एमालेका बहुसंख्यक केन्द्रीय सदस्यहरू संसद् पुनर्स्थापनाकै पक्षमा उभिएका छन् । बुधबारबाट सुरु भएको दसौँ केन्द्रीय कमिटी बैठकमा मुलुकलाई संवैधानिक ट्रयाकबाट निकास दिने गरी संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई एकै ठाउँमा ल्याउने काम पुनर्स्थापनाबाट मात्र सम्भव भएको अधिकांश केन्द्रीय सदस्यहरूको भनाइ छ ।
संसद् पुनर्स्थापना र त्यसका लागि जनपरिचालन तथा जनआन्दोलनमा जाने अध्यक्ष केपी ओलीले राखेको १५ बुँदे विशेष प्रस्तावमा केन्द्रित रहेर केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । बिहीबारसम्म वर्णानुक्रमको तल ‘ज्ञ’ देखि ‘क’ सम्म नाम पर्ने एक सय ९६ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । तीमध्ये ५० जनाले बुधबार र बाँकी एक सय ४६ जनाले बिहीबार धारणा राखेका छन् ।
शुक्रबार अआईको वर्णानुक्रममा रहेका केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि प्रदेश अध्यक्ष रहेका पदेन केन्द्रीय सदस्य र त्यसपछि क्रमश: पोलिटब्युरो, स्थायी समिति र सचिवालयका सदस्यहरूले बोलिसकेपछि अध्यक्ष ओलीले निष्कर्ष सुनाएर बैठक समापन गर्ने एमालेको तयारी छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बहुसंख्यक केन्द्रीय सदस्यहरूले प्रतिनिधिसभा पुनर्स्थापना गरेर संविधान र लोकतन्त्र पक्षधर शक्तिहरूलाई एक ठाउँमा ल्याएर अघि बढ्ने कार्यनीतिको समर्थन गर्दै धारणा राखेको जानकारी दिए । ‘संविधानको रक्षाको सबैभन्दा उत्तम र सहज बाटो प्रतिनिधिसभाको पुनर्स्थापना नै हो भन्ने निष्कर्षतिर केन्द्रीय कमिटी बैठक गइरहेको छ,’ उनले भने, ‘संविधान र लोकतन्त्रको रक्षाका लागि प्रतिनिधिसभा पुनर्स्थापना गरेर जानुपर्छ र पुनर्स्थापना गर्दा मूलत: सविधान पक्षधर शक्तिहरू, लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूलाई एक ठाउँमा ल्याएर, उनीहरूसमेतको सहभागितामा व्यापक जनपरिचालनको माध्यमबाट अगाडि जाने निर्णयमा सबैलाई सहमत गराउनुपर्छ भन्ने तर्क नै बढी आइरहेका छन् ।’
प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा जनपरिचालनमा जाने तयारीमा रहे पनि निर्वाचनको विरोध नगर्ने नीति लिनुपर्ने आवाज बैठकमा उठेको छ । धेरैजसो केन्द्रीय सदस्यले प्रतिनिधिसभा पुनर्स्थापनाको आवाज उठाउँदा निर्वाचनको विरुद्ध रहेको सन्देश जान नहुनेतर्फ ख्याल गर्न नेतृत्वलाई सजग गराएका छन् । ‘हामीले निर्वाचनमा भाग लिदैनौँ भनेका छैनौँ, निर्वाचनको वातावरण नभएका हुनाले सरकारले राजनीतिक दलका नेताहरूलाई निषेध गर्ने, नेताहरूलाई अनेक झमेला सिर्जना गर्दिने, धाकधम्की दिने, राजनीतिक गतिविधि गर्न नदिने, सीमा बन्देज लगाएको स्थितिमा निर्वाचनको वातावरण बनेको छैन । अविलम्ब वातावरण बनाउन अपिल गरेका छौँ, तर हामी निर्वाचनको विपक्षमा छैनौँ,’ गौतमले भने ।
