- भियतनामसँग १–० ले पराजित भएपछि समूह ‘एफ’मा अंकविहीन रहेको नेपाल छनोटको बाँकी दुई खेलअगाडि नै प्रतियोगिताबाट बाहिरिएको हो
लगातार चौथो हार सामना गरेपछि मंगलबार नेपाल एएफसी एसियन कप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल दुई खेलअगाडि नै छनोट चरणबाटै बाहिरिएको हो । छनोटअन्तर्गत समूह ‘एफ’ भियतनामविरुद्धको होम म्याचमा नेपाल १–० ले पराजित भएको हो । यसअघि भियतनामविरुद्धको अवे खेलमा नेपाल ३–१ ले पराजित भएको थियो ।
यसअघि छनोटमा नेपाल पहिलो खेलमा मलेसियासँग २–० र दोस्रो खेलमा लाओससँग २–१ ले पराजित भएको थियो । समूह ‘एफ’मा शीर्षस्थानमा रहेको मलेसियासँग १२ अंक रहेको छ । भियतनाम नौ अंकसहित दोस्रो स्थानमा छ । लाओससँग तीन अंक र नेपाल अंकविहीन छ । भारी वर्षाका कारण निर्धारित समयभन्दा आधा घन्टा ढिलो भएको प्रतिस्पर्धामा नेपालले भियतनामविरुद्ध टक्कर दिएको थियो । तर, प्रतिस्पर्धामा एक मात्र आत्मघाती गोलका कारण भियतनामले नेपालविरुद्ध दुवै खेलमा जित निकाल्यो ।
भियतनामको हो चि मिन सिटीस्थित थोङ ह्नाट रंगशालामा नेपालका सुमन श्रेष्ठले पहिलो हाफमा गरेको आत्मघाती गोलमा निर्णायक बन्यो । उनले खेलको पाँचौँ मिनेटमा आत्मघाती गोल गरेका थिए । ट्रोङ टाएनलेको कर्नरमा नुयन हिउले प्रहार गरेको बल सुमनको खुट्टामा लागेर गोलमा परिणत भयो । वर्षाले प्रभावित बनाएको मैदानमा भियतनामले नेपालमाथि दबाब राखेको थियो । भियतनामले नेपालविरुद्ध लगातार आक्रमण गरेको थियो । तर, नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गर्दा भियतनामले थप गोल थप्न सकेन ।
नेपालले भियतनामविरुद्ध दशरथ रंगशालमा खेल्नुपर्ने थियो । एसियन कप छनोट खेल खेलाउन अयोग्य हुँदा भियतनाममै गएर नेपालले खेलेको हो । भियतनामले पहिलो तथा दोस्रो हाफमा नेपालविरुद्ध दबाब बनाएको थियो । नेपालले खेलको ८५औँ मिनेटमा बराबरी गोल गर्ने मौका गुमायो । दिनेश हेन्जानले क्लोज रेन्जबाट प्रहार गरेको बल क्रसबार माथि गयो ।
रोहितले पूरा गरे सयौँ अन्तर्राष्ट्रिय खेल
भियतनामसँग १–० ले पराजित भएको प्रतिस्पर्धामा नेपाली राष्ट्रिय टोलीका एट्याकिङ मिडफिल्डर रोहित चन्दले व्यक्तिगत रेकर्ड बनाएका छन् । रोहितले राष्ट्रिय टोलीबाट एक सय अन्तर्राष्ट्रिय खेल खेले । नेपालबाट सयौँ अन्तर्राष्ट्रिय खेल खेल्ने उनी दोस्रो खेलाडी हुन् । रोहित एन्फा एकेडेमीकै उत्पादन हुन् । उनी एन्फाको तेस्रो ब्याचका खेलाडी हुन् । सन् २००९ को मार्च २६ मा उनले प्यालेस्टाइनविरुद्ध नेपालका लागि डेब्यु गरेका थिए । एएफसी च्यालेन्ज कप छनोटमा प्रशिक्षक योगम्बर सुवालले उनलाई डेब्यु गराएका थिए । सो खेलमा रोहितसँगै चेतन घिमिरे र दीपक भुसालले पनि डेब्यु गरे । १६ वर्ष नेपाली टोलीबाट पहिलो रोजाइमै प्रतिस्पर्धा गरको रोहितले राष्ट्रिय टोलीबाट एक मात्र अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
फुटबल खेलाडी संघको चेतावनी
