- मंगलबार केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिए पनि सोमबार रातिसम्म तय भएनन् बैठकका एजेन्डा
- वैशाखसम्म सार्ने संस्थापनको प्रस्ताव र मंसिरमै हुनुपर्ने इतरको अडानबिच मध्यमार्गी विकल्पका रूपमा पुस–माघमा महाधिवेशन गर्ने गरी सहमतिको प्रयास
विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलमध्ये एमाले र माओवादीले मंसिरमा महाधिवेशन गर्ने निर्णय लिए पनि ठुलो दल कांग्रेसमा विवाद अझै टुंगिएको छैन । केही दिनयता कांग्रेसका शीर्ष तहमा औपचारिक–अनौपचारिक छलफल जारी रहे पनि महाधिवेशनको मितिमा सहमति जुटेको छैन । मंगलबार केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिए पनि सोमबार रातिसम्म एजेन्डासमेत तय भएका छैनन् ।
एजेन्डामा सहमति नभएपछि सोमबार बोलाइएको कार्यसम्पादन समितिको बैठकसमेत स्थगित भएको छ । अब मंगलबार बिहान ११ बजे बस्ने कार्यसम्पादन समिति बैठकले केन्द्रीय कार्यसमितिका एजेन्डा तय गर्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । कार्यसम्पादन बैठकअघि बिहान ९ बजे पदाधिकारी बैठक बस्दै छ ।
‘मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । त्यसअघि बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समिति बसेर एजेन्डा तय गर्छ,’ पौडेलले भने । एजेन्डा तय गर्ने विषयमा सभापति देउवासँग पनि अनौपचारिक छलफल भएको छ । अन्य नेताहरूबिचमा पनि अनौपचारिक छलफल जारी छ ।
केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेर सोमबार पदाधिकारीहरूबिचको छलफलमा नेताहरूले थरी–थरी प्रस्ताव गरेका छन् । सभापतिको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीहरूलगायत पदाधिकारीबिच छलफल भएको थियो । छलफलमा नेता रमेश लेखक पनि सहभागी थिए । छलफलमा नेताहरूले आ–आफ्नै प्रस्ताव सारेका छन् ।
अनौपचारिक छलफलमा सभापति देउवाले मध्यमार्गी विकल्पमा जान सकिने जनाउ दिएका छन् । ‘नियमित महाधिवेशन नै गर्नुपर्छ । त्यसका लागि प्रक्रिया पूरा गरेर जानुपर्छ,’ देउवापक्षका नेताले भनेका छन् । देउवासँग उपसभापति खड्का नियमित सम्पर्कमा छन् । उपसभापति खड्का आफैँ कार्यवाहक लिने पक्षमा छन् । कार्यवाहक लिएर महाधिवेशनमा जाँदा आफ्नो पकड बनाउन सक्ने बुझाइ उनको छ ।
पूर्वउपभापति विमलेन्द्र निधि सभापतिले कार्यवाहक दिएर वैशाखमा महाधिवेशन गर्नुपर्ने तथा पूर्वमहामन्त्रीद्वय कृष्ण सिटौला र प्रकाशमान सिंह म्याद थपेरै जानुपर्ने पक्षमा छन् । प्रवक्ता प्रकाशशरण महत कार्यसमिति विघटन गरेर संयोजक तोकेर महाधिवेशनमा जानुपर्ने र पूर्वमहामन्त्री शशांक कोइराला कार्यवाहक तोेकेर जानुपर्ने पक्षमा देखिएका छन् । नेता शेखर कोइराला मंसिरमै नियमित महाधिवेशनको पक्षमा छन् ।
कांग्रेस नेताहरूका अनुसार संस्थापन पक्ष विधि र प्रक्रिया पूरा गरेर वैशाखमा महाधिवेशन गर्न सकिने पक्षमा छ । तर, मंसिरमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्ने इतरपक्षको माग छ । संस्थापन पक्षले वैशाख र इतरपक्षले मंसिरमा महाधिवेशन हुनुपर्ने बताएपछि पुस–माघमा मध्यमार्गी समय निर्धारण हुन सक्ने एक नेताले बताए ।
विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मंसिरमा भए नियमित महाधिवेशनबाटै अगाडि बढ्न सकिने पक्षमा छन् । तर, मंसिरमा नियमित महाधिवेशन नहुने स्थितिमा विशेष महाधिवेशनमा जानुपर्ने अडान उनीहरूको छ । नियमित महाधिवेशनमा जाँदा नयाँ प्रतिनिधि चयन गर्नुपर्छ भने विशेष महाधिवेशनमा जाँदा पुरानै प्रतिनिधि हुन्छन् ।