बहुसंख्यक केन्द्रीय सदस्यहरूले महाधिवेशनको मिति तय भइसकेको हुनाले प्रक्रियासम्मत ढंगबाटै पार्टी पुनर्गठनको मुद्दा टुंग्याइने कुरा नै जायज भएको धारणा राखेका छन् । यद्यपि, बुधबारको तुलनामा बिहीबार केही केन्द्रीय सदस्यहरूले खुलेरै ओलीको राजीनामा मागेका छन् । करिब तीन दर्जन केन्द्रीय सदस्यहरूले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण स्थगन खुलाएर पार्टीमा क्रियाशील गराउन ध्यानाकर्षण गराएका छन् ।
बिहीबारसम्म विद्यासुन्दर शाक्य, शर्मिला कार्की, सोम मिश्र, सरिता न्यौपाने, हरिबहादुर राई, रचना खड्का, नवीना लामा, माधव ढुंगेल, युवराज बाँस्कोटा, ममता गिरी, रामलाल शाह, मनोजजंग थापा, झपट रावल, कृष्णभक्त पोखरेल, रविन कोइरालालगायत तीन दर्जन केन्द्रीय सदस्यले भण्डारीलाई सदस्य दिनुपर्ने पक्षमा धारणा राखे । संगठन विभागका सचिवसमेत रहेका माधव ढुंगेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई जिम्मेवारी किटान गरेर पार्टीमा ल्याउन सुझाव दिएका छन् ।
‘पूर्वराष्ट्रपति विद्या भण्डारीलाई विवादित बनाएर सक्रिय राजनीतिमा ल्याउनु हुँदैन । ल्याउनै परे सर्वसम्मत ढंगले जिम्मेवारीसमेत किटान गरेर मात्र ल्याउनुपर्दछ,’ ढुंगेलले लिखित सुझाव दिँदै भनेका छन् । उनले महाधिवेशनबाटै नेतृत्व परिवर्तन गर्नुपर्ने बताउँदै केन्द्रदेखि तलसम्म नेतृत्व विकासको नयाँ अवधारणाअनुसार ४० प्रतिशत युवा समेट्नुपर्ने आवाज पनि उठाए ।
केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरले नेतृत्वमा असफल साबित ओलीले पदबाट राजीनामा दिएर नेतृत्व हस्तान्तरण गर्न माग गरे । ‘जनतासँग एकाकार हुने राजनीतिसँग पार्टीलाई जोड्न सक्नुपर्छ । यो कुरामा अध्यक्ष कमरेड आजसम्म सफल नदेखिनु भएकाले देश, आन्दोलन र पार्टीलाई थप क्षति हुनबाट रोक्न आफ्ना सहयोद्धा कमरेडलाई विश्वास गरी अध्यक्ष पदबाट राजीनामा दिएर उहाँहरूलाई नेतृत्व हस्तान्तरण गरी पार्टीमा सामूहिक नेतृत्व कायम गर्न ऐतिहासिक आवश्यकता भइसकेको छ । यसमा ढिला नगरौँ,’ उनले सुझाव दिँदै भनेका छन् ।
नेतृ रचना खड्काले अध्यक्ष केपी ओलीलाई पार्टीको अभिभावकको भूमिकामा बस्नुपर्ने सुझाव दिइन् । ‘अहिले मुलुकमा जे भइरहेको छ, जो विकल्प हुँ भन्दै आएका छन्, ती कुनै विकल्प होइनन्,’ उनले भनिन्, ‘उनीहरू षड्यन्त्रका पात्र मात्रै हुन् । एमाले नै नेता पार्टी हो, र पार्टीलाई बलियो बनाउन सकिन्छ । अब कमरेड अध्यक्ष पार्टीको अभिभावक बनेर बस्नुपर्छ । मैले यस्तो भन्दा एमालेविरोधी भनिएला, मञ्चमा बसेका नेतागणले चित्त दुखाउनुहोला, तर म सत्य र लागेको बोल्छु,’ उनले भनिन् । केन्द्रीय सदस्य झपटबहादुर रावलले पूर्वराष्ट्रपति भण्डारी र पूर्वउपाध्यक्ष भीम रावललगायत पार्टीबाट कारबाहीमा परेका सबै नेताहरूमाथिको कारबाही फिर्ता गर्न माग गरे ।