सुन तस्करी प्रकरणमा डेढ वर्षपछि पूर्वसभामुख महरा पुनः पक्राउ

भन्सार ऐन, संगठित अपराध तथा आपराधिक लाभ मुद्दामा अनुसन्धान गर्ने प्रहरी तयारी

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग नजिकको सम्बन्ध देखिएका पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरा पुनः पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई आइतबार ललितपुरबाट नियन्त्रणमा लिएको हो । महरामाथि भन्सार ऐन, संगठित अपराध तथा आपराधिक लाभ मुद्दामा अनुसन्धान गर्ने प्रहरी तयारी छ ।

सिआइबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार भेप (विद्युतीय चुरोट)मा लुकाइएका सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा महरालाई पक्राउ गरिएको हो । सोही मुद्दामा ५ चैत ०८१ मा सिआइबीले पक्राउ गरेकोमा त्यतिवेला उनलाई स्वास्थ्य समस्याको कारण देखाउँदै हाजिरी जमानीमा छाडिएको थियो । पछि पर्याप्त प्रमाण नपुगेको भन्दै मुद्दा चलाइएको थिएन । सोही घटनाका सिआइबीले महरालाई पक्राउ गरी नयाँ कोणबाट अनुसन्धान थालेको हो । महरालाई यही विषयमा गत बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि बयान लिएको थियो । 

नेपालमा सुन तस्करी गर्ने गिरोहका नाइके चिनियाँ नागरिक दाबाजिन वाङसँग महराको निकटतम सम्बन्ध देखिएको थियो । वाङ र महराबिच अस्वाभाविक टेलिफोन सम्पर्क देखिएको मात्र होइन, महराले वाङले ल्याएको भेप छुटाउन तत्कालीन भन्सार प्रमुखलाई दबाब दिएपछि उनी अनुसन्धानको दायरामा तानिएका हुन् । तर, उनीसँग सोधपुछ नै नगरी पहिलो चरणमा सिआइबीले मुद्दा चलाएको थियो । महराले चिनियाँ नागरिकसँग आफ्नो निकटता भए पनि उनको सुनको कारोबारबारे भने जानकारी नभएको दाबी गर्दै आएका छन् । 

त्यस विषयमा समेत प्रश्न उठेपछि डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले महरामाथि पनि अनुसन्धान गर्न भन्दै १ चैत ०८१ मा प्रतिवेदन दिएको थियो । त्यसको चार दिनपछि सिआइबीले उनलाई पक्राउ गरी बयान लिएकोमा ९ भदौमा उनी हाजिरी जमानीमा छुटेका थिए । तर, त्यसपटक पनि उनीविरुद्ध मुद्दा गएन । 

सिआइबीले नै त्यतिवेला मुद्दा चलाउनु नपर्ने राय दिएको छ । जसअनुसार उनका छोरा राहुलसहित चारजनाविरुद्ध पूरक अभियोग लगिएको थियो । सिआइबीले लोकेन्द्र पौडेल, तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ र चिनियाँ नागरिक ली हानसोङविरुद्ध आठ करोड ५७ लाख रुपैयाँको बिगो दाबी गरी पूरक अभियोग लगाएको थियो । 

०८० को भदौमा राहुल महरालाई सिआइबीले पक्राउ गरी मुद्दा दायर गरेकोमा उनी जेल बसेर छुटिसकेका छन् । दोषी ठहर भई अदालतले तोकेको एक वर्ष कैद भुक्तान गरेर उनी छुटेका हुन् । राहुलसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा पनि विशेष अदालतमा छुट्टै मुद्दा दायर भइसकेको छ । यस प्रकरणमा भन्सारका केही कर्मचारीको भूमिका पनि शंकास्पद देखिएको छ । यसमा पनि अनुसन्धान हुने सिआइबीका अधिकारी बताउँछन् । 

के हो भेप प्रकरण ? 
०७९ को माघमा भेप ल्याएको दुईवटा सुटकेस विमानस्थल भन्सारले बरामद गरेको थियो । तर, पछि त्यो रहस्यमय रूपमा भन्सारबाटै साटिएको थियो । भेपमा सुन भएकाले त्यहाँ कार्यरत नायब सुब्बा रेवन्त खड्कासँगको मिलेमतोमा साटिएको पाइएको थियो । सो सूचना भन्सार कार्यालयले पाएपछि छानबिन गर्न सिआइबीलाई पत्राचार गरेको थियो । सोही आधारमा सो घटनाको अनुसन्धान गर्दा यसमा राजनीतिक तहको संलग्नता खुलेको हो । 

फरार कैदीहरूलाई कुनै सरकारी सुविधा नदिन पत्राचार 
गृह मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीको नाम र ठेगानासहितको विवरण सार्वजनिक गर्दै उनीहरूलाई सरकारी कार्यालयबाट सेवा नदिन र सेवा लिन आए सुरक्षा निकायलाई खबर गर्न पत्राचार गरेको छ । विभागका अनुसार पाँच हजार ५४७ कैदीबन्दी अझै फरार छन् ।

फरार हुनेमा ५४० जना भारत १०९ अन्य देशका विदेशी नागरिक छन् । कारागारबाट भागेकामध्ये नौ हजार आठजना भने फर्किसकेको कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले बताए । 

गृहमन्त्रीस्तरीय निर्णयबाट फरार कैदीहरूको विवरण सार्वजनिक गरिएको हो । फरार कैदीहरू पक्राउ गर्न ७७ जिल्लामै सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरेको छ । सो कार्यदललाई थप सक्रिय बनाई फरारहरूको पक्राउ अभियानलाई तीव्रता दिन लागिएको छ ।

फरारहरूको खोजीका लागि स्थानीय तहसँग पनि समन्वय गर्न लागिएको छ । प्रहरीले उनीहरूको बारेमा सूचना दिनका लागि आग्रह गरेको छ । साथै, उनीहरूलाई विदेश जानबाट रोक्न अध्यागमनमा पनि विवरण पठाइएको छ । 
 

सुझावित समाचार