एसियन कप छनोट : नेपाल लगातार तेस्रो खेलमा पराजित

शुक्रबार, २४ असोज, २०८२
डिजिटल संस्करण
  • ७५ प्रतिशत बल पोसेसन बनाएको भियतनामले १० खेलाडीमा प्रतिस्पर्धा गरेको नेपाललाई ३–१ ले हरायो

नेपाली राष्ट्रिय फुटबल पुरुष टोली २०२७ एएफसी एसियन कप छनोटको तेस्रो चरणमा लगातार तेस्रो खेलमा पराजित भएको छ । छनोटअन्तर्गत समूह ‘एफ’मा नेपाललाई बिहीबार घरेलु टोली भियतनामले ३–१ ले हराएको हो । हारसँग नेपाल एसियन कप छनोटबाट बाहिरिएको छ । छनोटमा नेपाल अंकविहीन छ । यसअघि नेपाल समूहको पहिलो खेलमा मलेसियासँग २–० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल पहिलोपटक लाओससँग २–१ ले स्तब्ध भयो । भियतनामविरुद्ध १४ अक्टोबरमा नेपालले घरेलु मैदानका रूपमा प्रतिस्पर्धा गर्नेछ । 

प्रतिस्पर्धामा भियतनामले ७५ प्रतिशत बल पोसेसन आफ्नो पकडमा राखेको थियो । भियतनामले नेपालको पोस्टमा २४ वटा सट प्रहार गर्दा १० वटा अनटार्गेटमा रहेका थिए । नेपालले केवल दुईपटक सट अवसर मात्र सिर्जना गर्न सक्यो । नेपालाई हराउँदै दोस्रो जित निकालेको भियतनामले आफ्नो समूहमा तीन खेलबाट ६ अंकसहित दोस्रो स्थान रक्षा गरेको छ । मलेसिया लगातार तेस्रो खेल जित्दै नौ अंक जोडेर शीर्षमा छ । मलेसियाले लाओसलाई ३–० ले हराएको छ । लाओसको तीन खेलमा ३ अंक छ । पहिलो हाफको अन्त्यतिर नेपाल १० खेलाडीमा सीमित भएको थियो । डी–बक्समा नेपालका स्ट्राइकर लाकेन लिम्बूले भियतनामका खेलाडीलाई सीधै फल गरे । रेफ्रीले उनलाई सीधै रातो कार्ड देखाए । त्यसपछि बाँकी समयमा नेपालले भियतनामविरुद्ध १० खेलाडीमा प्रतिस्पर्धा गरेको थियो ।  

दोस्रो हाफमा नेपाल कमजोर
दोस्रो हाफको तुलनामा पहिलोमा नेपालले राम्रो खेल खेलेको थियो । खेलको नवौँ मिनेटमा थिन लिनले भियतनामलाई १–० को अग्रता दिलाए । तर, भियतनामको अग्रता लामो समयसम्म रहेन । खेलको १७औँ मिनेटमा सनिश श्रेष्ठले हेडिङ गोल गर्दै भियतनामलाई १–१ को बराबरीमा रोक्यो । २३ वर्षपछि भियतनामविरुद्ध प्रतिस्पर्धा गरेको नेपालले मध्यान्तरअघि बराबरीकै टक्कर दिएको थियो । फिनिसिङ र मिडफिल्डमा बलियो पकड बनाउन नसक्दा नेपाल दोस्रो हाफमा चुक्यो ।

खेलको ६७औँ मिनेटमा छन मानले भियतनामलाई २–१ को अग्रता दिलाए । खेलको ७२औँ मिनेटमा भान भीले भियतनामलाई ३–१ को स्थितिमा राखे । यसअघि नेपाल र भियतनामबिच सन् २००३ मा दुईपटक प्रतिस्पर्धा भएको थियो । दक्षिण कोरियामा सन् २००३ को सेप्टेम्बरमा एसियन कप छनोटको समूह ‘ई’अन्तर्गतको दुवै खेलमा नेपाल भियतनामसँग पराजित भएको थियो । इन्चेनमा भएको पहिलो खेलमा २–० गोलले पराजित भएको नेपालले दोस्रो खेलमा भियतनामसँग ५ गोल व्यहोरेको थियो ।

१० खेलाडीमा रहँदा गाह्रो भयो : म्याट रोस, प्रशिक्षक, नेपाल
भियतनामजस्तो बलियो टोलीविरुद्ध हामीले उत्कृष्ट पुनरागमन गरेका थियौँ । तर, पहिलो हाफअगाडि नै हामी १० खेलाडीमा सीमित भयौँ । यस कारण खेलमा पछि परेको जस्तो लाग्छ । भियतनामले सुरुवातमै अग्रता लियो । नेपालले त्यसको प्रत्युत्तर पनि छिट्टै दियो । दोस्रो हाफको १५ मिनेटसम्म विपक्षीलाई हामीले रोकेका थियौँ । तर, त्यसपछि भियतनामले खेलमा पकड बनायो । प्रतिस्पर्धामा नेपालले केही मौका गुमाएको थियो । डिफेन्स रणनीति राम्रो नै थियो । मुख्यत: राम्रो टोलीविरुद्ध प्रतिस्पर्धा गर्दा केही कमजोरी हुने गर्छ । अब दोस्रो खेलअगाडि हामीलाई समय छ । 

सुझावित समाचार