संयुक्त अधिराज्यमा विगत १० वर्षमा रेलमा यौन दुर्व्यवहार र उत्पीडनका घटना एकतिहाइभन्दा बढीले बढेका छन् । गत वर्ष इंग्ल्यान्ड, स्कटल्यान्ड र वेल्सभर दुर्व्यवहार र उत्पीडनका दुई हजार ६६१ घटना रिपोर्ट गरिएका थिए, (जहाँ १० मध्ये एक बालबालिका थिए) । दुर्व्यवहारको सामना गर्नेमध्ये केही १३ वर्षभन्दा कम उमेरका थिए । अध्ययनमा सहभागी रियानन विलियम्सले यस वर्षको सुरुमा आफूमाथि रेलमा यौन दुर्व्यवहार भएको बताइन् । दुर्व्यवहार सम्झिँदै उनले भनिन्, ‘रेलभित्र चढेपछि तपाईं कतै जान सक्नुहुन्न, तपाईं भाग्न सक्नुहुन्न । म रेलभित्रै बसेर दुर्व्यवहार सहन बाध्य भएँ ।’
ब्रिटिस ट्रान्सपोर्ट प्रहरीले दुर्व्यवहारका घटनामा भएका वृद्धिलाई ‘चिन्ताको विषय’ भनेको छ । हरेक आरोपलाई ‘गम्भीरतापूर्वक’ लिने उसले बताएको छ भने रेल कम्पनीको प्रतिनिधित्व गर्ने सञ्चालकको समूहले ‘यौन उत्पीडनप्रति शून्य सहनशीलता’ अपनाउने बताएको छ । बिबिसीले संकलन गरेको तथ्यांकले २०१५ देखि इंग्यान्ड, स्कटल्यान्ड र वेल्सभर यौन अपराधको रिपोर्टमा ३७ प्रतिशतले वृद्धि भएको पाइएको छ ।
पेम्ब्रोकसायरस्थित टेन्बीको समुद्री किनारको रिसोर्टमा साथीहरूसँग एक दिन बिताएपछि पश्चिम वेल्समा घर जाँदै गर्दा यसै वर्षको गर्मी मौसममा मदिराले मातेका पुरुषहरूको एक समूहले रेलमा यौन दुर्व्यवहार गरेको रियाननले बताइन् । ‘यो असहज र डरलाग्दो थियो,’ १८ वर्षीया ती किशोरीले बिबिसीलाई भनिन् ।
एक प्रत्यक्षदर्शीले ब्रिटिस यातायात प्रहरीलाई उत्पीडनबारे रिपोर्ट गरे र अधिकारीहरूले अझै पनि अगस्टमा भएको उक्त घटनाको अनुसन्धान गरिरहेका छन् । ‘यस्ता घटनामा वृद्धि हुनुको कारण परिस्थितिहरूको सामान्यीकरण र महिलाहरूले सहनुपर्ने स्थितिले हो,’ लानेलीकी रियाननले थपिन्, ‘पछिल्ला घटनाक्रमले महिलालाई अत्यन्तै डरलाग्दो र असहज महसुस गराउँछ ।’
कतिपयले सामाजिक कलंकका कारण पनि प्रहरीमा रिपोर्ट नगर्ने प्रवृत्ति छ । लन्डन वाटरलुबाट रेलमा यात्रा गर्दा आफ्नो छेउमा बसेका एक पुरुषले यौन दुर्व्यवहार गरेको म्याडी वाक्ताले बताइन् । ‘यो व्यस्त रेल थियो, तर उसले आवश्यकभन्दा बढी ठाउँ ओगटेको थियो,’ ३० वर्षीया ती युवतीले दुर्व्यवहारको अनुभव सुनाउँदै भनिन्, ‘उसको शरीरले ममाथि आक्रमण गरिरहेको थियो, जसले गर्दा मलाई असहज महसुस भइरहेको थियो । गर्मी मौसमका कारण मैले पातलो लुगा लगएकी थिएँ । उसले मेरो