नेपालका बटालियन कमिसार क्षेत्रबहादुर श्रेष्ठ (अनिल)ले भेला तथा अन्तर्क्रियाबारे सहभागीहरूलाई औचित्य प्रस्ट्याएका हुन्। 

श्रेष्ठले अहिलेको विषम परिस्थितिलाई ध्यान दिँदै पूर्वजनमुक्ति सेनाहरू चनाखो हुनुपर्नेमा जोड दिए । यसैबिच कार्यक्रमका प्रमुख अतिथि तथा पार्टीका मधेश प्रदेश इन्चार्ज यादवले १० वर्षे जनयुद्धको क्रममा सहादत प्राप्त सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले सम्पूर्ण घाइते योद्धाहरूप्रति उच्च सम्मानसमेत प्रकट गर्दै सहिद परिवारप्रति समवेदना व्यक्त गरेका हुन्। हालको विषम परिस्थितिको विश्लेषणसहित जनमुक्ति सेनाको योगदान र बलिदानको विषयमा उनले खुलेर चर्चासमेत गरे । 

१० वर्षे जनयुद्ध तथा जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संरक्षण गरी अघि बढ्नुपर्ने कुरा भेलामा प्रस्ट पार्दै यसलाई नामेट गर्न विभिन्न शक्ति लागिपरेका बताए। कार्यक्रमका अन्य वक्ताहरूले समेत देशका पछिल्ला घटना र परिघटनाले ठुला उपलब्धि र गहिरो इतिहासमाथि धावा बोलेको जिकिरसमेत गरे । 
 

सुझावित समाचार