प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबिच छलफल

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालबिच राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार कार्की र दाहालबिच आगामी २० फागुनमा म्याद सकिने एकतिहाइ सदस्यको स्थानमा हुने निर्वाचनबारे छलफल भएको हो । म्याद सकिनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

निर्वाचनका साथै राष्ट्रिय सभा बैठक बोलाउने विषयमा समेत छलफल भएको दाहालले बताए । जेन–जी आन्दोलनका क्रममा संसद् भवन ध्वस्त भएकाले हलको व्यवस्थापन गरेर बैठक बोलाउने तयारी रहेको उनको भनाइ छ । गत ३१ भदौमा राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको थियो ।

‘राष्ट्रिय सभालाई कसरी गतिशीलता दिने, कसरी अगाडि बढाउने, बैठक बस्ने हल छैन । राष्ट्रिय सभामा केही विधेयक बाँकी छन् । ती विधेयकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भयो,’ दाहालले भने, ‘आगामी २० फागुनमा राष्ट्रिय सभाका एकतिहाइ सांसदहरूको अवधि सकिँदै छ । ३५ दिनअगाडि नै निर्वाचन गरिसक्नुपर्छ । त्यो निर्वाचनबारे पनि छलफल भयो ।’

राष्ट्रिय सभामा रहेका विधेयकका विषयमा पनि दाहालले प्रधानमन्त्री कार्कीलाई जानकारी गराएका छन् । कार्कीले अहिलेको परिस्थितिमा सबै मिलेर देशलाई अघि बढाउनुपर्नेमा जोड दिएको दाहालले बताए । उनले अन्तर्राष्ट्रिय सांसदहरूको ‘आइपिओ मञ्च’मा सहभागी हुने विषयमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराएका छन् । आइपिओमा राष्ट्रिय सभाका अध्यक्ष दाहालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुँदै छ ।

सुझावित समाचार