नेपाल फुटबल खेलाडी संघले विभिन्न कारण देखाई ‘ए’ डिभिजन लिगको कार्यक्रम परिवर्तन वा रोकिएको खण्डमा उत्पन्न हुने सम्पूर्ण अवस्थाको जिम्मेवारी आखिल नेपाल फुटबल संघ (एन्फा)ले लिनुपर्ने जनाएको छ । ‘ए’ डिभिजन लिगको अन्योलमा परेपछि विज्ञप्ति निकाल्दै खेलाडी संघका अध्यक्ष विक्रम लामाले चेतावनी दिएका हुन् ।
‘लामो समयको प्रतीक्षापछि ‘ए’ डिभिजन लिगसँगै घरेलु फुटबल सुचारु हुन्छ भन्ने अपेक्षा नेपाल फुटबल खेलाडी संघले राखेको छ । फेरि पनि विभिन्न कारण देखाई प्रतियोगिताका कार्यक्रम परिवर्तन वा रोकिएको खण्डमा उत्पन्न हुने सम्पूर्ण अवस्थाको जिम्मेवारी अखिल नेपाल फुटबल संघले लिनुपर्नेछ,’ लामाले भने, ‘कार्यसमितिको अवधि अब एक वर्ष पनि छैन । यो कार्यकालमा एकपटक मात्र ए, बी, सी डिभिजन लिग हुनु नै अहिलेको नेतृत्वले फुटबलमाथि अन्याय गरेको छ ।’ घरेलु फुटबलको मेरुदण्ड मानिने लिग गर्न नसक्नेहरूले नेतृत्वमा बसिरहनु नैतिकताले नमिल्ने उनले बताए ।
एन्फा राष्ट्रिय लिगमा केन्द्रित
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी ६ पुसमा गर्ने भनेको सहिद स्मारक ‘ए’ डिभिजन लिग होम एन्ड अवे प्रणालीमा नगर्ने भएको छ । लिगमा प्रतिस्पर्धा गर्ने क्लबहरूले समय मागेपछि होम एन्ड अवे लिग नहुने एन्फा महासचिव किरण राईले मंगलबार पत्रकार सम्मेलन बताएका छन् । ‘एएफसी क्लब लाइसेन्सको मापदण्डअनुसार लिग खेल्न क्लबहरू तयार हुनुहुन्छ । तपाईहरूले दश महिनाको समय माग गर्नुभएको छ,’ राईले भने, ‘यसैकारण, यो वर्ष होम एन्ड अवे प्रणालीमा लिग हुँदैन । १० महिनापछि हुने लिगको तयारी अहिले थाल्छौँ ।’
महासचिव राईले यस वर्ष शीर्ष लिग गर्ने एन्फाको योजना रहेको बताए । होम एन्ड अवे लिगको विषयमा एन्फा र क्लबहरूबिच एकमत हुन नसक्दा राष्ट्रिय लिग मोडेल तयार भएको हो । ए डिभिजन शीर्ष ६ क्लब र प्रदेशस्तरको प्रेसिडेन्ट लिग खेलेका चार क्लब गरी १० क्लबबिच राष्ट्रिय लिग हुन सक्ने उनले बताए । ०७२ सालदेखि एन्फाले राष्ट्रिय लिग गरेको छैन । एन्फाका सिइओ इन्द्रमान तुलाधरले पनि राष्ट्रिय लिग गराउन एन्फाको विधानले साथ दिने बताए ।
यसैबिच एन्फाले क्लबहरूसँग छठपछि बैठक बसेर निर्णय लिने जनाएको छ । ‘अब हामी क्लबहरूसँग छठ पर्वपछि बैठक बस्छौँ । त्यसपछि कस्तो खालको लिग गराउने भनेर निर्णय गर्छौँ,’ महासचिव राईले भने । एन्फाले १४ ‘ए’ डिभिजन क्लबलाई ५ असोजमा पत्र पठाउँदै सहिद स्मारक ए डिभिजन लिगको महत्वपूर्ण विषयमा छलफल गर्नका लागि आगामी २६ असोजमा बैठक बोलाएको थियो । तर, गत शनिबार क्लबहरूले पत्रकार सम्मेलन गर्दै एन्फाले ‘ए’ डिभिजन लिगको पर्याप्त तयारी र क्लबसँगको समन्वयविना होम एन्ड अवे लिग गराउन लागेको भन्दै विरोध गरेका थिए । साथै, उनीहरूले एन्फासमक्ष विभिन्न मागसमेत राखेका थिए । पंकजविक्रम नेम्वाङको कार्यकालमा एन्फाले एकपटक मात्र ‘ए’ डिभिजन लिग गरेको छ । एन्फाले पछिल्लोपटक ०७९/८० को लिग ०८० को जेठ २३ सकिएको थियो । जसमा चर्च ब्वाइज च्याम्पियन बनेको थियो ।