लहानमा सुरक्षाकर्मीको निःशुल्क आँखा जाँच, औषधि र चस्मा वितरण

बिहिबार, २३ असोज, २०८२
डिजिटल संस्करण

विश्व दृष्टि दिवसको अवसरमा लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले बिहीबार जिल्लाका विभिन्न युनिटमा कार्यरत सुरक्षाकर्मीहरूको निःशुल्क आँखा जाँचसहित औषधि र चस्मा वितरण गरेको छ।

लहान– ३ स्थित अस्पतालमा सिराहाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र ट्राफिक प्रहरीका करिब १५० जनाको आँखा जाँच गरी औषधि र चस्मा वितरण गरिएको अस्पतालका प्रबन्धक अभिषेक रोशनले जानकारी दिए।

‘दिनरात नागरिकको सुरक्षामा खटिने सुरक्षाकर्मीहरूका लागि अस्पतालले पहिलोपटक निःशुल्क आँखा जाँच गरेको हो,’ उनले भने, ‘आँखा परीक्षणपछि आवश्यकताअनुसार औषधि र चस्मा वितरण गरिएको छ।’

‘प्रहरी मेरो साथी, शान्ति, सुरक्षा र न्यायको आधार’ भन्ने नारासहित आयोजित निःशुल्क आँखा जाँच कार्यक्रमअन्तर्गत अस्पतालको महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर र बर्दीबासस्थित आँखा उपचार केन्द्रमा समेत सुरक्षाकर्मीको आँखा जाँच, औषधि र चस्मा वितरण गरिएको उनले बताए। 

प्रजिअ अधिकारीसहित सशस्त्र प्रहरी बल नेपाल सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारी, राष्ट्रिय अनुसन्धान विभाग सिराहाका प्रमुख सुरेन्द्र कोइरालालगायत अन्य सुरक्षाकर्मीहरूले आँखा जाँच गराएका थिए।

सुझावित समाचार