मणिपालपछि गण्डकी मेडिकल कलेजका नर्सहरू पनि आन्दोलित

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

अस्पतालले श्रम शोषण गरेको भन्दै पोखराको फूलबारीस्थित मणिपाल शिक्षण अस्पताल एवं टिचिङ अस्पतालमा कार्यरत नर्सहरूको आन्दोलन जारी रहँदा पोखरा–९, नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा कार्यरत नर्सहरूले समेत सोमबारदेखि आन्दोलन सुरु गरेका छन्।

श्रम शोषण भएको भन्दै नर्सहरूले कलेजको नयाँबजारस्थित अस्पतालपरिसरमा प्लेकार्डसहित धर्ना र नराबाजी गर्दै सोमबारदेखि आन्दोलन सुरु गरेका हुन्।

अस्पतालपरिसरमा प्लेकार्डसहित धर्ना दिएका नर्सहरूले ‘हामीलाई न्याय दे, हाम्रो माग पूरा गर, श्रम शोषण बन्द गर, हामी मेसिन हैन नर्स हाैँ, अब त अति भो, नो पे नो वर्क, हाम्रो मिहिनेत हाम्रो पैसा, सरकारले बचाओ हाम्रो नसिङ पेसा’लगायतका नारासँगै प्ले कार्ड बोकेका थिए।

यसअघि अस्पतालमा कार्यरत नर्सहरूले अस्पताल प्रशासनलाई आफ्ना विभिन्न माग राख्दै ज्ञापन-पत्र बुझाएका थिए। नर्सहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको तलबसँगै अन्य सुविधा पाउनुपर्ने, वार्षिक रूपमा पाउँदै आएको चाडपर्व बिदा, घर बिदा, बिरामी बिदालगायतका बिदाको भत्ता, जोखिम विभागमा काम गर्नेले सोहीअनुसारको भत्ताको व्यवस्थालगायतका माग राखेका छन्। पूरा नभएपछि नर्सहरूले आन्दोलन सुरु गरेका हुन्।
 

सुझावित समाचार