विभिन्न देशका अवैतनिक महावाणिज्यदूतले पाएको कूटनीतिक नम्बर प्लेटको सुविधा सरकारले खारेज गरेको छ । विदेशी मुलुकले नेपालका लागि नियुक्त गरेका अवैतनिक महावाणिज्यदूतको पाउँदै आएको सुविधा शुक्रबार खारेज गरिएको हो ।
परराष्ट्र मन्त्रालयद्वारा प्रकाशित डिप्लोम्याटिक नोटअनुसार नेपालमा विदेशी मुलुकबाट नियुक्त भएका ६३ जना अवैतनिक महावाणिज्यदूत कार्यरत छन् । उनीहरू सबैजसो नेपाली नागरिक हुन् । उनीहरूमध्ये ५० जनाले कूटनीतिक नम्बर प्लेट प्रयोग गरिरहेका छन् । सरकारको निर्णयपछि उनीहरूले सवारीसाधनको नम्बर प्लेट परिवर्तन गरी रातो बनाउनुपर्नेछ ।
अवैतनिक महावाणिज्यदूतसम्बन्धी अन्तर्राष्ट्रिय कानुन, पारस्पारिकता, अवैतनिक वाणिज्यदूतसम्बन्धी नियमावली, २०३९ र हालको प्रचलनबमोजिम सरकारले निर्णय लिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए । उनका अनुसार कूटनीतिक नम्बर प्लेटको दुरुपयोगको पनि गुनासो थियो ।
‘५० जनाले गाडीमा नीलो नम्बर प्लेट प्रयोग गरिरहनुभएको छ । नीलो नम्बर प्लेटका सवारीसाधनको दुरुपयोग भएको भन्ने गुनासोसमेतका आधारमा सरकारले निर्णय गरेको हो,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुरले नयाँ पत्रिकासँग भने, ‘सरकारले गरेको निर्णयसँगै अब उहाँहरूले रातो नम्बर प्लेटमा परिवर्तन गर्नुपर्छ ।’
नेपालमा अधिकांश व्यापरिक घरानाका प्रमुख विदेशी मुलुकका अवैतानिक महावाणिज्यदूतका रूपमा कार्यरत छन् । तत्कालीन परराष्ट्रमन्त्री डा. नारायण खड्काको पालामा अवैतानिक महावाणिज्यदूतलाई नीलो नम्बर प्लेट उपलब्ध गराउने निर्णय भएको थियो । उक्त निर्णयको आलोचनासमेत भएको थियो ।
कूटनीतिक नम्बर प्लेटको गाडीमा ल्याएका सामान खानतलासी गर्न पाइँदैन । कूटनीति सञ्चालनसम्बन्धी भियना महासन्धिमा उल्लेखित कूटनीतिक उन्मुक्तिको प्रावधानअनुसार नीलो नम्बर प्लेटका गाडीहरूमा सम्बन्धित देशका सुरक्षा निकायले चेकजाँच गर्न पाउँदैन ।
तर, नीलो नम्बर प्लेटको गाडीको दुरुपयोग हुने गरेको सरकारी अधिकारीहरू बताउँछन् । सरकारले पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा गठन गरेको यातायात सुधार सुझाव कार्यदलले ०८० माघमा बुझाएको प्रतिवेदनमा अवैतानिक महावाणिज्यदूतले प्रयोग गरेका कूटनीतिक नम्बर प्लेटका गाडीहरू कालोबजारी, तस्करीजस्ता गैरकानुनी क्रियाकलापमा दुरुपयोग गरिएको उल्लेख थियो ।
सरकारले हाल प्रयोगमा रहेका नीलो नम्बर प्लेट भएका सवारीसाधनलाई निजी सवारीसाधनमा परिवर्तन गर्न अवैतानिक महावाणिज्यदूतहरूलाई निर्देशनसमेत दिएको छ । ‘परराष्ट्र मन्त्रालयबाट सम्बन्धित निकायसँग निर्णय कार्यान्वयनका लागि आवश्यक समन्वय हुनेछ,’ प्रवक्ता लोकबहादुरले भने ।
