जिल्ला सुरक्षा समिति सिराहाका पदाधिकारीहरूको टोलीले शुक्रबार नेपाल–भारत सीमा क्षेत्रमा पर्ने सीमानाका र स्तम्भहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, नेपाल प्रहरीका सिराहा प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्मा, सशस्त्र प्रहरी बल सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको टोलीले सीमानाका र स्तम्भहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेको हो ।
नेपाल–भारत सीमामा पर्ने कमला नदीको तट, पटेर्वा हुँदै माडर, २ नम्बर गेट, बुधौरा, लगडीगोठ, लगडिगदियानी, सोरहवा, इँटाटार, भट्टीमोड र गागन खोलासम्मको क्षेत्रसम्म पर्ने सीमानाका र स्तम्भहरूको अवलोकन गरिएको प्रजिअ अधिकारीले जानकारी दिए ।
उनका अनुसार पछिल्लो वर्षा र डुबानपछि सीमास्तम्भको अवस्था अवलोकनसहित सीमा क्षेत्रबाट हुन सक्ने चोरीतस्करी र आपराधिक घटना नियन्त्रणको विषयमा सुरक्षाकर्मी र स्थानीय बासिन्दासँग समेत संक्षिप्त अन्तर्क्रिया गरिएको छ । ‘स्थानीय बासिन्दाको गुनासोको आधारमा माडर बसपार्क क्षेत्रमा हुने अनैतिक कार्य तत्काल रोक्न र भट्टीमोड क्षेत्रमा भएको दशगजा क्षेत्र अतिक्रमण सात दिनभित्र हटाउन सम्बन्धित पक्षलाई भनिएको छ,’ उनले भने, ‘स्थलगत अनुगमनले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको मनोबल बढ्नेसमेत अपेक्षा गरिएको छ ।’
सशस्त्र प्रहरी बल सिराहाका प्रमुख भण्डारीका अनुसार नेपाल–भारत सीमा जोडिएको ४६.६ किलोमिटर क्षेत्रमध्ये बिहीबार सुरक्षा अधिकारीहरूको टोलीले सशस्त्र प्रहरीको माडरमा रहेको प्रस्तावित सीमा सुरक्षा गुल्म, लगडिगदियानी र इँटाटारस्थित बोर्डर आउटपोस्टको जिम्मेवारी क्षेत्रको अनुगमन गरिएको हो ।
सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी बलको तीनवटा युनिटको जिम्मेवारी क्षेत्रको अनुगमन सकिएकाले लगत्तै बरियारपट्टि, बडहरी, नवराजपुर बोर्डर आउटपोस्ट र ठाढीको प्रस्तावित सीमा सुरक्षा गुल्मको क्षेत्रको अनुगमन गरिने उनले बताए ।
‘अनुगमनको क्रममा लगडिगदियानी बोर्डरआउटपोस्टअन्तर्गत पर्ने तीनवटा सीमास्तम्भ पछिल्लो वर्षापछि डुबेको पाइएको छ,’ उनले भने, ‘वर्षा रोकिएकाले जमेको पानी क्रमशः घट्दै जाँदा सीमास्तम्भ देखिन थालेको छ ।’