प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित संखुवासभामा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भोटखोला गाउँपालिका–४ का ३३ वर्षीय सुरेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। उनका अनुसार आइतबार साँझ को १ ज ३१६९ नम्बरको बोलेरो गाडीमा लुकाइछिपाई राखिएको २० ग्राम ४ मिलिग्राम खैरो हेरोइनसहित तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
खाँदबारीबाट भोटखोलातर्फ जाँदै गरेको गाडीमा लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा प्रहरी चौकी नुमबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका तामाङमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।