अवैतानिक महावाणिज्यदूतले तोकिएको कन्सुलर क्षेत्रभित्र नेपालको राष्ट्रिय दिवस समारोह, सम्बन्धित (नियुक्ति दिने) मुलुकको राष्ट्रिय दिवस समारोह, सम्बन्धित मुलुकको राष्ट्र प्रमुख र सरकार प्रमुख एवं परराष्ट्रमन्त्री नेपाल भ्रमणमा रहेको समयमा सरकारी भेटघाट, स्वागत तथा बिदाइ, नेपालका लागि सम्बन्धित मुलुकको राजदूतको नेपाल भ्रमणका अवसरमा सम्बन्धित मुलुकको राष्ट्रिय झन्डा प्रयोग गर्न पाउने व्यवस्था भने यथावत् रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यी हुन् नेपालस्थित अवैतानिक महावाणिज्यदूत
- अस्ट्रियाका राजेश बाबु श्रेष्ठ
- बेलारुसका अजयराज सुमार्गी पराजुली
- बेल्जियमका आङछिरिङ शेर्पा
- बोसनिया एन्ड अर्जगोबिनाका साहिल अग्रवाल
- बोट्सवानाका भरत महर्जन
- बुल्गेरियाका भोलाविक्रम थापा
- कम्बोडियाका क्याबिनेट श्रेष्ठ
- क्यानडाका डा. बुद्ध बस्न्यात
- कोलम्बियाका विनयमान श्रेष्ठ
- कोस्टारिकाका डा. मनीष थापा
- क्रोएसियाका अमिरप्रताव जबरा
- साइप्रसका पद्म ज्योति
- चेक रिपब्लिकका विष्णुकुमार अग्रवाल
- डेनमार्कका हरि धरेल
- डोमिनिकन रिपब्लिकका गौरव अग्रवाल
- इक्वेडरका शशी अग्रवाल
- इस्टोनियाका नवराज दाहाल
- इथियोपियाका राजेन्द्र गिरी
- फिजीका पारस शाक्य
- जर्जियाका शिवरतन शारडा
- ग्रिसका विक्रम पाण्डे
- गुनियाका अशोककुमार अग्रवाल
- हंगेरीका अरुणकुमार चौधरी
- आइसल्यान्डका विदुषी राणा
- इन्डोनेसियाका चन्द्रप्रसाद ढकाल
- इरानका नरेश श्रेष्ठ
- आयरल्यान्डका मनोजबाबु श्रेष्ठ
- इटलीका प्रतिमा राणा पाण्डे
- जोर्डनका कुनल कयाल
- काजखस्तानका वरुण चौधरी
- किर्गिज रिपब्लिकका रमेश शर्मा
- लाओसका राजु श्रेष्ठ
- लात्भियाका करण वैद्य
- लिथुआनियाका शोभाकर न्यौपाने
- लक्जेम्बर्गका श्रीराम लामिछाने
- माल्दिभ्सका राहुल चौधरी
- माल्टाका दिनेश श्रेष्ठ
- मौरिससका गणेश कार्की
- मेक्सिकोका नरेश दुगड
- मोनाकोका सुरेन्द्र शाक्य
- मंगोलियाका छेना ग्युरमान श्रेष्ठ
- मोरोक्कोका वसन्तकुमार चौधरी
- नेदरल्यान्ड्सका दीपक सापकोटा
- पपुवा न्यु गुनियाका पुन भण्डारी
- पेरुका सुमितकुमार अग्रवाल
- फिलिपिन्सका सुरज वैद्य
- पोल्यान्डका लोकमान्य गोल्छा
- पोर्चुगलका राजेन्द्रकुमार खेतान
- रोमानियाँका नारायण बजाज
- रुवान्डाका प्रज्वलजंग पाण्डे
- सर्बियाका निर्वाण चौधरी
- सेसेल्सका नरेश दास
- स्लोभाक रिपब्लिकका पासाङ दावा शेर्पा
- स्लोभानियाका हरिभक्त शर्मा
- दक्षिण अफ्रिकाका प्रदीपकुमार श्रेष्ठ
- स्पेनका संगीता श्रेष्ठ एन्हौस
- स्विडेनका मौसमी श्रेष्ठ
- ट्युनिसियाका भवानी मिश्र राणा
- तान्जानियाका राजेश चौधरी
- टर्कीका प्रेमप्रकाश खेतान
- युक्रेनका किरण वैद्य
- भियतनामका राजेशकाजी श्रेष्ठ
- जाम्बियाका दिनेशबन्धु बस्नेत