तालिबान सरकारले उत्तरी सीमामा रहेका केही पहाडी इलाकामा पाकिस्तानी सेनामाथि आक्रमण गरेको पुष्टि गरेको छ । तालिबानका प्रवक्ताले ‘बदलाको कार्य’ भन्दै ५८ पाकिस्तानी सैनिक मारिएको बताएका छन् । पाकिस्तानले बिहीबार अफगान हवाई क्षेत्र उल्लंघन गरेको र आफ्नो सीमाभित्रको बजारमा बम विस्फोट गरेको बदलामा उक्त आक्रमण गरिएको तालिबानले दाबी गरेको छ ।
पाकिस्तानले उक्त तथ्यांकलाई अस्वीकार गर्दै आफ्ना सशस्त्र सेनाका २३ सदस्य मारिएको र ‘दुई सय तालिबान र सम्बद्ध आतंककारीलाई निष्प्रभावी पारिएको’ दाबी गरेको छ । पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले अफगान हमलामा सर्वसाधारणमाथि गोली चलाइएको बताएका छन् । देशको सेनाले ‘हरेक इँटाको बदला ढुंगाले’ जवाफ दिने उनले चेतावनी दिए ।
इस्लामाबादले काबुलले आफ्नो भूमिमा पाकिस्तानलाई लक्षित गर्ने आतंककारीलाई आश्रय दिएको आरोप लगाएको छ, जुन दाबी तालिबान सरकारले अस्वीकार गरेको छ । अफगान र पाकिस्तानी दुवै पक्षले कुनार–कुर्रम क्षेत्रमा साना हतियार र तोपखाना प्रयोग गरेको बिबिसीले जनाएको छ । आइतबार एक पत्रकार सम्मेलनमा तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले ५८ जना पाकिस्तानी सेनाको मृत्युको अतिरिक्त, लगभग ३० जना घाइते भएको बताए ।