उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले माघभित्र सक्ने गरी ३९ कार्ययोजना सार्वजनिक गरेका छन् । औद्योगिक तथा उद्यमशीलता विकास, व्यापार प्रवर्द्धन र उपभोग्य वस्तुको सहज आपूर्ति तथा प्रभावकारी अनुगमन प्रणाली समेटेर उनले कार्ययोजना ल्याएका हुन् ।
औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी प्रवर्द्धन गर्न कम्पनी विधेयक, ०८२ को मस्यौदा तयार गर्ने उनको प्रमुख कार्ययोजना छ । उनले आठवटा नयाँ कानुन बनाउने कार्ययोजनामा उल्लेख गरेका छन् । त्यस्तै, विगतदेखि नै प्रदान गर्दै आएको तीन प्रतिशत ब्याजदरमा आधारित स्टार्टअप कर्जा वितरणको काम पुस मसान्तभित्रै सक्ने मन्त्री सिन्हाको योजना छ ।
विशेष आर्थिक क्षेत्रमा उद्योगलाई आकर्षण गर्न प्रतिवर्गमिटर प्रतिमहिना २० रुपैयाँ रहेको बहाल शुल्क घटाई पाँच रुपैयाँ कायम गर्ने पनि निर्णय गरेका छन् । व्यापार प्रवर्द्धनका लागि नयाँ नीति बनाएर कार्यान्वयन गर्ने, बंगलादेशका लागि व्यापार सम्झौता गर्न वार्ता गर्ने, भारतसँगको दिपक्षीय पारवहन व्यवस्थापन सुधारका लागि पहल गर्नेलगायतका कार्ययोजना छन् ।