धनकुटाको पाख्रीबास नगरपालिका– ३, सिंहदेवी चोकदेखि मुगाखोला–उत्तरपानी हुँदै धर्मशाला–मन्सी–चौतारा खण्डको ६५० मिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ ।
एक करोड ५० लाख रुपैयाँको लागतमा उक्त सडक कालोपत्रे भएको हो । कालोपत्रे सडकको पूर्वखानेपानीमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गरेका छन्। साइमन जेभी धनकुटाले ठेक्का पाएको सो सडक निर्माणका लागि चालू आर्थिक वर्षमा तीन करोड ५४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। कुल १४ किलोमिटर सडकमध्ये सिंहदेवी चोकदेखि कोसेपानसम्म ६५० मिटर सडक कालोपत्रे गरी सम्पन्न गरिएको पाख्रीबास नगरपालिका– ३ का वडाध्यक्ष सरोज राईले बताए ।
आगामी आर्थिक वर्षभित्र सम्पूर्ण सडक कालोपत्रे सम्पन्न गर्ने योजना रहेकाले सो सडक कालोपत्रे भएसँगै पाख्रीबास नगरपालिकाको ३, ९ र १० नम्बर वडाका वडावासीहरू लाभान्वित हुने वडाध्यक्ष राईले बताए ।उनले भने, ‘सडक स्तरोन्नतिको लागि आर्थिक वर्ष ०८०/८१ मा एक करोड २५ लाख र आर्थिक वर्ष ०८१/८२ मा दुई करोड ५० लाख बजेट विनियोजन भएको थियो । उक्त रकममध्ये दुई करोड ५० लाखमध्ये एक करोड ५० लाखले सडक कालोपत्रे गरिएको छ भने बाँकी एक करोडले वडा नं. १० को दुई सय मिटर सडक ढलाइ गरिएको छ ।’
त्यसैगरी आर्थिक वर्ष ०८२/८३ मा तीन करोड ५४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । उक्त रकमले सम्पूर्ण सडक कालोपत्रे सम्पन्न गर्ने योजना रहेको छ । उक्त सडक कालोपत्रे भएपछि स्थानीयवासीलाई आवत–जावत तथा उत्पादित खाद्यान्न र तरकारी निकासीमा पनि सहज हुनेछ । पाख्रीबास नगरपालिकाको वडा नं. ३, ९ र १० तरकारी उत्पादनको पकेट क्षेत्र पनि हो ।