तिघ्राको छेउमा आफ्नो हात दौडायो । उसका हात सलबलाइरहे,’ उनले थपिन्, ‘म जबर्जस्ती उठेँ र उसलाई हेरेँ । म स्तब्ध भएँ । आफैँमाथि विश्वास लागेको थिएन । मलाई विश्वासै लागेन कि यो घटना मलाई भएको थियो,’ उनले अगाडि भनिन्, ‘उक्त घटनाले मलाई समाजमा दुर्व्यवहारलाई कति सामान्यीकृत बनाइएको छ भन्ने महसुस गरायो । तिनीहरूको अपराध झन् खराब हुन सक्छ । मैले यो रिपोर्ट गर्नुपर्थ्यो ।’
विगत १० वर्षमा रेलहरूमा भएका यौन अपराधका २२ हजार एक सय रिपोर्टमध्ये आधा घटनामा जासुसहरूले संदिग्ध व्यक्तिलाई पहिचान गर्न सकेनन् । बेलायत सरकारले ‘अपराधीलाई छिटो पहिचान गरी न्यायको कठघरामा ल्याउन’ मद्दत गर्न स्टेसन सिसिटिभीमा ब्रिटिस यातायात प्रहरीको पहुँच सुधार गर्न १७ मिलियन युरो दिने वाचा गरेको छ ।
बिबिसी अनुसन्धानको एक अंशको रूपमा ब्रिटिस यातायात प्रहरीले १८ वर्षीया महिला यात्रुलाई यौन दुर्व्यवहार गरेपछि स्टेसन प्लेटफर्ममा एक रेल कन्डक्टरलाई पक्राउ गरेको फुटेज सार्वजनिक गरेको छ । लन्डन प्याडिंगटन र स्वान्सीबिचको मुख्य लाइन रेलमा एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा दोषी ठहरिएपछि निकोलस म्याकमुरेलाई सात वर्षको जेल सजाय सुनाइएको थियो । कार्डिफबाट यात्रा गर्दा उनी फोनमा कुरा गरिरहेकी थिइन् । सोही वेला ग्रेट वेस्टर्न रेलवे (जिडब्लुआर) का रेल प्रबन्धकसमेत रहेका ३८ वर्षीय म्याकमुरेले उनको पोसाक मिलाउन र रेल टिकट जाँच गर्न आग्रह गरेका थिए । त्यसलगत्तै उनले युवतीलाई दुर्व्यवहार गरेका थिए ।
स्वान्सी स्टेसनमा आइपुग्दा पीडितले ब्रिटिस ट्रान्सपोर्ट पुलिसलाई घटनाबारे रिपोर्ट गरिन् । प्लेटफर्ममा म्याकमुरे पक्राउ परे । प्रहरी चौकीमा लगिनुअघि अधिकारीले प्रमाण सुरक्षित गर्न उनको हातमा स्पष्ट झोला राखे । यसअघि उनलाई यस वर्षको सुरुमा स्वान्सी क्राउन कोर्टमा यौन दुर्व्यवहार र प्रवेशद्वारा आक्रमणको दोषी ठहर गर्दै आजीवन यौन अपराधी दर्तामा राखिएको थियो । पछिल्लो घटनापछि जिडब्लुआरले म्याकमुरेलाई तुरुन्तै पदमुक्त गरेको थियो ।
‘उनले अनुशासनात्मक प्रक्रियाका क्रममा तुरुन्तै लागू हुने गरी राजीनामा दिए, जहाँ सम्भावित परिणाम तुरुन्तै बर्खास्त हुने थियो,’ रेल कम्पनीका एक प्रवक्ताले भने । ब्रिटिस यातायात प्रहरीले म्याकमुरेले ‘आफ्नो पदको पूर्ण दुरुपयोग गरेको र यी युवतीबाट फाइदा उठाएको’ बताएको छ ।
–बिबिसीबाट