कांग्रेस महामन्त्री थापाले मंसिरमै महाधिवेशन हुनुपर्ने अडान राख्दै आएका छन् । उनले कार्यसमितिको म्याद थप्ने प्रस्ताव आफूले बैठकमा नलाने मंसिरमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने बताएका छन् ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत विधिसम्मत रूपमा नयाँ परिस्थितिअनुसार युवासहित सबैको सहभागिता हुने गरी महाधिवेशन गर्नुपर्ने बताउँछन् । ‘हामी छिटो महाधिवेशन होस् भन्ने चाहन्छौँ । तर, व्यावहारिक समय के हुन सक्छ भन्ने हो ?’ महतले भने, ‘सहमतिमै एजेन्डा तय गरेर निर्णयमा पुग्छौँ ।’
जेन–जी आन्दोलनपछि मंगलबार पहिलोपटक कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । आन्दोलनमा कुटपिटमा परेर घाइते भएका देउवा त्यसयता पार्टी बैठकमा सहभागी भएका छैनन् । मंगलबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा भने देउवा उपस्थित हुने देउवाका स्वकीय सचिव भानु देउवाले बताए । आइतबार बस्ने तय भएको केन्द्रीय कार्यसमिति बैठक एजेन्डामा सहमति नजुटेकै कारण मंगलबारसम्म स्थगित भएको थियो ।
१४औँ महाधिवेशनको ४ वर्षे कार्यकाल मंसिरमा सकिँदै छ । तर, विधानमा एक वर्ष म्याद थप्न पाइने व्यवस्था छ । संस्थापनपक्ष यसैका आधारमा महाधिवेशन लम्ब्याउने दाउमा छ ।
विशेष महाधिवेशनको पक्षमा ५५% प्रतिनिधि रहेको दाबी
बहुमत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशन माग गर्दै पार्टी कार्यालयमा निवेदन दिने तयारी छ । विशेष महाधिवेशनका लागि ५५ प्रतिशत प्रतिनिधिको हस्ताक्षर संकलन भएको युवा नेता गुरुराज घिमिरेले दाबी गरे । ‘२४ देखि २५ सयको बिचमा हस्ताक्षर भएको छ । हामी कार्यसम्पादन बैठक हेरिराखेका छौँ । कार्यसम्पादनमा के सहमति हुन्छ, त्यस आधारमा अगाडि बढ्छौँ,’ घिमिरेले भने ।
४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने वैधानिक व्यवस्था छ । ०७८ मंसिरमा भएको १४औँ महाधिवेशनमा ४७४३ महाधिवेशन प्रतिनिधि थिए । आफूहरू नियमित महाधिवेशनको विरोधी नभए पनि महाधिवेशन नहुने स्थिति देखेपछि हस्ताक्षर अभियान सञ्चालन गरिएको घिमिरेले बताए । मंसिरमा नियमित महाधिवेशन या विशेष महाधिवेशनको विकल्प नभएको उनले दाबी गरे ।
आगामी मंसिरमै वर्तमान कार्यसमितिको म्याद सकिने भएकाले सोही अवधिमा नियमित महाधिवेशन भए मान्य हुने हस्ताक्षर अभियान चलाएका नेताहरूले बताएका छन् । महामन्त्रीद्वय थापा र शर्माको सक्रियतामा जिल्ला–जिल्लामा हस्ताक्षर अभियान चलाएको भन्दै संस्थापन पक्ष रुष्ट छ । विशेष महाधिवेशनले पार्टी कमजोर बनाउने र विभाजन निम्तने दाबी संस्थापन पक्षको छ । संस्थापन पक्षका केही नेताको दबाबपछि कतिपय प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएका छन् ।
नियमित महाधिवेशनको माग गर्दै कोइराला पक्षको ध्यानाकर्षण–पत्र
कांग्रेसको इतर समूहका नेता डा. शेखर कोइराला पक्षले नियमित महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा ध्यानाकर्षण–पत्र बुझाएको छ । सभापतिलाई सम्बोधन गरेर नियमित महाधिवेशन माग गर्दै रञ्जित कर्ण, दीपक भट्टराई र सरोज थापालगायतका नेताले मुख्यसचिव कृष्णप्रसाद पौडेललाई ध्यानाकर्षण–पत्र बुझाएका हुन् । स्पष्ट समय तालिकासहित मंसिर मसान्तभित्र १५औँ महाधिवेशन हुन सक्ने आधार र कार्ययोजना ल्याउन उनीहरूले माग गरेका छन् । ‘विधिवत् र नियमित महाधिवेशन मात्र कांग्रेसको सबै तह (वडादेखि केन्द्रसम्म)मा युवा पुस्ताको सम्मानजनक सहभागिताको माध्यम हो । पार्टीको पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणको प्रक्रियालाई वैधानिक रूपमा अघि बढाउन सक्ने एक मात्र विकल्प भनेको विधिवत् नियमित महाधिवेशन मात्रै हो भन्ने हाम्रो निष्कर्ष हो,’ ध्यानाकर्षण–पत्रमा छ । अन्यथा मौजुदा कार्यसमिति भंग गर्न उनीहरूले माग गरेका छन् ।