एनपिएलअगाडि नै त्रिवि मैदान तयार हुने

शुक्रबार, २४ असोज, २०८२
डिजिटल संस्करण

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) सुरु हुनुअगाडि नै कीर्तिपुरमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माणकार्य पूरा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङलाई निर्माणाधीन क्रिकेट रंगशालाको निर्माणकार्य अनुगमन क्रममा एनपिएलअगाडि निर्माण सम्पन्न हुने जानकारी दिएका हुन् । मन्त्री घिसिङले बिहीबार निर्माणाधीन क्रिकेट मैदानको अनुगमन गरेका हुन् । 

१–२७ मंसिरसम्म एनपिएल हुँदै छ । राष्ट्रिय गौरवको आयोजनामा समावेश त्रिवि क्रिकेट मैदानमा सिट राख्ने काम सकिएको छ । अहिले फ्लर्ड लाइट जडानकार्य भइरहेको क्यानका सचिव खड्काले बताए । ‘विभिन्न फेजमा यहाँ काम भइरहेका छन् । सिट जडानकार्य पूरा भइसकेको छ, अब महत्वपूर्ण काम भनेको यहाँ फ्लर्ड लाइट राख्ने काम हो,’ मन्त्री घिसिङलाई जानकारी दिँदै खड्काले भने । 

मन्त्री घिसिङले अनुगमनपछि काम अन्तिम चरणमा पुगेको बताउँदै एक महिनाभित्र निर्माण सकिने बताएका छन् । ‘पहिलो फेजको काम अन्तिम चरणमा पुगेको छ । ६ वटा फ्लर्ड लाइट एक महिनाभित्र राखिसक्ने भनेर प्रतिबद्धता गर्नुभएको छ,’ उनले भने, ‘प्यारापिटको काम लगभग सकिएको छ । ठेक्का पाएको कम्पनीले प्यारापिट एक हप्ताभित्रमै हस्तान्तरण गर्ने भन्नुभएको छ ।’ 

१० हजार क्षमताको प्यारापिट 
मैदानको पहिलो चरणमा दर्शक बस्ने नम्बरसहितको प्यारापिट बनाउने थियो । निर्माण कम्पनीले पहिलो चरणको काम पूरा गरेको छ । ‘एनपिएलअगाडि काम सम्पन्न हुनेछ । अहिले १० हजार दर्शकलाई अटाउन सक्ने प्यारापिट बनेको छ,’ मन्त्री घिसिङले भने, ‘यो हाम्रो एकदमै महत्वपूर्ण रंगशाला हो । त्यसैले अब दोस्रो फेजको काम एकैपटक गर्नुपर्छ भनेर हामीले भनेका छौँ ।’ उनका अनुसार सबै काम सक्दा त्रिवि क्रिकेट मैदानमा ३० हजार दर्शक अट्ने रंगशाला बन्नेछ । अन्तर्राष्ट्रियस्तरमा क्रिकेटमा ख्याति कमाएको खेलका लागि क्रिकेट मैदान बनाउन उच्च प्राथमिकतामा राखेर अगाडि बढाउनुपर्ने उनले बताए । ‘निर्माणकार्यलाई अगाडि बढाउन बजेटका लागि अर्थ मन्त्रालयले पनि सहयोग गर्छ । अब दोस्रो चरणको पनि हामी चाँडै नै टेन्डर प्रक्रियामा जान्छौँ,’ मन्त्री घिसिङले भने ।

गत वर्षको फागुनदेखि मैदानमा प्यारापिटमा कुर्सी जडान र फ्लडलाइट निर्माणकार्य सुरु भएको थियो । २४ वैशाखभित्र निर्माणकार्य सक्ने योजना भए पनि निर्धारित समयमा पूरा हुन सकेन । अहिले समय थप गरेर निर्माण कार्यलाई तीव्रता दिइएको छ । मैदानमा चोभार एन्डतर्फ प्यारापिट निर्माणको काम सकिएको छ । चोभार एन्डतर्फको क्यामरा बक्सको दायाँ र बायाँ भागमा निर्माण भएको प्यारापिटमा अहिले सिट हाल्ने काम पनि सकिएको छ । 

खेलाडीका नाममा हुलाक टिकट प्रकाशन
हुलाक सेवा विभागले बिहीबार नेपाली क्रिकेट खेलाडीको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ । नेपाली क्रिकेट खेलाडीको तस्बिर अंकित हुलाक टिकटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरेका हुन् । विश्व हुलाक दिवस २०२५ का अवसरमा आइसिसी पुरुष विश्वकप र आइसिसी महिला यू–१९ विश्वकप प्रतियोगितामा सहभागी खेलाडीको तस्बिर अंकित हुलाक टिकटमा टाँचा लगाउनुका साथै प्रदर्शनी गरिएको छ । खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलेका क्रिकेट खेलाडीको सम्मानका लागि हुलाक टिकट प्रकाशन गरिएको हुलाक सेवा विभागले जनाएको छ । विभागले ०८१ चैत १७ को निर्णयअनुसार १० रुपैयाँ दरको पाँच लाख प्रति हुलाक टिकट प्रकाशन गरेको हो । नेपालले सन् २०२४ को १ देखि २९ जुनसम्म अमेरिका र वेस्ट इन्डिजमा भएको नवौँ टी–२० विश्वकप खेलेको थियो । यू– १९ विश्वकप क्रिकेटमा महिला खेलाडीले प्रतिस्पर्धा गरेको थियो । 

सुझावित समाचार